![डोल्पा](https://4.bp.blogspot.com/-1hK22cuqT_o/XJRRNrG5dBI/AAAAAAABH7U/KRx0bLsu2QA5jzR_nZuVVHhkuchlnP8GgCLcBGAs/s640/sthaniya1.jpg)
- अर्थ सरोकार सम्बाददाता
डोल्पा- गाउँ-गाउँमा सिंहदरबार जाने अपेक्षा गरिएकोमा संघीयता संरचनामा मुलुक जाँदा गाउँ-गाउँमा भ्रष्टाचारसमेत पुगेको चर्चा चलिरहेका बेला गाउँ-गाउँमा हुने विभिन्न खाले अनियमितता र बदमासीले सीमा नाघ्न थालेको भेटिएको छ । यतिसम्मकि वडा अध्यक्षको हस्ताक्षर नै किर्ते गरेर रकम निकाशा गरिएकोसमेत पाइएको छ । त्यस्तै घटना डोल्पामा घटेको छ ।
![](https://3.bp.blogspot.com/-17R-Epy95iE/XJRRdSw-QkI/AAAAAAABH7g/n1bjkpsjjSAWXObSNl68Wq2GwPA0J4r9wCLcBGAs/s1600/s1.jpg)
![](https://1.bp.blogspot.com/--nkXkUYqsT8/XJRRdGI-iDI/AAAAAAABH7Y/JQabJKQ4WHI88JjSEKbo-EcKjh644vN8gCLcBGAs/s1600/s2.jpg)
डोल्पाको मुड्केचुला गाउपालिकास्थित कालिका, रिङ्ग, हुँदै नर्कुसम्म जोड्ने रु ३५ लाखको पर्यटन पदमार्गलाई लिएर उपभोक्ता समिति गठन गर्दा समेत यस्तै रबैया भेटिएको छ । वडा नं. १ का वडा अध्यक्ष भानुभक्त बोहराले दिएको भनिएको चलानी नम्बर ६८ रहेको पहिलो सिफारिस चलानी नम्बर ८ रहेको दोस्रो सिफारिस यसरी किर्ते गरिएको खुलासा भएको हो । पहिलो रिफारिस पुस २५ मा गरिएको छ भने दोस्रो चैत ३ गते गरिएको पाइएको छ । जवकी यी सिफारिस गर्दा वडा अध्यक्ष बोहोरा काठमाण्डौ थिए ।
![](https://3.bp.blogspot.com/-qiO5nIUN6Jk/XJRRdWqMZ-I/AAAAAAABH7c/D5gmz1hfD6I5oiH5Nr9Wr7nX-aZ_EG3eACLcBGAs/s1600/s3.jpg)
उनले आफुले सिफारिस नदिएको र आफ्नो हस्ताक्षर किर्ते गरिएको बताएका छन् । त्यस्तै अर्का वडा ४ का अध्यक्ष जगबहादुर बुढा डोल्पा नरहेको समयमा फागुन १० सिफारिस दिएर वन डिभिजन कार्यालयबाट पेश्की रकम लिएको खुलासा भएको छ । किर्ते गरी लिएका सिफारिसका आधारमा डिभिजन वन कार्यालयबाट रकम निकासा नगर्न र लिएको पेश्की रकम समेत फिर्ता गर्न गाउँपालिकाले चिठी लेखिसकेको छ ।
(गाउँ-गाउँमा भ्रष्टाचार स्तम्भ अन्तर्गत हामीले स्थानीय तहमा भएका भ्रष्टाचारका खबर प्रकाशित गर्छौं । तपाईंसँग पनि प्रमाणसहितका यस्ता खबर छन् भने हामीलाई ९८५१०१७९१४मा सम्पर्क गर्नुहोला ।)