×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारीको कर्तुत लुकाउन राष्ट्र बैंकमै ‘सेटिङ’ !

अर्थ सरोकार

प्रकाशित मिति : २२ चैत्र २०७३, मंगलवार

PRIME CA

कुमारीको कर्तुत लुकाउन राष्ट्र बैंकमै ‘सेटिङ’ !

  • सुरज प्याकुरेल / अर्थ सरोकार डटकम 

काठमाडौँ – कुमारी बैंक लिमिटेड बैंक तथा वित्तीय संस्था ऐन विपरित चलिरहेको, नेपाल राष्ट्र बैंकको निर्देशन अटेरी गरिरहेको लगायतका समाचार सार्वजनिक भएसँगै नेपाल राष्ट्र बैंकले कुमारीलाई किन कारवाहीको दायरामा ल्याएन भन्ने प्रश्न उठेका बेला नेपाल राष्ट्र बैंककै एक उच्च तहका कर्मचारीले कुमारीको कर्तुत लुकाउन नेपाल राष्ट्र बैंकमै ‘सेटिङ’ भएको खुलासा गरेका छन् । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै ती कर्मचारीले नेपाल राष्ट्र बैंकका गभर्नरलाई समेत प्रभावमा पारेर कुमारीले आफ्नो कर्तुत लुकाउन खोजेको छ।

कुमारी बैंकलाई विशेषत दुइ कुरामा नेपाल राष्ट्र बैंकलाई अटेरी गरेको आरोप छ । एक त अयोग्य सञ्चालकलाई बैंकले अझैसम्म निकालेको छैन भने अर्कोतर्फ प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति मात्र होइन, अरु केहि नेपाल राष्ट्र बैंकका सर्कुलरपनि बैंकले मानेको छैन । यतिसम्मकि कतिपय नेपाल राष्ट्र बैंकका निर्देशनहरु त बैंकको सञ्चालक समितिको बैठकमा प्रवेशनै नगर्ने गरेको बैंककै उच्च स्रोत दावी गर्छ । यसरी खुलेआम नेपाल राष्ट्र बैंकको निर्देशन नमान्दापनि बैंकलाई कुनैपनि कारवाही नगरिएको देखिनाले नेपाल राष्ट्र बैंकको नियतमै समेत शंका देखिएको सरोकारवालाहरुको गुनासो छ ।


अयोग्यलाई जोगाउन मोटो रकमको खलेखेल 
आफ्नो नाम नभन्ने सर्तमा नेपाल राष्ट्र बैंकका एक कर्मचारीले राष्ट्र बैंकले चाहेको खण्डमा कुमारीलाई तत्काल कारवाही गर्न सक्ने भएपनि कुमारीका सञ्चालक नरेश दुगड ठुलो व्यापारिक घराना दुगड समूहका प्रभावशाली व्यक्ति भएकाले उनीसँग निहुँ नखोज्ने भन्दै बैंकलाई कारवाही गर्ने प्रकिया अगाडी बढाएको छैन । अदालतले कालोबजारी कसुरमा दोषी ठहराएपछी भूमिगत भएका नरेश दुगड अहिलेपनि कुमारी बैंकमा सञ्चालक समितिमा छन् ।

बैंक तथा वित्तीय संस्था ऐन २०६३ को परिक्षेद १ : प्रारम्भिक अन्तर्गत सेक्सन १८ को ‘ठ’ नम्बर बुँदामा ‘चोरी, ठगी, किर्ते, जालसाजी, भ्रष्टाचार, नैतिक पतन देखिने कुनैपनि फौजदारी कसुर वा बैंकिङ्ग कसुर गरेको अभियोगमा नेपाल वा विदेशी मुलुकको अदालतबाट कसुरदार ठहर भई सजाय भुक्तान भएको दश वर्ष अवधि व्यतित नभएको’ हकमा संचालक समितिमा बस्न नपाइने भन्न स्पष्ट व्यवस्था छ  भने सोहि सेक्सनको बुँदा नम्बर ‘ण’ मा ‘ अदालतको फैसला बमोजिम लागेको कैद, जरिवाना तिर्न बुझाउन बाँकी रहेको, सरकारी बाँकी तिर्न बुझाउन बाँकी रहेको’ हकमा संचालक समितिमा बस्न नपाइने भन्ने स्पष्ट व्यवस्था छ । दुगड ग्रुपका सञ्चालक समेत रहेका कुमारी बैंक लिमिटेडका सञ्चालक नरेश दुगड बाफियामा रहेको यहि परिक्षेद १ : प्रारम्भिक अन्तर्गत सेक्सन १८ को ‘ण’ नम्बर बुँदाअन्तर्गत सञ्चालक समितिमा बस्न ‘अयोग्य’ छन् । तर उनलाई कुमारी बैंक लिमिटेडले अझै संचालक समितिबाट हटाएको छैन ।

यसका लागि नेपाल राष्ट्र बैंकका केहि उच्च तहका कर्मचारीसमेतको मिलेमतो रहेको स्रोतको दावी छ । ‘दुगड समूहले आएर नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरुलाई पटक- पटक मोटो रकम खुवाउने गरेका छन् । त्यहि रकमको लोभमा परेर नेपाल राष्ट्र बैंकले कुमारी बैंकलाई कारवाही गर्न सकेको छैन । यता रकमसँगै राष्ट्र बैंकका उच्च तहका कर्मचारीहरुलाई दुगड समुहले विभिन्न खाले धम्की दिने समेत गरेको छ । ‘ के- कति चाहिन्छ दिन्छौं, तर नरेश दुगडलाइ कारवाही गरिए राम्रो हुँदैन’ भन्दै पटक पटक गुगड समूहबाट धम्की आउने गरेको छ । यतिमात्र होइन उक्त समूहले राजनीतिक पावर लगाएर पटक- पटक गभर्नरलाई यस विषयमा थर्काउने गरेका कारण पनि नेपाल राष्ट्र बैंक चुप छ ।    

राष्ट्र बैंकको सर्कुलर नमान्दा समेत कारवाही भएन 

अचम्म लाग्दो कुरा त के छ भने कुमारी बैंकलाइ नेपाल राष्ट्र बैंकले ०७२ साल फाल्गुन २९ गते नै प्रमुख कार्यकारी पद रिक्त रहेको तीन महिनाभित्र पूर्ति गर्नुपर्ने निर्देशन दिएको थियो । तर आजसम्म पनि बैंक डेपुटी सीइओकै भरमा चलिरहेको छ । हाल कुमारी बैंकमा कामु प्रमुख कार्यकारीका रुपमा राजिब गिरिले बैंकको व्यवस्थापन सम्हालीरहेका छन् । यस विषयमा नेपाल राष्ट्र बैंकले केहि अनौपचारिक फलोअप समेत गरेको थियो ।  तर नेपाल राष्ट्र बैंककै उच्च अधिकारीहरुले कुमारी बैंकलाइ धेरै नेप्लने रणनीति लिएपछि बैंक मनपरी ढंगले चलिरहेको छ ।


राष्ट्र बैंकको नियम कानुन नै नमान्ने भएपछि बैंक भित्र भित्रै धरासायी बन्न थालेको छ । यतिसम्मकी एकातर्फ कालोबजारी मुद्धामा अदालतले दोषी ठहराएका नरेश दुगड भूमिगत छन् भने अरु संचालक प्राय संचालक समितिको बैठकमै आउंदैनन् । ‘बैंकका संचालकहरुलाई बैंकको भविष्यबारे चिन्तानै छैनजस्तो लाग्छ।’ आफ्नो नाम उल्लेख नगर्ने सर्तमा बैंकका उपल्लो तहका एक कर्मचारीले भने, ‘एक जना संचालक (नरेश दुगड)  भूमिगत छन् । अर्का सञ्चालक पुनराम भण्डारी अष्ट्रेलियाका ग्रीन कार्ड होल्डर भएकाले उनलाई बैंकबारे कुनैपनि खालाको चिन्ता छैन ।’स्रोतले भन्यो ।

‘संचालक समितिको बैठकमा समेत उनको उपस्थिति निकै न्यून छ । अध्यक्ष सन्तोष कुमार लामा आफ्नो कार्गो व्यवसायमै व्यस्त छन् ।’ स्रोत अगाडी भन्छ, ‘अर्का सञ्चालक एवम् भाटभटेनीका पार्टनर समेत रहेका सोभाकान्त ढकाललाई बैंककोभन्दा भाटभटेनीको चिन्ता बढी छ । संचालक विनोद दवाडी आफुले भनेको कुरा भए ठिकै छ नभए बैंकमा जेपनि हुनसक्ने धम्की दिन्छन् । अनि कहाँबाट होस् बैंकको प्रगति ?’ उनका अनुसार नेपाल राष्ट्र बैंकबाट आउने सर्कुलर र अन्य निर्देशनका बारेमा कम र राजनीतिक कुरा बढी हुने भएकाले बैंक अहिले अफ्ट्यारो स्थितिमा पुगेको हो ।’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: