×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

मेलम्चीका बाढीपिडितलाई काभ्रेलीका तीन नगरपालिकाको आर्थिक सहयोग

काभ्रेपलाञ्चोक । गत साताको अविरल वर्षाका कारण आएको बाढीले सिन्धुपाल्चोकको मेलम्चीलगायत आसपासका क्षेत्रमा जनधनको ठूलो क्षति भएपछि काभ्रेपलाञ्चोकका तीन स्थानीय तहले आर्थिक तथा खाद्यान्न सहयोग गरेका छन् । जिल्लाको पनौती नगर, मण्डनदेउपुर नगर र नमोबुद्ध नगरपालिकाले सहयोग गरेका हुन् ।
पनौती नगरले मेलम्चीका बाढीपीडितका लागि राहतस्वरुप १० लाख आर्थिक सहयोग गरेको छ । बाढीका कारण सङ्कटमा परेका स्थानीयवासीलाई पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले मेलम्ची नगरपालिकालाई १० लाख सहयोग दिने निर्णय गरिएको नगरप्रमुख भीमप्रसाद न्यौपानेले बताउनुभयो । ‘छिमेकी जिल्लामा दुःखद् घटना हुँदा नगरको सहयोगले मेलम्चीमा केही राहत पुग्ने अपेक्षा गरेका छौँ’, उहाँले भन्नुभयो ।
मण्डनदेउपुर नगरले मेलम्चीलगायत सिन्धुपाल्चोकका बाढी प्रभावित तीन स्थानीय तहलाई आर्थिक सहयोग गरेको छ । नगरप्रमुख टोकबहादुर वाइबाले मेलम्ची नगरको ‘मेलम्ची बाढीपीडित तथा पुनःस्थापना कोष’ मा तीन लाख ५१ हजार, हेलम्बु गाउँपालिकालाई तीन लाख र थाङपालधाप गाउँपालिकाको कोषमा तीन लाख आर्थिक सहयोग गरेको जानकारी दिनुभयो ।
यस्तै नमोबुद्ध नगरले पनि पालिका-पालिकाबीच सहयोगको नयाँ शुरुआत भएको जनाउँदै मेलम्ची नगरलाई आर्थिक तथा खाद्यान्न सहयोग गरेको छ । नगरका जनप्रतिनिधि र कर्मचारीको सेवा-सुविधा तथा प्रकोप व्यवस्थापन विशेष कोषबाट रु तीन लाख तीन हजार ३३३ तथा ६०० केजी चामल, ४० लिटर तेल, ६० किलो दाल र २० किलो नुन मेलम्चीलाई सहयोग गरेको हो । ‘मेलम्चीलाई घाउ लाग्दा नमोबुद्धलाई दुख्छ, त्यसैले सहयोग गर्यौ’, नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले भन्नुभयो ।
मेलम्ची तथा याङ्ग्री र लार्के नदीमा आएको भीषण बाढीका कारण मेलम्चीलगायत आसपास क्षेत्रमा जनधनको ठूलो क्षति पुर्याएको थियो । पछिल्लो विवरणअनुसार हालसम्म बाढीमा तीन जनाको शव फेलापरेको छ भने मेलम्ची बजारका दर्जनौं घर डुबानका परेका छन् । दर्जनभन्दा बढी मानिस हराइरहेको जनाइएको छ । स्थानीय सार्वजनिक संस्था क्षतविक्षत भएका छन् । -रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: