×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

जापान : समयको महत्व


  • भुवन रोका

एकजना साथीले आफुले काम गर्दै गरेको कम्पनीको हाकिमले सार्है नराम्रो गरी हप्काएको कुरा सुनाए । मैले पनि साथीको पीडा थोरै भएपनि बाड्न सकिन्छ कि भनेर चाख दिएर सुनिरहे । साथीले प्रसंग अगाडी बढाउदै थप्यो ‘सधै मेरो कामको प्रसंसा गरिरहन्थ्यो तर आज अचानक नमज्जासग गाली गर्यो ।’
मैले सोधे  ‘धेरै ठुलो काम बिगारेको थियौ होला ?’ 
उसले भन्यो  ‘काम त केही बिगारेको हैन्, ५ मिनेट जति ढीलो भएको थिएँ ।’ 
मैले फेरी सोधे ‘किन ढीला भएको, आफ्नै कारणले हो की ट्रेन ढीला भएर हो ?’ 
‘होईन, कुद्दा कुद्दै  ढीला भयो’ साथीको  उत्तर थियो । 
म अक्क न बक्क हुँदै अब सधै समयमानै पुग्ने कोशिस गर्नु, त्यसपछि फेरी प्रसंसा गर्छन भनेँ किनकी बिशेष कारणले ट्रेन ढीला भएको अबस्थामा स्टेसनबाट बाढीने कागज लिएर गएमा सामान्य रुपमा लिने जापानीज कम्पनीहरु अन्य ब्यक्तिगत कारणले ढिलो भएमा राम्रो मान्दैनन् । 
जापान बिकसित देशहरु मध्यको एक हो । प्रविधिको बिकासमा पनि धेरै अगाडी रहेको जापान बिकास हुनुमा धेरै पक्षहरुको महत्वपूर्ण भुमिका रहेको छ । बिशेषत: जापानीजहरुको निरन्तर मेहनत गर्ने क्षमतानै प्रमुख कारण हो । समयको गतिसंगै हिड्न साहस गर्ने जापानीजहरुको अर्को महत्वपूर्ण पक्ष हो । सहि काम, सहि ब्यक्तिले, सहि तरीकाले समयको परिधीमा रहेर गर्ने हो भने असम्भव केही छैन भन्ने कुरा जापानको बिकासबाट विश्वले सिक्न सक्छ । जापानमा काम गर्ने जापानीज वा बिदेशी जो भए पनि आफ्नो काम समयमा गर्नुपर्छ भन्ने कुरालाई सधै प्राथमिकता राखिएको हुन्छ । जापानमा हरेक कुराहरु समयकोगति सँगै हुन्छन्:
१. जापानीजहरु:
जापानीजहरु अतिनै मेहनती, ईमान्दार, सहयोगी र नम्र हुन्छन् । समयलाई अति नै महत्व दिने जापानीजहरु काही कतै ढिलो हुदैनन् । बिशेष कारण यातायातका साधनहरु ढिलो हुदा तोकियको समय भन्दा एक मिनेट ढीलो भए पनि सार्है नम्र तरीकाले क्षमा माग्छन् । कार्यालय समयमानै पुग्छन् । जस्तोसुकै महत्वपूर्ण वा सामान्य भेटघाट तय भएको भएपनि अति नै महत्व दिएर समयमा नै पुग्छन् । कुनै सेमीनार, गोष्ठी वा अन्य केही कार्यक्रम गर्नु पुर्व तालीका सार्बजानिक गरिएको हुन्छ, त्यो तालिका अनुसार नै ठिक समयमा कार्यक्रम सुरु हुन्छ र तोकिएको समयमा नै समापन गरिन्छ । प्रमुख अतिथिदेखी सम्पुर्ण ब्यक्तिहरु ठिक समयमा नै उपस्थित हुन्छन् । समयमा नै सबै काम गर्ने  मेहनती ब्यबहारले होला समय भन्दा ढीलो भएको काम र ढिलो गर्ने ब्यक्तिलाई नराम्रो मान्छन् जापानीजहरु ।
२. रेल सेवा र बस
जापानमा प्रबिधिको बिकासको उत्कृष्ट उदारणमध्ये एक रेल सेवा पनि हो । जापानको मागलेभ बुलेट ट्रेन संसारको सबैभन्दा छिटो कुद्ने ट्रेन हो । सामान्य ९०० भन्दा माथि यात्रु बोक्ने यो ट्रेन एक घण्टामा ६०३ किलोमीटर दौडीन सक्छ । बिभिन्न बिशेषता बोकेका छन् जापानका ट्रेनहरुले । त्यस मध्ये तोकिएको समयमा पुगेर यात्रुहरुलाई सहज गर्नु महत्वपूर्ण पक्ष हो । 
सेन्ट्रल जापान रेलवे कम्पनी २०१६ को रिपोर्ट अनुसार २०१५ मा जापानका हरेक ट्रेनहरु प्राकृतिक प्रकोप र बिभिन्न कारणले ०.२ मिनेट मात्र ढिलो भएको तथ्य छ । हरेक स्टेसनहरुमा ट्रेनको समय तालीका राखिएको हुन्छ । त्यस तालीका अनुसार नै गुडीरहेका हुन्छन् । ठिक समयमा स्टेसन पुग्ने र ठिक समयमा हिड्ने भएकोले हतारमा कुद्दै गरेको यात्रु देखिय पनि समय भएपछि ढोका बन्द हुन्छ । त्यस्तै बसहरुले पनि समय तालीका अनुसार यात्रुहरुलाई सुबिधा दिईरहेका छन् । 
सबै सार्बजानिक र निजी सवारी साधनहरु आ-आफ्नो नियममा चलेको कारणले सवारी साधनकरुको चाप हुने ठाउहरुमा पनि ट्राफिक जाम कतै देखिदैन । प्राकृतिक प्रकोप जस्ता बिशेष कारणहरु बाहेक प्राय जापानका ट्रेन र बसहरु ढिलो हुदैनन् । कारणबस एक मिनेट ट्रेन ढीलो भयो भने पनि ट्रेन कम्पनिले यात्रु सामु क्षमा माग्दै ढिलो हुनुको चिट बाडिरहेका हुन्छन् ।
३. कार्यालयहरु:
यो सब नियालीरहदा त जादु जस्तो लाग्छ जापान किनकी यहाँ ९ बजे देखि खोलिने कार्यालयहरु आन्तरिक सम्पुर्ण तयारी पुरा गरी ठिक समयमा नै खोलिन्छन् । आफै जिम्मेवार भएर कार्यालय समयमा पुग्ने जापानीजहरु त्यसमा पनि अधिकांस कार्यालयमा कर्मचारीको टाईम कार्ड प्रयोग गरिएको हुन्छ जसले समयमा नै पुग्न अझै जिम्मेवार बनाएको हुन्छ । कार्यालय सुचारू हुने बित्तिकै सेवाग्राहीहरुले सेवा लिन पाउछन् । जापानीज र बिदेशिहरुको घुईचो लागेको हुन्छ हरेक कार्यालयमा । जति धेरै ग्राहाकहरु र सेवाग्राहीहरुको घुईचो भए पनि समयमानै काम गर्दिनु नै हरेक कार्यालयहरुको प्रमुख बिशेषता हो । चिट्ठी देखी आफुले पार्सलबाट मगाएका सामानहरु समयमा नै आईपुग्छन् । तोकिएको र गरिनु पर्ने कामहरु समयमा नै सकेर निर्धारित समयमा बन्द गरिन्छन् सम्पुर्ण कार्यालयहरु । 
यदि समयको गति संगै हामीले कामहरु गर्न खोज्यौ भने असम्भव देखिने कामहरुपनि सजिलो हुन्छ भन्ने कुरा जापानीजहरुबाट सिक्न सकिन्छ । समयको महत्वलाई सहि तरिकाले सदुपयोग गर्न जानेरनै जापान बिकासको शिखर चुम्न सफल भएको छ । समयलाई यति धेरै महत्व दिएर काम गरिरहेका छन् जापानीजहरु । एकातिर समयमा कुद्ने ट्रेन र समयमा नै कार्यालय पुग्न दौडिरहेको यात्रु हुनसक्ने खतराको प्रवाह नगरी बन्द हुँदै गरेको ट्रेनको ढोका खोल्ने प्रयास गरिरहेको हेर्दा अनि समयमानै काम सक्नु पर्ने भएकोले अतिनै मेहनतका साथ लगातार घण्टौ काम गरिरहेको देख्दा सोच्न बाध्य बनाउछ : समय ठुलो कि जीवन ? 
जापानमा बसेर प्रत्यक्ष नियालीरहेका नेपालीहरु, घुम्न आउनेहरु वा नेपालमा बसेर पनि जापानको बिषयमा बुझेका ब्यक्तिहरु सबै जापानीजहरुले समयको सदुपयोग गरेको कुराबाट प्रभावित भएका छन् । अन्य देशका नागरीकहरु पनि जापानिजहरुको मेहनत, व्यवहार ठिक समयमा काम गर्ने पद्दतीको सधै खुलेर प्रसंसा गर्दछन् । जापानबाट सिक्नुपर्ने धेरै कुराहरु छन् । मेहनत गर्ने बानी, ईमान्दारीता अनि नम्रता आदी जापानीजहरुबाट सिक्नै पर्ने गुणहरु हुन् । यी गुणहरु बाहेकपनि समयको सदुपयोगनै प्रमुख हो । नेपालमा समग्र क्षेत्रहरुको बिकासको निम्ती समयको महत्वलाई गहन रुपमा लिएर सबैले आ-आफ्नो जिम्मेवारी ठिक समयमा गर्ने हो भने बिकासको आधार दर्हो बन्ने थियो भन्ने कुरामा दुई मत नहोला ।
लेखक जापानमा अंग्रेजी शिक्षक तथा अन्तराष्ट्रिय नेपाली समाज (INS) जापानका प्रबक्ता हुन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: