×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

‘बीमा कम्पनीहरुले मिलेमतोमा मात्रै भुक्तानी दिन्छन्’ : अध्यक्ष सिलवाल (भिडियो रिपोर्ट)

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरुले दाबी भुक्तानी सेवालाई सरल र सहज बनाउन आवश्यक रहेको बताउनुभएको छ । सगरमाथा इन्स्योरेन्स कम्पनीले ल्याएको ‘सगरमाथा आरोग्य पोलिसि’ सार्वजनिक गर्न मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले नेपालका बीमा कम्पनीहरुले बीमितलाई भुक्तानी दिने विषय समस्याको रुपमा रहेको बताउनुभयो । बीमा कम्पनीहरुले मिलेमतोमा मात्रै भुक्तानी दिने गरेको उल्लेख गर्दै त्यसलाई सुधार्न निर्देशनसमेत दिनुभयो । मिलेमतो हुने बीमितले समय भन्दा अगाडि नै भुक्तानी पाउने तर मिलेमतो नभए भुक्तानी पाउनै नसक्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभयो । यस्तै रेट कटिङ्ग र उधारो बीमा पनि बीमा कम्पनीहरुमा देखा परेको अर्को ठूलो समस्या रहेको उहाँले बताउनुभयो ।
रेट कटिङ, उधारो बीमा र भुक्तानीमा मिलेमतो लगायतका समस्यालाई सुधार नगर्दा सम्म बीमा क्षेत्रको विकास सम्भव नभएको पनि अध्यक्ष सिलवालले बताउनुभयो । जति सुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने पनि बताउनुभयो । सगरमाथा इन्स्योरेन्स कम्पनीले ल्याएको योजनामा ७ देखि १० लाख रुपैयाँ सम्मको व्यक्तिगत दुर्घटना जोखिम, एक देखि ५ लाख रुपैयाँ सम्मको स्वास्थ्य उपचार जोखिम र एक देखि १० लाख रुपैयाँ सम्मको गम्भिर प्रकृतिका जोखिम एकैपटकमा बहन हुनेछ । यदि कुनै बीमितले ७ लाख रुपैयाँको दुर्घटन बीमा, एक लाख रुपैयाँको स्वास्थ्य उपचार बीमा र एक लाख रुपैयाँ सम्मको गम्भिर प्रकृतिका जोखिमको बीमा गर्न एक वर्षमा १ हजार ६ सय रुपैयाँ बीमा शुल्क भुक्तानी गरे पुग्ने इन्स्योरेन्सले जनाएको छ ।
इन्स्योरेन्सले बीमा दाबी भुक्तानीको प्रक्रियालाई पनि सहजिकरण गरेको बताएको छ । कुनैपनि बीमितले आफू अस्पतालबाट डिस्चार्ज भएको वा रोग पत्ता लागेको ७ दिन भित्रमा लिखित वा मौखिक जानकारी दिनुपर्नेछ । इन्स्योरेन्सले अस्पतालको बिल भरपाई, रिपोर्ट र डाक्टरको प्रेस्क्रिप्सन सहितका कागजपत्र लगायतका सबै कागजात बुझाई दाबी गरेको एक हप्ताभित्र रकम भुक्तानी गरिसक्ने पनि जनाएको छ । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस: