
काठमाडौँ – दक्षिण कोरियाको ख्यङजुस्थित एक गाई फार्ममा काम गर्दै आएका काभ्रेका सागर लामिछानेको बिदा सकिएको छ । घरको न्यास्रो मेटाउन उनी डेढ महिनाअघि एक महिने बिदा लिएर नेपाल फर्किए । तर त्यसको दुई हप्तामै कोरोना भाइरस महामारीका कारण लकडाउन भएपछि उनी फर्किन पाएनन् । लामिछानेले फोनबाट लक डाउन नखुल्दासम्म आउन नसक्ने जानकारी गराउँदा कम्पनीले छिटो आउन या रोजगारी छाड्न दबाब दिइरहेको छ । यो त एउटा प्रतिनिधि उदाहरणमात्र हो ।
उनीजस्ता ८ सयभन्दा बढी नेपाली श्रमिक (विद्यार्थी र व्यवसायीसमेत) बिदामा वा कम्पनी परिवर्तन गरी अर्को कम्पनीमा लाग्नुअघि स्वदेश गएका हुन् । अहिले उनीहरु नेपालमै अड्किएका छन् । कोरिया फर्कन नसक्दा आफ्नो रोजगारी नै गुम्ने हो कि भन्ने चिन्ताले उनीहरूलाई सताइरहेको छ ।
यस समस्यालाई ध्यान दिएर केही नेपाली संघसंस्थाले बिदामा जाने श्रमिकलाई कोरिया फर्काइदिने व्यवस्था मिलाउन अनुरोध गर्दै नेपाल सरकारलाई ज्ञापनपत्र बुझाइएका छन् । सउलस्थित नेपाली दूतावासमा नेपाली सम्पर्क समिति, दोङ्देमुन व्यवसायी संघ नेपाली विद्यार्थी समाज, नेपाल पर्यटन बोर्डका मानार्थ दूत केपी सिटौला लगायतले यहाँस्थित कार्यवाहक नेपाली राजदूत रामसिंह थापालाई ज्ञापनपत्र बुझाउँदै बिदामा गएकालाई जतिसक्दो छिटो कोरिया फर्किने वातावरण मिलाइदिन अनुरोध गरेका छन् ।
‘यसबारेमा नेपाल सरकार गम्भीर हुनुपर्छ तर दूतावासले अभिभावकत्व प्रदान गर्नुपर्ने बेलामा खासै चासो देखाइरहेको छैन,’ नेपाल पर्यटन बोर्डका मानार्थ दूत केपी सिटौलाले भने । तर दूतावासले भने त्यस्तो समस्यामा परेका नेपालीका लागि आवश्यक समन्वय गरिरहेको बताएको छ । यता लकडाउनक कारण अन्य राष्ट्रहरुमा समेत नेपाली कामदारहरुको रोजगारी गुम्ने देखिन्छ । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्