×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एलिनाज बेकरी क्याफेदेखि इन्द्रेणी फुडल्याण्डसम्मका मेनु ‘गैरकानुनी’, यसरि उडाइंदैछ कानुनको धज्जी ! (प्रमाणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एलिनाज बेकरी क्याफेदेखि इन्द्रेणी फुडल्याण्डसम्मका मेनु ‘गैरकानुनी’, यसरि उडाइंदैछ कानुनको धज्जी ! (प्रमाणसहित)

Artha Sarokar

३ माघ २०७४, बुधबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नयाँ बानेश्वर पायक पर्ने जो कोहिले साथीभाई भेटघाट गर्नुपर्यो, कसैसँग केहि सल्लाह गर्नुपर्यो, कसैको जन्मदिन मनाउनुपर्यो, वा केहि रमाइलो गर्नुपर्यो भने सम्झने रेष्टुरेन्टहरुमध्येका दुइ हुन्, नयाँ बानेश्वरस्थित एलिनाज बेकरी क्याफे र इन्द्रेणी फुडल्याण्ड । दिनमै हजारौंको संख्यामा ग्राहक बटुल्ने यी रेष्टुरेन्टका मेनु भने गैरकानुनी छन् भन्ने सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ । तर हो, मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएका यी रेष्टुरेन्टहरुका मेनु मूल्य अभिवृद्धि कर नियमावली अनुसार पूर्ण रुपमा गैरकानुनी छन् । 
यसकारण गैरकानुनी छन् यी रेष्टुरेन्टमा मेनुहरु 
नेपालको प्रचलित भ्याटसम्बन्धि नियम अन्तर्गत भ्याट नियमावली २०५३ को नियम १४ (ख) मा स्पष्ट रुपमा भनिएको छ, ‘दर्ता भएको व्यक्तिले आफ्नो औधोगिक प्रदर्शनी कक्ष, विक्री कक्ष, होटल, रेष्टुरेन्ट, बार, कारोबार स्थल वा आपुर्ति गर्ने स्थानमा राखिएको कर लाग्ने वस्तु वा सेवाको विक्री मूल्य (ट्याग प्राइस, मेनु प्राइस, र सेल्स प्राइस) मा कर सहितको मूल्य उल्लेख गर्नु पर्नेछ ।’ तर यो नियमको बर्खीलाप गर्दै यी रेष्टुरेन्टहरुले आफ्नो मेनुमा भ्याट बाहेकको मूल्य उल्लेख गरी भ्याट अतिरिक्त लाग्ने उल्लेख गरेका छन् । अर्थात प्रचलित नियम अनुसार कुनै पनि रेष्टुरेन्टको मेनुमा १३% अतिरिक्त भ्याट लाग्नेछ भन्दै भ्याट बाहेकको मूल्य राख्न पाईदैन । तर यी लगायतका रेष्टुरेन्टले खुलेआम रुपमा कानुनको धज्जी उडाएर यसरी ‘गैरकानुनी’ नियम बनाइरहेका छन् ।  
के भन्छ आन्तरिक राजश्व विभाग र रेस्टुरेन्ट ?
यता भ्याट सम्बन्धि नियम कार्वनयन भएको छ वा छैन भनेर हेर्ने निकाय आन्तरिक राजश्व विभागका सुचना अधिकारी यज्ञ राज ढुंगेलले भ्याट नियमावलीमा लेखिएको कुरा अक्षरस पालना गर्नुपर्ने बताएका छन् । ‘नियममा जे लेखिएको छ, त्यो अक्षरस पालना गरिनुपर्छ ।’ उनले भने, ‘नियम अक्षरस पालना नगर्ने जो कोहि पनि कारवाहीको भागीदार हुनुपर्छ ।’ 
यता यस विषयमा रेष्टुरेन्टमा सोध्दा त्यहाँका कर्मचारीले आफुहरु कर्मचारी भएको र आफुलाई यस विषयमा केहि पनि थाहा नभएको बताएका छन् । एलिनाज बेकरी क्याफे र इन्द्रेणी फुडल्याण्डको क्यास काउन्टरमा हामीले यस विषयमा सोध्दा त्यहाँका कर्मचारीले आफुलाई यस विषयमा केहि पनि थाहा नभएको बताएका छन्। जवकी क्यास काउन्टरमा बस्नेहरुलाई यतिसम्मको नियम पक्कै पनि थाहा भएको हुनुपर्ने हो । 
यता नेपालका करविज्ञहरुले पनि रेष्टुरेन्टहरुमा गलत प्रवृति हावी भएको र नियम विपरितका मेनुहरु राखिएको बताएका छन् । ‘आन्तरिक राजश्व विभागले यस्ता कुरामा कडाइ गर्नुपर्छ ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै एक करविज्ञले भने, ‘कानुन भनेको मान्नका लागि हो । र कानुन नमान्नेहरु कारवाहीको भागीदार बन्नैपर्छ ।’    
धेरै ठाउँमा समस्या !, सम्बन्धित निकाय नै रमिते !
यसो त यी दुइ रेष्टुरेन्ट अर्थ सरोकार डटकमका प्रतिनिधि पुगेका केहि प्रतिनिधि रेष्टुरेन्टहरुमात्र हुन् । उपत्यकामा धेरैजस्तो रेष्टुरेन्टहरुमा यस्तो गैरकानुनी मेनु राखिएको छ । कानुनको ठाडो रुपमा धज्जी उडाउने यी रेष्टुरेन्टहरुले भ्याटका कुराहरुलाई जहिले पनि खेलाँची सम्झने गरेका छन् । यी रेष्टुरेन्टहरुले कहिले कम्प्युटर बिग्रिएको छ भने बिजक नै जारी नगर्ने, कहिले भ्याट रकम नै कम राख्ने गरेको प्रमाण हामीसँग सुरक्षित छ ।

तर नियामक निकाय भने यस विषयमा रमिते बनेको छ । कतिपय करदाता सेवा कार्यालयका हाकिमहरुनै यस्ता रेष्टुरेन्टमा पटक-पटक पक्कै जान्छन् । तर यस विषयमा सम्बन्धित निकाय मौन रहनुलाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ । यस विषयमा हामी धारावाहिक रुपमा आगामी अंकमा प्रस्तुत गर्नेछौं । तपाईंले पनि यसरी गैरकानुनी मेनु कुनै रेष्टुरेन्टमा देख्नुभयो भने हामीलाई पठाउनुहोला । तपाईंको स्रोत गोप्य राखेर हामी त्यसलाई समाचारको रुप दिनेछौं।   

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी