- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५० करोड ६६ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ८.३६% ले बढी हो । यसमा कम्पनीले बिमांकीय मूल्यांकनपछि प्राप्त हुने मुनाफा भने गणना गरेको छैन ।
वित्तीय विवरण अनुसार कम्पनीको प्रतिसेयर आम्दानी भने १ रुपैयाँ ९६ पैसाले घटेर ९ रुपैयाँ ३८ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ९२ पैसा रहेको छ । यस्तै कम्पनीको रिजर्भ कोष पनि ५८.८८% ले घटेर १ अर्ब १२ करोड ३४ लाख ३६ हजार रुपैयाँ कायम भएको छ ।
कम्पनीको बिमा कोषको आकार ३२.२५% ले बढेर १ खर्ब ७ अर्ब ६१ करोड ७७ लाख रुपैयाँ पुगेको छ । खुद बिमा शुल्क पनि ३५.४९% ले बढेर २४ अर्ब ९५ करोड भन्दा बढी पुगेको छ ।