Skip to content
LAXMI SUNRISE BANK

कुमारी बैंकको ‘अटेरी’पनाले सीमा नाघ्यो : राष्ट्र बैंकको निर्देशन ‘रद्दीको टोकरी’मा !

अर्थ सरोकार

 
  • सुरज प्याकुरेल / अर्थ सरोकार डटकम 
काठमाडौँ – नेपाल राष्ट्र बैंकले दिएको निर्देशन कुमारी बैंक लिमिटेडले ‘अटेरी’ गर्ने क्रम नरोकिएपनि नेपाल राष्ट्र बैंकले अझै पनि कुमारी बैंकलाई कुनैपनि खालको कार्वाही गर्न सकेको छैन । यतिसम्मकि २०७२ साल फाल्गुन २९ गते नेपाल राष्ट्र बैंकले दिएको निर्देशन दिएको एक बर्ष पुग्दापनि कुमारी बैंक हातमा ‘दहि’ जमाएर बसेको छ । उसले नेपाल राष्ट्र बैंकको यो निर्देशनलाई अटेरी त गरेको छ नै, नेपालको विद्यमान कानुनको समेत खिल्ली उडाएको छ ।
यस्तो थियो नेपाल राष्ट्र बैंकले दिएको निर्देशन : 
२०७२ साल फाल्गुन २९ गते नेपाल राष्ट्र बैंकले प्रमुख कार्यकारी पद रिक्त रहेको तीन महिनाभित्र पूर्ति गर्नुपर्ने निर्देशन दिएको थियो । सोहि निर्देशन अनुसार केहि बैंकहरुले नेपाल राष्ट्र बैंकले दिएको निर्देशन अनुसार रिक्त रहेका सीइओको पदमा पदपूर्ति गरेका थिए । तर राष्ट्र बैंकको यो निर्देशनलाई कुमारी बैंकले भने अटेरी गरिरहेको छ । हाल कुमारी बैंकमा कामु प्रमुख कार्यकारीका रुपमा राजिब गिरिले बैंकको व्यवस्थापन सम्हालीरहेका छन् । यस विषयमा नेपाल राष्ट्र बैंकले केहि अनौपचारिक फलोअप समेत गरेको थियो । तर संचालक समितिमा यो कुराले खासै स्थान नपाएपछि नयाँ सीइओ राख्नेबारे कुरा नमिलेको स्रतोको भनाइ छ । 

सञ्चालकको लापरवाहीले बैंक नै संकटमा !
यता नेपाल राष्ट्र बैंकको नियम नमान्नुका पछाडी सञ्चालकहरुको रबैयापनि भएको कुमारी बैंक स्रोतको भनाइ छ । एकातर्फ कालोबजारी मुद्धामा अदालतले दोषी ठहराएका नरेश दुगड भूमिगत छन् भने अरु संचालक प्राय संचालक समितिको बैठकमै आउंदैनन् । ‘बैंकका संचालकहरुलाई बैंकको भविष्यबारे चिन्तानै छैनजस्तो लाग्छ।’ आफ्नो नाम उल्लेख नगर्ने सर्तमा बैंकका उपल्लो तहका एक कर्मचारीले भने, ‘एक जना संचालक (नरेश दुगड)  भूमिगत छन् । अर्का सञ्चालक पुनराम भण्डारी अष्ट्रेलियाका ग्रीन कार्ड होल्डर भएकाले उनलाई बैंकबारे कुनैपनि खालाको चिन्ता छैन । संचालक समितिको बैठकमा समेत उनको उपस्थिति निकै न्यून छ ।’

अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनी अगाडी भन्छन्, ‘अरु संचालकको हालतपनि उस्तै छ । अध्यक्ष सन्तोष कुमार लामा आफ्नो कार्गो व्यवसायमै व्यस्त छन् । अर्का सञ्चालक एवम् भाटभटेनीका पार्टनर समेत रहेका सोभाकान्त ढकाललाई बैंककोभन्दा भाटभटेनीको चिन्ता बढी छ । संचालक विनोद दवाडी आफुले भनेको कुरा भए ठिकै छ नभए बैंकमा जेपनि हुनसक्ने धम्की दिन्छन् । अनि कहाँबाट होस् बैंकको प्रगति ?’ उनका अनुसार नेपाल राष्ट्र बैंकबाट आउने सर्कुलर र अन्य निर्देशनका बारेमा कम र राजनीतिक कुरा बढी हुने भएकाले बैंक अहिले अफ्ट्यारो स्थितिमा पुगेको हो ।

चेपुवामा कामु सीइओ !
अर्थ सरोकार डटकमलाई बैंककै उच्च स्रोतले दिएको जानकारी अनुसार अहिले नेपाल राष्ट्र बैंकको निर्देशन र सञ्चालक समितिका सदश्यहरुको चेपुवामा अहिलेका कामु सीइओ परेका छन् । बैंकका कामु प्रमुख कार्यकारी अधिकृतले एकातर्फ राष्ट्र बैंकको कतिपय सर्कुलर मान्न सकिरहेको अवस्था छैन भने सञ्चालकको हालीमुहालीले थप समस्या दिएको छ । विशेषगरी उनी बैंकका सञ्चालक डा.शोभाकान्त ढकालको ‘मनपरी’का कारण तनावमा छन् । स्रोतका अनुसार उनी बैंकको सीइओ हुन पाउने लोभका कारणपनि कुमारीमै बसेका छन्। ‘सीइओ हुन पाइने आशामा एकातर्फ कामु सीइओ बैंकमा छन् भने अर्कोतर्फ अर्को ठाउँमा राम्रो ‘अफर’ नआएकालेपनि उनी बैंकमा छन् ।’ स्रोतले भन्यो । स्रोतका अनुसार उनले केहि अरु बैंकहरुसँग पनि पदका लागि बार्गेनिङ गरेका थिए । तर कुमारिकै स्थिति ठिक नभएको थाहा पाएपछि ती बैंकहरुले उनलाई ‘रिजेक्ट’ गरेका थिए ।’ स्रोतले भन्यो ।


राष्ट्र बैंकको नियतमाथि नै आशंका !
प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति मात्र होइन, अरु केहि नेपाल राष्ट्र बैंकका सर्कुलरपनि बैंकले मानेको छैन । यतिसम्मकि कतिपय नेपाल राष्ट्र बैंकका निर्देशनहरु त बैंकको सञ्चालक समितिको बैठकमा प्रवेशनै गर्दैंनन्। यसरी खुलेआम नेपाल राष्ट्र बैंकको निर्देशन नमान्दापनि बैंकलाई कुनैपनि कारवाही नगरिएको देखिनाले नेपाल राष्ट्र बैंकको नियतमै समेत शंका देखिएको सरोकारवालाहरुको गुनासो छ ।

‘नेपाल राष्ट्र बैंकले केनै गर्न सक्छ र भन्ने शैलीमा बैंकका संचालकहरु एकोहोरो रुपमा लागिरहेका छन् । नेपाल राष्ट्र बैंकसँग ‘सबै कुरा मिलिसकेको’ भन्दै बैंककै सञ्चालकले खुलेआम भन्दै हिड्नुको पछाडी राष्ट्र बैंकको नियतमाथि प्रश्नचिन्ह उठेको हो ।’ स्रोतले भन्यो । यसबारे नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पौडेललाई प्रश्न गर्दा, ‘भूकम्प, मौद्रिक नीति लगायतका कुराले यसतर्फ राष्ट्र बैंक कडाइका साथ लाग्न नसकेको र नेपाल राष्ट्र बैंकको निर्देशन नमान्नेलाई कुनै पनि हालतमा नछाडीने’ बताए ।

यो पनि पढ्नुहोस् :

के हेर्दैछ नेपाल राष्ट्र बैंक ? कुमारी बैंक लिमिटेड ‘बाफिया’ विपरित चलिरहेछ…!

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK