×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यो हो तरकारी बेचेर वार्षिक पन्ध्र लाख कमाउने कृषि समूह

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

यो हो तरकारी बेचेर वार्षिक पन्ध्र लाख कमाउने कृषि समूह

Artha Sarokar

२६ असार २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बागलुङ । बाग्लुङको एक कृषि समूहले वार्षिक रु १५ लाख बराबरको तरकारी उत्पादन गर्दै आएको छ । 
गलकोट नगरपालिका–११ रिघाको मिलिजुली कृषि समूहले तरकारी खेतीमा व्यावसायिक सफलता पाएको हो । एकै याममा रु पाँच/छ लाखको तरकारी बेच्ने गरेको समूहका अगुवा किसान जितबहादुर रानामगरले बताए । अठार रोपनी क्षेत्रफलमा गरिएको तरकारी खेतीले बाह्रैमास उत्पादन दिने गरेको उनको भनाइ छ । किसानले भाडा, तलब र अन्य व्यवस्थापन खर्च कटाएर आम्दानीको आधा रकम नाफा लिने गरेका छन् । 
समूहमा चारजना किसान आबद्ध रहे पनि मुख्य जिम्मेबारी रानामगरको काँधमा छ । “हामी चार जनाको लगानी छ, काममा भने म मात्र खटिएको छु”, रानामगरले भने, “कृषि कर्मले सन्तुष्टि दिएको छ, हामी सफल छौँ ।” समूहले रिघाको फेदीमा र नजिकै पर्ने बढीगाड गाउँपालिका–२ खरबाङ्मा गरी दुई स्थानमा जग्गा भाडा लिएर तरकारी खेती गरिरहेको छ । वार्षिक रु ४५ हजारमा जग्गा भाडामा लिएर सूमहले छ वर्षअघि देखि व्यावसायिक तरकारी खेती सुरु गरेको हो । 
“शुरुमा रु नौ लाख लगानी ग¥र्यौं, अहिले लगानी बढेर रु २५ लाख पुगेको छ”, रानामगरले भने । बाह्रवटा प्लास्टिक घर (टनेल)मा मौसमी÷बेमौसमी सबैखाले तरकारी उत्पादन हुने गरेकोे छ । समूहले कृषि विकास मन्त्रालयको व्यावसायिक कृषि तथा व्यापार आयोजनाबाट रु १० लाख अनुदानसमेत पाएको छ । उक्त अनुदान रकमबाट तरकारी खेती विस्तार गर्दै जाने योजनामा समूह लागिपरेको छ । 
यही वर्ष थप उच्चस्तरीय प्रविधिको प्लास्टिक घर (टनेल) थपेको समूहका अर्का किसान शेरबहादुर श्रीशले बताए । व्यावसायिक कृषि तथा व्यापार आयोजनाको अनुदानबाहेक अन्य निकायबाट कुनै पनि सहयोग नपाएको उनको भनाइ छ । 
समूहले मुख्यगरी गोलभेँडा, काउली, बन्दा, सिमी, बोडीलगायत मौसमअनुसार तरकारी उत्पादन गर्दै आएको छ । प्लास्टिक घर (टनेल)मा मलेसियाली सिमीसमेत उत्पादन भइरहेको किसानको भनाइ छ । त्यहाँ उत्पादन हुने तरकारी खरबाङ्, हटिया, गुल्मीको टक्सार लगायतका बजार क्षेत्रमा बिक्री हुने गरेको छ । तरकारी उत्पादन गर्न सके बजारको कुनै समस्या नरहेको किसान बताउँछन् । मिलीजुली कृषि समूह जिल्लामै नमुनाका रुपमा रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी