
काठमाडौं – सरकारले सार्वजनिक यातायातमा जोर-बिजोर प्रणाली लागू गरेपछि यात्रुहरूले सास्ती बेहोर्नुपरेको छ । यही बिहीवार र शुक्रवार हुन लागेको बिमस्टेक शिखर सम्मेलनको सुरक्षाका लागि सरकारले तीन दिनका लागि राजधानीका सडकमा जोर-बिजोर प्रणाली लागू गरेको छ । यसक्रममा १३ र १५ गते बिजोर र १४ गते जोर नम्बरका सवारी साधनमात्र चल्न पाउनेछन् ।
बुधवार बिजोर नम्बरका सवारी मात्रै गुड्न दिइएपछि यात्रुहरू सीमित सवारी साधनमा कोचिएर यात्रा गर्न बाध्य छन् । यसक्रममा ट्याक्सीहरूले तेब्बर भाडा लिँदा आकस्मिक रूपमा बाहिर निस्केका यात्रु र बिरामीहरू झनै मर्कामा परेका छन् । वीर अस्पस्तालको आकस्मिक कक्षमा आमा भर्ना गरेर रगत परीक्षणका लागि टिचिङ अस्पताल पुगेकी भक्तपुरकी विन्दा पाण्डेले सडकमा गाडी पनि पर्याप्त नभेटिएको र ट्याक्सीले पनि ५ सय रुपैयाँ मागेको गुनासो गरिन् ।
विन्दाले भनिन्, ‘आमाको दम बढेपछि गएराति हस्पिटल भर्ना गराएँ । अहिले उहाँको लुगा लिन आउँदा पनि ट्याक्सी चढेर साढे ५ सय तिरेँ । फर्किँदा पनि त्यति नै लिने भन्दैछन् । मिटरमा हिँडे बालुवाटारबाट वीर हस्पिटलको बीचमा १ सय ५० जति उठ्ने गर्छ ।’
महानगरीय ट्राफिक महाशाखामा प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले कतिपय ठाउँमा सादा पोशाकमा ट्राफिक प्रहरी खटिरहेको र आवश्यक दोषी भेटिए कारवाही गर्ने बताए । उनले ट्याक्सी रोक्ने सबै चोकतिर सादा पोशाकमा ट्राफिक प्रहरी खटाउने पनि जानकारी दिए । पन्तले भने, ‘हामीले नियमित अनुगमन गरिरहेका छौं । कतिपय ठाउँमा सादा पोसाकमा ट्राफिक प्रहरी खटिएका छन् । कतिपय ठाउँमा खटाउने तयारी गरिरहेका छौं । यात्रुहरूले पनि तत्काल नजिकको ट्राफिक प्रहरी वा महाशाखामा ट्याक्सी नम्बर दिएर फोन गरे पनि कारबाही हुन्छ ।’
काठमाडौंमा हुन लागेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथौ शिखर सम्मलेनको सुरक्षाका लागि आज (बुधबार) देखि काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा जोर–बिजोर प्रणाली लागू भएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ट्राफिक प्रहरीकाअनुसार बुधबार र शुक्रबार बिजोर नम्बर (अन्तिम अंक १, ३, ५, ७ र ९) भएका सवारीसाधन चल्न पाउनेछन् भने १४ गते जोर नम्बर (अन्तिम अंक ०, २, ४, ६, ८) भएका सवारीसाधन मात्रै सडकमा निस्कन पाउनेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्