Skip to content
LAXMI SUNRISE BANK

यस्तो रहेछ बीमा रकमको लोभमा छोरी मार्ने निर्दयी बाबुको नालीबेली, अभिकर्ताले नै सिकाएका थिए यस्तो गलत ‘आइडिया’

अर्थ सरोकार

जोखिम न्यूनीकरणका लागि गरिने बीमाभित्रका विकृत रुपहरु एक-एक गरी बाहिर आउन थालेका छन् । भविष्यमा भइपरी आउने घटनाको जोखिमको न्यूनीकरणका लागि गरिने बीमाका कतिपय गलत नीति र बीमित र तिनका अभिभावकको गलत नियतका कारण नसुन्नुपर्ने घटनाको साक्षी हुनुपरेको छ हामी । घटना रौतहटको हो । मौलापुर नगरपालिका, रौतहटका रामकिशोरका ५ सन्तान थिए । ती ५ सन्तान मध्येकी कान्छी छोरी थिइन् लक्ष्मी । भर्खर ४ वर्षे पुगेकी ती अबोध बालिकालाई बीमा रकमको लोभले आफ्नै बाबुले मारे भन्ने सुन्दा जो कोहीलाई पनि अचम्म लाग्न सक्छ । तर यो सत्य हो । २०७६ असार १६ गते राति बीमा रकम पाउने लोभले रामकिशोरले आफ्नै कलिली छोरीको ज्यान लिए ।
यस्तो थियो घटनाको नालीबेली 
२०७६ साल असार १६ गते राती लक्ष्मी र उनकी आमा खाना खाएर सुते । कामले दिनभर थाकेकी आमा र कलिली छोरी निदाए । रातको झन्डै १ बजेको थियो । लक्ष्मीकि आमा निन्द्राबाट ब्युँझिइन् । निन्द्राबाट ब्युझिदा उनले आफ्नी प्यारी कान्छी छोरी देखिनन् । आफ्नै ओछ्यानमा रहेकी छोरी नदेख्दा उनी आत्तिइन् । सबैलाई हार गुहार मागेपछि परिवारका अन्य सदस्यहरु पनि ब्युँझिए । ओछ्यानमा रहेकी आफ्नी कान्छी ४ बर्षीय छोरी एकाएक हराएपछि घरका सबै आत्तिए । छोरी कतै पनि नभेटिएपछि विहान करिब साढे ४ बजे इलाका प्रहरी कार्यालय मौलापुरमा खबर पुग्यो । र त्यसपछि प्रहरीले घटनाबारे अनुसन्धान सुरु गर्यो । 
बिहान करिब साढे ५ बजेको हुँदो हो । स्थानीय केटाकेटीहरु स्थानीय फगुनी राय यादवको माछा पोखरीमा एउटा बच्चाको लाश पानीमा तैरिरहेको देखे । पोखरीमा लास तैरिएको देखिएपछि उनीहरुले पनि प्रहरीलाई खबर गरे । प्रहरीको अनुसन्धान र परिवारका सदस्यको बयानपछि पोखरीमा भेटिएको उक्त ४ बर्षीय लक्ष्मीकै भएको पुष्टि भयो । प्रहरीले सुक्ष्म अनुसन्धान गरेपछि एउटा निर्मम निष्कर्ष बाहिर आयो । बीमा कम्पनीबाट आउने २५ लाख रुपैयाँको लोभमा उनले आफ्नै छोरीको हत्या गरेको खुल्यो । पोष्टमार्टम रिपोर्टले हत्यापछि मात्र पानीमा फालेको देखाएको छ । त्यसपछि गाउँ नै स्तब्ध भएको छ । 
यस्तो छ जीवनबीमाको ‘डिटेल’
मृतक लक्ष्मीको २०७६ जेठ १९ गते २५ लाख रुपैयाँको जीवनबीमा भएको छ । प्रभु लाइफ इन्स्योरेन्स गरुडा उपशाखाबाट उनको बीमा भएको देखिएको छ । मृतक बालिकाका बाबु रामकिसोरले योजनाबद्ध रुपमा बीमा गराई छोरीको हत्या गरेको निष्कर्ष प्रहरीको छ । यसो त प्रहरीले मृतक बालिकाका बाबुलाई शंकाको घेरामा राखेर अनुसन्धान गरिरहेको थियो । रामकिसोरले ५ सन्तानमध्ये सबैभन्दा कान्छी सानी छोरीकोमात्र जीवन बीमा गराउनु, जीवन बीमाको रकम अस्वभाविक रुपमा आर्थिक हैसियतभन्दा ठूलो हुनु, घरबाटै छोरी हराउनु र हत्या भएको सो रात बाबुका गतिविधि शंकास्पद देखिएपछि प्रहरीले गहिरो अनुसन्धान गरेको थियो । बीमा रकम प्राप्तगर्ने योजनाअनुसार हत्या गरेको उनले स्वीकारेका छन् । सुरुमा ३० लाखको बीमा गराउन चाहेको तर बीमा कम्पनीले ३० लाखको गर्न आमा वा बाबु मध्ये एक जनाको समेत ३० लाखको बीमा हुनुपर्ने कुरा बताएपछि २ दिनपछि २५ लाखको बीमा गराएको अनुसन्धानबाट देखिएको छ।
प्रहरीसँगको बयानमा उनले घरमा निदाईरहेकी छोरीलाई मध्यरातमा आफैँले काँधमा बोकी पोखरीको डिलसम्म लगेको, त्यहाँ घाँटी थिचेको र बालिकाको मृत्यु भएपछि पोखरीमा बालिका फालिदिएको बयान दिएका छन् । प्रहरी अनुसन्धानमा जीवन बीमा गराउने अभिकर्ता धर्बेन्द्र यादवले रामकिसोरलाई उपाय सिकाएको खुलेको छ। उनी लक्ष्मीको बीमाको प्रस्तावक पनि हुन् । धर्बेन्द्र हाल फरार रहेको प्रहरीको भनाइ छ ।
को हुन् रामकिसोर ?
यसो त यसअघि पनि रामकिशोर जेल सजाय भोगिसकेका व्यक्ति रहेछन् । प्रहरीका अनुसार ३९ वर्षीय रामकिसोर द्वन्दकालमा तत्कालिन नेकपा माओवादीमा सक्रिय थिए । भूमिगत समयमा राम किसोर यादव ‘ढकाल’ नामले चिनिने गर्दाथे । २०५८ सालदेखि २०६१ सालसम्म विभिन्न अभियोगमा ३ वर्ष जेल सजाय भुक्तान गरेका उनले अन्तत बीमा अभिकर्ताको सुझावकै आधारमा आफ्नी छोरीको हत्या गरेको फेला परेको छ । प्रहरीले मुख्य अभियुक्त रामकिसोर र बीमा एजेन्ट धर्बेन्द्र यादव दुवैलाई मुलुकी अपराध सहिंता २०७४, ज्यान सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी शुक्रबार म्याद थप गरेको छ।

छुटाउनुभयो कि ?



Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK