
भारतमा तीव्र गतिमा नाफा आर्जन गरिरहेको पतंजलि आयुर्वेद लिमिटेडको नेपालमा स्थापित उद्योगका प्रमुख लगानीकर्ताले जडीबुटीको खेतीबाट झण्डै एक लाख परिवारलाई रोजगारी दिने उद्देश्य राखेको बताएका छन्।
पतंजलिको प्रविधि र आफ्नो झण्डै डेढ अर्ब लगानीमा स्थापित उक्त उद्योगको सबै नाफा सामाजिक काममा लगाउने व्यवासायी उपेन्द्र महतोले बीबीसीलाई बताए।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा पतंजलिका संस्थापक बाबा रामदेवले नेपालमा आयुर्वेद र वैदिक शिक्षा विस्तार गर्ने पनि बताएका थिए।
साथै आफूले नेपालबाट नाफा कमाउने उद्देश्य नलिएको भन्दै उनले पंतजलिका नेपालमा गरिने उत्पादनबाट हुने नाफा यहाँ नै खर्च गरिने घोषणा गरेका थिए।
पंतजलि
दुई साताअघि राजकीय भ्रमणमा भारत जाँदा प्रधानमन्त्री प्रचण्डलाई हरिद्वारस्थित पतंजलि योगपीठमा स्वागत गर्दै बाबा रामदेवले खाद्यान्न र जडीबुटी प्रशोधन गर्ने आफ्नो मुख्य कारखाना डुलाए।
त्यसपछि आयोजित विशेष समारोहमा रामदेवले हरिद्वारमा रहेको जस्तै ठूलो स्तरको फुड एण्ड हर्बल पार्क नेपालमा सञ्चालन गरेर आफ्नो कारोबारलाई पतंजलिले भारतबाहिर विस्तार गर्ने अभियान अघि बढाउने घोषणा गरे।
उनले भने, “पतंजलि आयुर्वेदको देशभन्दा बाहिर र सबैभन्दा ठूलो कारखाना सबैभन्दा पहिला नेपालमा खुल्दैछ। हामी अर्को महिना अर्थात आगामी नेभोम्बरमा त्यसको शुरुवात गर्दैछौँ। त्यसपछि यो श्रृंखला थप अघि बढ्छ।”
हालै फोर्ब्सले आचार्य बालकृष्ण भारतका ४८ औँ धनी व्यक्ति भएको जनाएको थियो ।
सन् २००६ मा स्थापित पतंजलि आयुर्वेद लिमिटेडलाई भारतमा सबैभन्दा द्रुत गतिमा नाफा कमाइरहेको कम्पनीका रुपमा लिइन्छ।
गएको जुलाईमा भारतीय अखबार इण्डिया टुडेले एउटा विस्तृत आलेख छाप्दै पतंजलिले अत्यधिक चलनचल्तीका उपभोग्य वस्तु उत्पादनको साम्राज्य खडा गरेको उल्लेख गरेको थियो।
बाबा रामदेवका निकट सहयोगी एवं पतंजलि आयुर्वेदका प्रबन्ध निर्देशक नेपाली मूलका भारतीय नागरिक आचार्य बालकृष्णलाई हालै प्रतिष्ठित पत्रिका फोर्ब्सले भारतका ४८ औँ धनी व्यक्तिमा सूचीकृत गरेको छ।
फोर्ब्सले उनीसँग करिब साढे दुई खर्ब रुपैयाँ बराबर सम्पत्ति रहेको जनाएको छ।
हुन पनि हो जडीबुटी मिश्रित भनिएको दन्तमन्जनदेखि श्रृंगारका सामाग्री र चाउचाउदेखि जाम अनि साबुनदेखि जुससम्म उत्पादन गरिरहेको पतंजलिका झण्डै साढे तीन सय किसिमका उत्पादन छन्।
हालै उसले स्वदेशी जिन्स कपडा समेत उत्पादन गर्ने घोषणा गरेको छ।
पतंजलिले करिव ३५० थरीका सौन्दर्य, आयुर्वेद र दैनिक उपभोग्य सामाग्री उत्पादन गरिरहेको छ
सस्तो मूल्यका पतंजलिका उत्पादनको बढ्दो लोकप्रियताले दैनिक उपभोग्य सामाग्री उत्पादन गरिरहेका बहुराष्ट्रिय कम्पनीहरुलाई अहिले भारतीय बजारमा आच्छु आच्छु परेको देखिन्छ।
कारखाना
भूकम्प र त्यसपछि भएका नाका अवरोधका कारण केही समयपछि धकेलिएको पतंजलि अन्तर्गत नेपालको बारामा स्थापित कारखानाबाट झण्डै ५० प्रकृतिका खाद्यान्न तथा श्रृंगारका सामान ६ महिनायता उत्पादन भइरहेको छ।
झण्डै डेढ अर्ब रुपैयाँको लगानीसहित साढे ५ बिघा जमिनमा फैलिएको उक्त उद्योगको नोभेम्बरमा उदघाटन गर्न बाबा रामदेव नेपाल आउने बताइएको छ।
त्यसबाहेक उक्त उद्योगले १८ बिघा जग्गा भाडामा लिएर घ्यूकुमारीको खेती पनि गरिरहेको छ।
नेपाल ग्राम उद्योग नामक उक्त उद्योगका प्रमुख लगानीकर्ता व्यवसायी उपेन्द्र महतोले कृषिमा आधारित उद्यमलाई प्रवर्द्धन गरी देशभित्र रोजगारीको अवसर बढाउने उद्देश्य आफूहरुले लिएको बीबीसीलाई बताए।
उनले भने, “नेपालमा स्वरोजगारको सबैभन्दा राम्रो बाटो कृषि हो। जडीबुटी र विभिन्न नगदेबालीको वैज्ञानिक तरिकाले उत्पादन गरिँदैन र बजार सुनिश्चित गर्न सकिँदैन तबसम्म कृषिले फड्को मार्न सक्दैन्। त्यो कसरी गराउन सकिन्छ भनेर पतंजलिको सहकार्यमा कमसेकम १ लाख परिवारलाई जडीबुटीसँग जोड्ने प्रयास अघि बढाएकाछौँ।”
भारतबाहिर पतजंलिले आफ्नो पहिलो कारखाना नेपालमा खोल्न लागेको रामदेवले घोषणा गरेका छन्
प्रधानमन्त्री प्रचण्डको हरिद्वारको भ्रमणका क्रममा बाबा रामदेवले पतंजलिले नेपालमा उद्योग बाहेक आयुर्वेद कलेज र विश्वविद्यालय पनि बनाउने बताए।
नाफा
साथै उनले अरु बहुराष्ट्रिय कम्पनी जस्तो नाफामुखी रुपमा आफू अघि नबढ्ने उल्लेख गरे।
योगगुरु रामदेवले भने, “हाम्रो सिद्धान्त गरीब देशहरुबाट पैसा कमाएर आफ्नो देशमा ल्याउने भन्ने होइन। त्यहीँ भएर नेपालमा स्थापना गरेको उद्योगबाट जति पनि नाफा हुन्छ त्यो शत प्रतिशत हामी नेपालीहरुको सेवामा प्रयोग गर्छौँ। एक रुपैयाँ पनि हामी भारतमा ल्याउँदैनौँ। बरु यहीँबाट हामी केही रकम त्यहाँको सेवाका लागि खर्च गर्छौँ।”
भारतीय व्यवसायीहरुलाई सम्बोधन गर्दा परराष्ट्रमन्त्री प्रकाशशरण महतले पतंजलिले जस्तै गरी नेपालमा लगानी गर्न आह्वान गरेका थिए ।
पतंजलि योगपीठको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बाबा रामदेवलाई योग र उद्योग जोड्न सफल एकजना कम्युनिष्टका रुपमा चित्रण गरेका थिए।
राजकीय भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले पतंजलि योगपीठको भ्रमण गरेका थिए
साथै प्रधानमन्त्रीले जडीबुटीको उपयोग गरी नेपाललाई समृद्धितर्फ डोर्याउन सकिने र त्यसतर्फ चालिने जुनसुकै कदममा आफ्नो समर्थन हुने बताए।
उनले भने, “यहाँ मलाई देखाइयो, एकदमै ठूलो परिमाणमा नेपालबाट जडीबुटी आउँदो रहेछ। यदि नेपालमा नै यस्तो फ्याक्ट्री भयो भने त्यसले नेपाली जनताको समृद्धिमा मद्दत गर्थ्यो। स्वामीजीले भन्नुभएको छ नेपालमा फ्याक्ट्री लगाउनुहोस् सामान त्यहाँबाटै हामी झिकाउँछौँ। मेरो तर्फबाट पूरा कोशिस हुने म विश्वास दिलाउन चाहन्छु ।”
पतंजलि योगपीठ नजिकैका एउटा एउटा जडीबुटी उद्यानमा तुलसी लगायत विभिन्न बोटबिरुवाहरु रोपिएका छन् ।
आयुर्वेद चिकित्साले निक्कै महत्व दिएका यस्ता बोटबिरुवाहरुको अपार स्रोत नेपालमा रहेको बताइएपनि त्यसको व्यावसायिक प्रयोगलाई खासै चासो दिइएको पाइँदैन।
तर फ्याक्ट्री नै खोलेर नेपालमा यसको विस्तार गर्ने पंतजलिको योजना साकार भए नेपालमा जडीबुटीको व्यावसायिक विकास हुनसक्ने देखिन्छ।
- बीबीसी नेपाली सेवाको अनलाइनबाट साभार
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्