Skip to content
LAXMI SUNRISE BANK

अनि… कसरि बन्छ हाम्रो देश ? राजस्व प्रमुख पाण्डेकै मिलेमतोमा छोटी भन्सारमा तस्करी हुने गरेको खुलासा !

अर्थ सरोकार

राजस्व अनुसन्धान विभागका कर्मचारीकै मिलेमतोमा दैनिक तस्करीको सामान नवलपरासीको महेशपुर छोटी भन्सारबाट नेपाल प्रवेश भइरहेको छ । महेशपुर भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीअन्तर्गत पर्छ । राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालयमातहत लगिए पनि यसले राम्रोसँग काम गर्न नसकिरहेको बेला राजस्व अनुसन्धान पश्चिमाञ्चल क्षेत्रीय कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत नरेन्द्र प्रकाश पाण्डेकै मिलेमतोमा महेशपुरबाट लोड गाडीहरु धमाधम नेपाल प्रवेश गरिरहेका छन् । साँझमा छोटी भन्सार कार्यालय बन्द भएपछि लोड गाडीहरु धमाधम नेपाल प्रवेश गराइने गरेको भन्सार स्रोतले जानकारी दिएको छ । 
ती गाडीहरुलाई विना जाँच सिमाना कटाउने काम प्रमुख पाण्डेकै योजनाअनुसार हुने गरेको स्रोतले जानकारी दिएको छ । त्यसको लागि प्रमुख पाण्डे आफू नजिकका कर्मचारीलाई उक्त नाका आसपास खटाएका छन् । भन्सारको सामान छुटाउने कार्यमा संलग्न सुदर्शन गुप्ता, राजु थापालगायतका व्यक्तिसँग प्रमुख पाण्डेको राम्रो सम्बन्ध छ । सरकारले भन्सार जाँचलाई कडा पारेपछि गुप्ता र थापालगायतका भन्सारका सामान छुटाउनेहरु तस्करीमा बढी संलग्न हुनथालेका हुन् । 
यसअघि पनि उनीहरुको सामान बोकेका गाडीहरुलाई भैरहवा भन्सार कार्यालयले सामान्य जाँचमा छाड्ने र प्रमुख अनुसन्धान अधिकृत पाण्डेकै सहयोगमा गन्तव्यमा पु-याउने काम हुँदै आएको थियो । केही महिनाअगाडि भैरहवा भन्सार, भन्सार एजेन्ट र राजस्व अनुसन्धानको मिलेमतोमा भैरहवा नाकाबाट तस्करी हुने गरेको समाचार आएपछि गुप्ता र थापालगायतका व्यक्तिहरु छोटो भन्सार नाकातिर केन्द्रित भएका हुन् । स्रोतका अनुसार गुप्ता र थापाको समूहले कपडा, भाडाहरुलगायतका सामान बोकेका गाडीहरु ‘सेटिङ’मा नेपाल प्रवेश गराउने गरेका छन् । कपडा बोकेका गाडीहरु भन्सार नतिरी नेपाल प्रवेश गरेर गन्तव्यमा पु-याउन सकेमा एउटै गाडीबाट लाखौँ रुपैयाँ आम्दानी हुन्छ । अहिले कपडा बोकेका दुई/तीनवटा गाडीलाई विना चेकजाँच गन्तव्यमा पु-याउने काम भइरहेको स्रोतले जानकारी दिएको छ । 
भन्सार तिरेको बिल नभएको लोड गाडी समातेर प्रहरीले बुझाउन लागे पनि प्रमुख पाण्डेले मिलेमतोमा छुटाइदिने र कुनै बेला त प्रहरीलाई नै किन समातेको व्यवसायमा धक्का लागेर देशकै अर्थतन्त्र बिग्रिन्छ भन्ने गरेको स्रोतले जानकारी दिएको छ । फेन्सी र सर्टिङ सुटिङ्गका कपडा बोकेका गाडीहरुलाई सेटिङमा गन्तव्यमा पु¥याउने काम हुँदै आएको हो । महेशपुर मात्र होइन अन्य खुला ठाउँबाट पनि अहिले दैनिक रुपमा धेरै गाडीहरु भन्सार नतिरी नेपाल प्रवेश गर्छन् तर प्रमुख पाण्डेले आफ्ना कर्मचारीलाई चेकजाँचमा पठाउने गरेका छैनन् । भैरहवा भन्सार कार्यालय मातहतमा त्रिवेणी, महेशपुर, पक्लिहवा, लुम्बिनी, पर्सौनी, भुजाहा, बुच्चीवरेवा, अमुवा, थुमुवा, विष्णुपुरा, मंझरिया र बेथरी छोटी भन्सार कार्यालयहरु छन् । ती सबै नाकाबाट नेपाल आउने सामानको अनुसन्धान गर्ने जिम्मा राजस्व कार्यालय बुटवललाई छ । तर, राजस्व उठाउनेभन्दा पनि एजेन्टसँग नै ‘सेटिङ’ मिलाएको कारण पछिल्लो समयमा राजस्व कार्यालय बुटवलको राजस्वमा समेत तुलनात्मक रुपमा कमी आएको छ । आर्थिक दैनिकमा खबर छ । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK