![](https://1.bp.blogspot.com/-3c_iQ4YpqXU/XeXe4-VOqTI/AAAAAAABUvk/2Ntzauu7ZLsbneW-cKE43sDnayNrYOxCgCLcBGAsYHQ/s1600/sarkari-final.jpg)
काठमाडौँ । काठमाडौंको भाटभटेनीस्थित लक्ष्मी बैंककी म्यानेजर पूजा शाहले सरकारी जग्गालाई बेच्ने धन्दामा साक्षी बसेको, र सोहि जग्गा माटो पुरेर बेच्ने काममा आफ्नै ग्राहकसँग पार्टनरशिप गरेको र त्यसमा धोकाधडी भएको भन्दै मुद्धा परेको प्रमाण फेला परेको छ । वीरगञ्जको छपकैयामा चार बिघा क्षेत्रफलमा फैलिएको सरकारी पोखरी आफ्ना ससुराले आफ्नो नाममा दर्ता गराउन सफल भएपछि एउटै जग्गा पटक-पटक बेच्ने काममा लक्ष्मी बैंककि मेनेजर शाहसमेत संलग्न भएको भन्दै उनीविरुद्ध १० करोड रुपैयाँको क्षतिपूर्ति मागदाबीसहित मुद्धा परेको हो । चेक बाउन्स प्रकरणमा समेत मुछिएकी शाहविरुद्ध आफ्नो जग्गालाई माटो पुरेर बेच्ने भनी पार्टनरशीप गरिएको तर उक्त जग्गा सरकारी रहेको खुलेसँगै आफूमाथि धोका भएको र करार बमोजिम १० करोड रुपैयाँको क्षतिपूर्ति माग गर्दै सो कामका उनका पार्टनर रुद्र तिमल्सिनाले उनी विरुद्ध अदालतमा मुद्धा दायर गरेका हुन् ।
![](https://1.bp.blogspot.com/-1oPN6ql1hbA/XeXZftVAvRI/AAAAAAABUuc/ZSEtEeYdNVQj0D36biVc8R6VDQi9do8FACLcBGAsYHQ/s1600/birganj.jpg)
भएको के हो ?
वीरगञ्जको छपकैया पोखरीमा माटो पुरेर जग्गा बनाई बेच्ने भनी पूजा शाह र रुद्र तिमल्सिनाले पार्टनरशिप गरे । रुद्रले पूजालाई सोहि बमोजिम पैसा पनि दिए । काम अगाडी पनि बढ्यो । बैंकमा काम गर्ने मान्छे, त्यसमाथि पनि राम्रो खानदानको मान्छे भएको देखेपछि तिमल्सिनाले विश्वास गरे । काम हुँदै गर्दा कामको हिसावकिताबमा समेत पूजाको हस्ताक्षर छ । तर वीरगञ्ज महानगरपालिकाले यो जग्गा पुन: सार्वजनिक गर्ने प्रक्रिया सुरु गरेपछि बल्ल यो जग्गा कुनै बेला सरकारी थियो, पूजा शाहका ससुराको नाममा जग्गा दर्ता भएको थियो र स्थानीयको विरोधपछि जग्गा पुन: सरकारी हुन लागेको थाहा पाए तिमल्सिनाले । उनका अनुसार पूजा शाहले उनलाई यस विषयमा केहि पनि भनेकी थिइनन् । बस् आफ्नो नाममा भएको पूर्जा देखाएकी थिइन् । वीरगञ्ज महानगरपालिकाको चलानी नम्बर ५५०३/ ०७५/०७६ ले भुमि व्यवस्था सरकारी तथा गरिवी निवारण मन्त्रालयलाई लेखेको पत्रमा छपकैया पोखरीलाई पुन: सार्वजनिक गर्ने व्यहोरा उल्लेख छ ।
![](https://1.bp.blogspot.com/-_7cIO5p2LrY/XeXZwBPunwI/AAAAAAABUuk/HJa7WxL-004AymQsx3xI5WEQgqVwZnl6ACLcBGAsYHQ/s1600/bir2.jpg)
तर बुझ्दै जाँदा छपकैया पोखरी परापूर्वकालदेखि सरकारी थियो भन्ने महानगरपालिकाको समेत निष्कर्ष आयो । २०४८ सालमा बैंकर शाहका ससुरा पूर्व साहेव प्रमोदविक्रम शाहले नापीका तत्कालिन हाकिम साविर हुसेन लगायतका व्यक्तिहरुलाई प्रलोभनमा पारेर सरकारी जग्गा आफ्नो नाममा दर्ता गरेको आरोप स्थानीयहरुको छ । स्थानीयको चर्को विरोधपछि हाल उक्त जग्गा पुन: सार्वजनिक बनाउने प्रक्रिया वीरगञ्ज महानगरपालिकाले थालिसकेको छ । यो बीचमा यस्तो ‘लफडा’ परेको जग्गा भन्ने आफुलाई थाहा नदिएको भन्दै तिमल्सीना मुद्धामा गएका छन् । अर्थ सरोकारलाई प्राप्त उनीहरुबीचको करार सम्झौतामा दोश्रो पक्षको लगानी डुबेमा, यो काममा धोका भएमा १० करोड रुपैयाँ तिमल्सिनाले क्षतिपूर्ति पाउने उल्लेख छ ।
![](https://1.bp.blogspot.com/-qohd3TsMgjI/XeXaLjifGSI/AAAAAAABUuw/LqNz3Sb4yY0KAC3TFkUx4s1XhaSUFyRKwCLcBGAsYHQ/s1600/karar1.jpg)
![](https://1.bp.blogspot.com/-tkhhEpZHGIA/XeXacw96vNI/AAAAAAABUu8/H8RDQAC9FEwnVOscmJDAWo2VtIjjHJlygCLcBGAsYHQ/s1600/karar2.jpg)
‘बैंकमा डिपोजिट गर्न लगेको पैसा लगानी गर्न लगाइयो र फसाइयो’ : तिमल्सिना
आफुले लक्ष्मी बैंकमा पैसा डिपोजिट गर्न जाँदा पूजा शाहले उक्त पैसा बैंकमा राख्नुभन्दा आफ्नो एउटा काममा पार्टनरशिप गरे राम्रो फाइदा हुने भन्दै उक्त रकम लिएर सो काममा पार्टनरशिप गराएको तिमल्सिनाको दावी छ । सोहि सम्झौता अनुसार तिमल्सिनाले पूजा शाहलाई पैसा दिएका थिए । तिमल्सिनाको एनआइसी एशिया बैंकमा रहेको खाताको स्टेटमेन्ट हेर्ने हो भने पूजा शाहले पैसा लगेको स्पष्ट देखिन्छ । बैंकर शाह र रुद्र तिमल्सिनाबीच संयुक्त खातासमेत खोली यस करार अनुसार काम गरेको देखिन्छ । यो बीचमा पूजा शाहले हस्ताक्षर गरेको चेक बाउन्स भएकोसमेत देखिन्छ । बैंकरकै चेक बाउन्स हुनु नैतिक हिसाबले लाजमर्दो कुरा हो । उनले २०१८ मार्च १४ तारिखका दिन रंजन मिश्रका नाममा खिचेको चेक बाउन्स भएको पाइएको छ ।
![](https://1.bp.blogspot.com/-iEMzvgmI314/XeXa7fJGcWI/AAAAAAABUvI/2z0I2XBezskoM6kwUV5eF18b99QazmMyQCLcBGAsYHQ/s1600/karar5.jpg)
![](https://1.bp.blogspot.com/-_GN18FxL9Do/XeXarfpd5eI/AAAAAAABUvA/nOYZ3tiL5_EtkHYGsZRaKngPkqIAVhNkACLcBGAsYHQ/s1600/jilla.jpg)
के भन्छिन् पूजा शाह?
यस विषयमा बुझ्न हामीले पूजा शाहलाई सम्पर्क गरेका थियौं । उनले जग्गा आफ्नो ससुराको भएकाले उक्त जग्गा सार्वजनिक थियो भन्ने कुरा नै गलत भएको दावी गरेकी छिन् । ‘हामीले सर्वोच्चमा मुद्धा लडेर पाएको जग्गा हो यो । सर्वोच्च ठुलो कि स्थानीय निकाय ? अहिले स्थानीय निकायले जग्गा सार्वजनिक गर्न पाउँछ ?’ उनले प्रतिप्रश्न गरिन् । ‘जग्गा सार्वजनिक नभएको भए किन महानगरपालिकाले सार्वजनिक गर्ने प्रक्रिया थाल्यो त ?’ भन्ने हाम्रो प्रश्नमा उनले फेरि भनिन्, ‘अदालत ठुलो कि महानगरपालिका ? जग्गा हाम्रै हो ।’ रुद्र तिमल्सिनाले मुद्धा हालेको विषयमा उनले आफुले अदालतले गर्ने निर्णय अनुसार गर्ने बताएकी छिन् । ‘सबै कुरा ठिक थियो । बीचमा केहि कुरा मिलेन । रुद्रजी मुद्धामा जानुभयो । अदालतले गरेको निर्णय अनुसार तिर्नुपरे तिर्छु ।’ उनले भनिन् ।
![](https://1.bp.blogspot.com/-BcptO2sJkZY/XeXZ_O-49dI/AAAAAAABUuo/RNaOgN3LiA01LK1UE9VXDWrqz7LIfnyjwCLcBGAsYHQ/s1600/bir3.jpg)
तर चेक बाउन्स प्रकरणमा भने उनले झुट बोलिन् । बैंकर नै चेक बाउन्सको केसमा पर्नुभएको रहेछ नि ? भन्ने हाम्रो प्रश्नमा उनले आफुले त्यस्तो कुनै चेकमा सहि नगरेको दावी गरिन् । हामीले रंजन मिश्रलाई दिइआएको चेकमा तपाईंको हस्ताक्षरसमेत छ भनेपछि उनले सबै गलत काम रुद्र तिमल्सिनाबाट भएको बताईन् । यता उनले आफुसँग भएको प्रमाणअनुसार आफु सहि भएको बताईन् । हामीले तपाईंसँग भएको प्रमाण दिनुहोस् न भनेपछि उनले भनिन्, ‘म मेरो वकिल लिएर तपाईंलाई भेट्छु, त्यहीं देखाउँला प्रमाण ।’ यता यस विषयमा हामीले लक्ष्मी बैंकका सिइओसँग पनि बुझ्ने प्रयास गरेका थियौं । तर उनको मोबाइल अफ छ ।
![](https://1.bp.blogspot.com/-3TMjeXefIWQ/XeXba1WVkQI/AAAAAAABUvU/CxE02NCwczEmgPLIPiwbIEtm75EjKRR0gCLcBGAsYHQ/s1600/karar6.jpg)
यसो त पूजा शाहले मुद्धाको प्रतिउत्तरमा आफ्नो संयुक्त खातामा ७ लाख रुपैयाँमात्र जम्मा भएको उल्लेख गरेकी छिन्। त्यसो भए ६० लाख रुपैयाँ (जुन एनआइसी एशिया बैंकको स्टेटमेन्टमा उनले लगेको देखिन्छ) त्यो के प्रयोजनका लागि लगियो भन्ने प्रश्न उठेको छ । अर्कोतर्फ ३ करोडभन्दा बढी खर्च भएको विवरणमा समेत उनको हस्ताक्षर छ । यसले पनि संयुक्त खातामा ७ लाख रुपैयाँ राखेर अरु पैसा व्यक्तिगत रुपमा पूजाले चलाएकी थिइन् कि भन्ने प्रश्न उठाउने ठाउँ छ ।
![](https://1.bp.blogspot.com/-BMXEx2awwx0/XeXca2-2ebI/AAAAAAABUvc/fpKnbkA0RyAHSjl-qB-lcy2qeootdxhRgCLcBGAsYHQ/s1600/15006.jpg)