×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना भाइरसको त्रास : संक्रमण फैलिएका देशको भिसा रोक्ने सरकारको निर्णय…

PRIME CA
GLOBAL IME BANK

कोरोना भाइरसको त्रास : संक्रमण फैलिएका देशको भिसा रोक्ने सरकारको निर्णय…

३० फाल्गुन २०७६, शुक्रबार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोराना भाइरस (कोभिड–१९) लाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरेपछि मुलुकको सम्भावित जोखिम रोक्न सरकारले संक्रमण फैलिएका थप देशको अन अराइभल भिसा रोक्ने निर्णय गरेको छ । चीनबाट फैलिएर युरोपियन र केही मध्यपूर्वका देशमा समेत कोभिड–१९ को संक्रमण बढेकाले थप देशको भिसा रोक्ने निर्णय भएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिएका छन् । 
“सुरुमा ५ मुलुकबाट आउने भिसा रोक्ने भनेकोमा अझै केही थप देशहरुको भिसा रोक्ने निर्णय भएको छ”, कोभिड–१९ संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले गरेको निर्णय सुनाउँदै प्रवक्ता डा. खतिवडाले जानकारी दिए । थप कुन–कुन देशको भिसामा रोक लगाइएको हो भन्ने बारेमा भने उनले खुलाउन चाहेनन् । सूचना एकद्धार प्रणालीबाट जाने भएकाले समितिको सचिवालयले त्यसको आधिकारिक निर्णय सार्वजनिक गर्ने मन्त्री खतिवडाले बताए ।
उनले हवाई उडानमा भने कटौती नगरिएको जानकारी पनि दिए । भिसा रोकिएपछि स्वतः कटौती हुने उनले बताए । यसअघि सरकारले चीन, इरान, इटाली, फ्रान्स जर्मनी, स्पेन, दक्षिण कोरिया र जापानको अन अराइभल भिसामा रोक लगाएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको समितिको बैठकमा डब्लुएचओले महामारीको रुपमा घोषणा गरेपछिको उत्पन्न जोखिमको समीक्षा गरी नेपालमा गर्नुपर्ने आवश्यक तयारीका विषयमा थप छलफल भएको थियो ।
छिमेकी मुलुक भारतमा पनि संक्रमणको संख्या बढ्दै गएको अवस्थामा यस बैठकले थप उच्च सतर्कता अपनाउने निर्णय गरेको अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री प्रवक्ता डा खतिवडाले जानकारी दिए । भारतले आफ्नो देशको नाकामा नियमन गर्दै खास नाकाबाट आवागमन खोल्ने निर्णय गरेकाले नेपालतर्फबाट पनि त्यही नाका प्रयोग गरिने भएको छ ।
त्यसको आवश्यक प्रक्रिया मिलाउन गृह र परराष्ट्र मन्त्रालयलाई जिम्मा दिइएको उनले जानकारी दिए । पछिल्लो दिनमा समितिको बैठक नियमित जसो बस्दै आएको छ । बुधबार मात्रै सर्वदलीय बैठक बसेर रोग भित्रिन नदिन उच्च सचर्कता अपनाउने निर्णय भएको थियो । 

पूर्व तयारीमा सरकार !
अहिलेसम्म मुलुकमा कुनै संक्रमण भएको छैन । विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिम क्षेत्रमा राखेको अवस्थामा संक्रमण भइहालेमा त्यो बेलाको तयारीका लागि अहिलेदेखि नै क्वारेन्टाइन सेन्टर र आइसोलेसन वार्ड, उपकरणहरु र उपचारका लागि चाहिने यन्त्रहरुको आपूर्ति बढाउने निर्णय बैठकले गरेको छ । “पूर्वतयारी स्वरुपः त्यस्तो सेन्टर बनाउँदा सम्भव भएसम्म घना बस्तीभन्दा पर तयारी गर्ने निर्णय भएका छ । त्यसको आवश्यक प्रक्रिया स्वास्थ्य मन्त्रालयले मिलाउने भनिएको छ”, मन्त्री डा. खतिवडाले भने । 
आवश्यक परेमा सुरक्षाकर्मीले तत्कालै संरचना बनाउन सक्ने गरी जाने गरी तयारी थाल्ने बैठकको निष्कर्ष छ । पूर्वतयारी स्वरुप मेडिकल कलेजका स्वास्थ्यकर्मी, रेडक्रस, स्काउट तथा मेडिकल क्षेत्रका सामाजिक संस्थाका प्रतिनिधिलाई स्वयंसेवकको रुपमा परिचान गर्ने गरी तयारी अवस्थामा राख्ने निर्णय पनि बैठकले गरेको छ । संक्रमण नदेखिँदासम्म विद्यालय र परीक्षा भने नियमित सञ्चालन गरिने भएको छ ।
मन्त्री डा. खतिवडाले भने, “कुनै समस्या आएमा तत्कालै स्कुल बन्द गर्न सक्ने गरी निर्णय लिएर जाने कुरा भएको छ । अहिले नै बन्द गर्ने निर्णय भने भएको छैन ।” उनले सरकारका तर्फबाट सार्वजनिक समारोह, भेला कम गर्ने र सामाजिक रुपमा विवाह भोजहरु कम गरी आफैँ पनि सतर्कता अपनाउन सार्वजनिक अपिल गर्ने निर्णय गरेको जानकारी दिए । समितिका संयोजक उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा उक्त बैठक बसेको थियो । -रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: