×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : वर्षाले देशभरका सडकहरुको अवस्था हरिबिजोग ! पर्यटक नहुँदा फेवाताल जलकुम्भीले भरियो…!

PRIME CA

देश बोल्ने फोटो कथा : वर्षाले देशभरका सडकहरुको अवस्था हरिबिजोग ! पर्यटक नहुँदा फेवाताल जलकुम्भीले भरियो…!

८ श्रावण २०७७, बिहीबार

पढ्न लाग्ने समय: < २ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ?  यी दृश्यहरु आफैं बोलिरहेछन् । 
आजको अंकमा हामीले वर्षाले देशभरका सडकहरुको अवस्था हरिबिजोग भएकोदेखि पर्यटकीय गन्तव्य पोखराको फेवातालमा कोरोनाका कारण पर्यटक नआउँदा जलकुम्भीले भरिएकोसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
पहिरो खसेर सडक अवरुद्ध भएपछि बाटोमै स्वास्थ्यकर्मीको सहयोगमा छोरी जन्माएकी बडिगाड गाउँपालिका–१ मनिता घर्तीलाई थप उपचारका लागि धौलागिरि अस्पताल ल्याइँदै । मध्यपहाडी पुष्पपाल लोकमार्गको बागलुङ नगरपालिका–३ बोक्सेमा पहिरो खसेर तीन दिनदेखि सडक अवरुद्ध भएको छ । 
पर्यटकीय गन्तव्य पोखराको फेवातालमा फैलिएको जलकुम्भी झार । 
महाकाली नगरपालिका–३ डुङ्गरी क्षेत्रको लास्कु खोलामा साउन ४ गते आएको बाढीले डुबाएको नेपाल विद्युत प्राधिकरणको डुङ्गरी पावर हाउस  । बाढी आएको चार दिनसम्म पनि सरोकारवाला निकायले ध्यान नदिँदा पावर हाउसभित्र ६ फिटभन्दा बढी  पानी जमेको छ भने २०० किलो वाट क्षमताको जलविद्युत् पूर्ण रुपमा क्षति भएको छ । बाढीले स्थानीयवासीको घर, होटल र पसल बगाएको छ  ।
भक्तपुरको सूूर्यविनायक नगरपालिकाअन्तर्गत चित्रपुरमा किसान धान गोड्दै । रोपाइँ सकेपछि  धान नकाटेसम्म तीन पटक  किसानले धान गोड्ने गर्दछन् । 
भरतपुर महानगरपालिका वडा नम्बर २९ वालुवा पुल नजिक राति खसेको पहिरोबाट मोटरसाइकल निकाल्दै यात्रु ।
विपद् व्यवस्थापन समिति काभ्रेपलाञ्चोकले विपद्मा परेकालाई कसरी खोज तथा उद्धार गर्ने भन्ने विषयमा बिहीबार धुलिखेलमा गरेको पूर्व अभ्यासका क्रममा उद्धारपछि उपचारका लागि लैजाने विधिको प्रदर्शन गर्दै सुरक्षाकर्मी । 
वर्षाले जलमग्न भएको वीरगञ्ज आदर्शनगर सडकमा सावारी साधन आवतजावतमा समस्या । पानीको उचित निकास हुन नसक्दा यहाँका नगरवासीले सास्ती भोग्नु परेको छ । 
बागलुङ नगरपालिका–३ बोक्सेमा पहिरो खसेर तीन दिनदेखि अवरुद्ध बनेको मध्यपहाडी पुष्पपाल लोकमार्ग । निरन्तरको वर्षाले लोकमार्ग खुलाउन समस्या भएको हो ।
बाढीका कारण भत्किएको तनहुँको म्याग्दे गाउँपालिका–४ र ७ जोड्ने पुल । पुल भत्किएपछि यहाँका स्थानीयवासीलाई आवतजावतमा समस्या भएको छ । 
भक्तपुरको सूूर्यविनायक नगरपालिकाको चित्रपुरस्थित खेतमा किसान धान गोड्दै गरेको तस्बिर लिने क्रममा छेउमै उभिएर बसेकी वृद्धा रमाएर नाच्दै ।
छेडाबजार – जुनिचाँदे सडकखण्डको बीचमा रहेको खारा खोलामा पानीको वहाव बढेपछि छेडागाड नगरपालिकाले यातायातका साधन आवतजावत गराउन सजिलो होस् भनी  कजवे निर्माण गर्दै ।
दाङको तुलसीपुर बजारदेखि वडा नं। ३ को कार्यालय जाने सडक । वडा कार्यालयसम्म पुग्न सडक ग्रावेल तथा कालोपत्रे नहुँदा आवतजावत गर्न समस्या हुने गरेको छ ।
कञ्चनपुरको कलुवापुरका किसान धान रोपेको खेतमा युरिया मल छर्कदै । अनुदानको युरिया मल नपाउँदा किसानले भारतबाट मल ल्याएर छर्कन थालेका छन् । 
नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको रु एक हजारको नोटमा राखिएको लक्ष्मण अहिले चितवन राष्ट्रिय निकुञ्जको कसरा हात्तीसारमा । सो नोटमा जुम्ल्याहा हात्ती राम र लक्ष्मणको तस्बिर रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: