×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

‘अक्सिजनको चरम अभाव भयो, नेपालमा स्वास्थ्य संकटकाल घोषणा गर्नुपर्छ’ : विज्ञ (भिडियो रिपोर्ट)

  • अर्थ सरोकार मल्टिमिडिया ब्यूरो
काठमाडौं । कोभिड-१९ संक्रमितको उपचारमा अक्सिजन तथा अक्सिजन सिलिण्डरको चरम अभाव भएको भन्दै अक्सिजन तथा अक्सिजन सिलिण्डरको व्यवस्थापन गर्न सरकारलाई सुझाव दिईएको छ । शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ महामारीका कारण उत्पन्न संकट समाधानका विषयमा विज्ञ तथा नीजि क्षेत्रका व्यक्तिहरुसँग छलफल गरेका थिए । सो छलफलमा बोल्दै विभिन्न क्षेत्रका व्यक्तिहरुले दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढीरहेको र गम्भिर बिरामीपनि बढेको भन्दै अक्सिजन र अक्सिजन सिलिण्डरको बन्दोबस्तमा सरकार गम्भिर हुनुपर्ने बताएका हुन् ।
नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश कुमार मोरले कतिपय जिल्लामा कतै अक्सिजन हुने सिलिण्डर नहुने र कतै सिलिण्डर हुने अक्सिजन नहुने समस्या रहेको भन्दै यस्तो समस्या हल गर्न ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले अक्सिजन आयात गर्न सरकारले भारत सरकारसँग सम्वाद गर्नुपर्ने बताउनुभयो । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले अक्सिजन फ्याक्ट्रीमा आफ्नो कम्पनीको सिलिण्डर भए भरिदिने र अर्को कम्पनीको भए नभरीकन फिर्ता पठाउने गरिएको भन्दै जुनसुकै कम्पनीको भएपनि भर्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो । अक्सिजनको आवश्यकता पुर्ति गर्नका लागि जि टू जिमार्फत् आयात गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । होम आइशोलेसनमा बस्नेहरुका लागि सल्लाह, सुझाव दिनको लागि चिकित्सकहरुको मोवाइल टिम बनाउनुपर्ने उहाँको भनाई छ । चेम्बरले ३०० थान अक्सिजन सिलिण्डर मगाएको र तिन/चार दिन भित्र सरकारी अस्पताललाई दिइने पनि उहाँले जानकारी दिनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले स्वास्थ्य संकटकाल लगाउने बारे सोच्नुपर्ने बताउनुभयो । स्वास्थ्य संकटकाल घोषणा गरे विश्वको ध्यान नेपालतिर आउने र प्राथमिकताको साथ उपचार गर्न सकिने उहाँको भनाई छ । अमेरिकी सरकारसँग नेपाल सरकारले अनुदान अथवा किनेरै भएपनि ल्याउने गरी भ्याक्सिन माग्नुपर्ने पनि बताउनुभयो । डाक्टर पढिरहेका अन्तिम वर्षका विद्यार्थीहरुलाई अस्पतालमा काम गर्न लैजानुपर्ने पनि उहाँले बताउनुभयो ।
बरिष्ठ चिकित्सक चक्रराज पाण्डेले विरामीको अवस्था हेरेर अस्पताल भर्ना गरिनुपर्ने बताउनुभयो । अनावश्यक भर्ना भएका विरामीहरुलाई भन्दा अतिआवश्यक अवस्थाका विरामीहरुलाई अस्पतालमा भर्ना गरेमा बचाउन सकिने उहाँको भनाई छ । गैर आवासिय नेपाली संघका पूर्व अध्यक्ष उपेन्द्र महतोले तत्कालै २० हजार अक्सिजन सिलिण्डर र ५०० भेन्टीलेटर सरकारले ल्याउनुपर्ने बताउनुभयो । ठुलो अक्सिजन प्लान्ट तत्कालै बनाउनुपर्ने आवश्यकता रहेको पनि उहाँको भनाई छ ।
बरिष्ठ चिकित्सक डा. भगवान कोईरालाले अक्सिजन उत्पादनमा काम गर्ने मानिसहरुलाई भ्याक्सिन तथा जोखिम भत्ताको व्यवस्था गर्नुपर्ने बताउनुभयो । बढीभन्दा बढीलाई भ्याक्सिन लगाउनुपर्नेमा उहाँको जोड छ । ९२ प्रतिशत कोरोना संक्रमित घरमै बस्ने गरेको भन्दै उहाँले चिकित्सकहरुले होम आइसोलेसनमा बसेकाहरुलाई सल्लाह सुझाव दिन नसकेकाले होम आइसोलेसनमा बस्नेहरुको लागि टेलिभिजनमार्फत् जानकारीमुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लकडाउनलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । घरमा आइसोलेसनमा बस्दा संक्रमण फैलिने खतरा भएकाले आइसोलेसन सेन्टरको संख्या बढाउनुपर्ने उहाँको भनाई छ । परिक्षणको दायरा बढाउनुपर्ने, आइसियु र भेन्टीलेटरको जनशक्ति बाहिरी जिल्लामा पनि पठाउनुपर्ने तथा हाईफ्लो अक्सिजन लिनुपर्ने बिरामीको लागि सुविधा सम्पन्न अस्पतालमा लैजाने व्यवस्था समेत गरिनुपर्ने उहाँको भनाई छ । अक्सिजन सिलिण्डर गायब गरिने गरेको भन्दै उहाँले प्रशासनले सिलिण्डर खोज्नुपर्ने पनि बताउनुभयो । अक्सिजन प्लान्ट निर्माणमा अनुदानको व्यवस्था गरेर नीजि क्षेत्रलाई काम गर्न दिए छिटो निर्माण हुन सक्ने उहाँको भनाई छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले तदारुकताका साथ काम गरिरहेको बताउनुभयो । कोभिडको गम्भिर बिरामीलाई सिनियर डाक्टरले नहेरी जुनियर डाक्टरहरुले हेर्ने गरिएको भन्दै त्यसो गर्नु नहुनेमा सचेत गराउनुभयो । मन्त्रालयले कोभिड को नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्यका पहिलेका कर्मचारीलाई फर्किन आग्रह गरिएको उहाँको भनाई छ । लिक्विड अक्सिजन तुरुन्त खरिद गर्न सक्ने अवस्था नरहेको पनि उहाँको भनाई छ ।
प्रधानमन्त्री ओलीले शनिबार सबै क्षेत्रका व्यक्तिहरु सँग कोभिड १९ रोकथाम तथा नियन्त्रणको सम्बन्धमा छलफल गर्नुभएको हो । प्रधानमन्त्री ओलीले अक्सिजनको आपुर्ति सहज बनाउने काममा लाग्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभएको थियो । हेर्नुहोस् भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: