काभ्रे । रोशी गाउँपालिकामा अवस्थित चर्चित तीनधारे झरना संरक्षण योजनाको लागि दुई पक्षीय सम्झौता गरिएको छ । बहुवर्षीय योजनाका लागि गाउँपालिका र संरक्षणकर्ता कम्पनीसँग सम्झौता गरिएको हो ।
सम्झौताअनुसार तीनधारे संरक्षण योजनाअनुरुप झरना क्षेत्रमा खहरेपाँगुदेखि झरनासम्म जाने सडक स्तरोन्नति, पैदलमार्ग, शौचालय निर्माण, रेलिङ, चेन्जिङ रुम निर्माणलगायतका काम सम्पन्न गर्नुपर्ने गाउँपालिका अध्यक्ष डिबी लामाले बताउनुभयो । उहाँका अनुसार उक्त योजनाको सगुन इनोभेटिभ जेभीसँग दुई करोड ८० लाखमा ठेक्का सम्झौता भएको हो । “हामी झरनाका लागि विनियोजित बजेटबाट त्यस क्षेत्रमा अन्य आन्तरिक पर्यटनको काम पनि गर्नेछौँ”, लामाले भन्नुभयो । दुई वर्षमा संरक्षणका संरचना सम्पन्न गर्ने सम्झौतामा आयोजनाका लागि गाउँपालिकाको ३० प्रतिशत र सङ्घीय सरकारको ७० प्रतिशत बजेट विनियोजन भएको जनाइएको छ ।
उक्त संरक्षणका संरचना निर्माण भएपछि पर्यटकीयस्थलको रुपमा विकसित हुँदै त्यस क्षेत्रको आयआर्जनमा थप टेवा पुग्ने अपेक्षा गरिएको बताइन्छ । गत वर्षमात्रै प्रचारमा ल्याइएको रोशी गाउँपालिकाको तीनधारे झरनामा आन्तरिक पर्यटकको निकै चहलपहल बढिरहेको छ । उक्त झरनासहित जिल्लाको तीन स्थानलाई पर्यटकीय क्षेत्रमा प्रवद्र्धन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत साल माघमा सूचीकृत गरेको थियो । साथै, मन्त्रालयले चार स्थानका लागि १३ करोड ९२ लाख बजेटसमेत विनियोजन गरेको थियो ।
मन्त्रालयले देशभरका स्थानीय तहको समन्वयमा विभिन्न परियोजना, आयोजना छनोटका क्रममा काभ्रेपलाञ्चोकको चार स्थान छनोट गरेको हो । पर्यटकीयस्थलको संरक्षण एवं भौतिक पूर्वाधार निर्माण गर्न छनोट गरिएका चार स्थानीय तहका चार स्थानका लागि योजनाअन्तर्गत भुम्लु गाउँपालिकाको भीमसेनस्थान–गढीडाँडा–साँगासोती पर्यटन पूर्वाधार विकासमा चार करोड ६२ लाख, रोशी गाउँपालिकास्थित तीनधारे झरना संरक्षण एवं पूर्वाधार विकासका लागि रु पाँच करोड, बनेपा नगरपालिकाको चण्डेश्वरीमा सिँढी निर्माणमा रु तीन करोड ३० लाख र चौंरीदेउराली गाउँपालिकास्थित साँगासोती–खाँडाखेबी युद्ध पर्यटन पदमार्गका लागि रु एक करोड बजेटसहित रहेका छन् ।
मन्त्रालयको पर्यटन पूर्वाधार विकास तथा पर्यटनउपज विकास साझेदारी -सञ्चालन तथा व्यवस्थापन_ निर्देशिका–२०७७ अनुसार प्रदेश र स्थानीय तहको लागत साझेदारी पर्यटकीय गन्तव्य पूर्वाधार कार्यक्रमअन्तर्गत भौतिक निर्माणलाई प्राथमिकता दिएको हो । सरकारले छनोट गरेका अधिकांश आयोजना पार्क, पिकनिकस्थल, मन्दिर, पर्यटकीयस्थलसम्म पुग्ने सडक, पदमार्ग, सङ्ग्रहालय, गुम्बा, स्मृति–पार्क, फनपार्कलगायत छन् ।
काभ्रेपलाञ्चोकका सांसद गोकुलप्रसाद बाँस्कोटाले स्थानीय तहका गन्तव्य पूर्वाधार विकासका लागि साझेदारी गराई सरकारले देशभरको स्थल छनोट गरी पर्यटकीय गन्तव्यको रुपमा पूर्वाधार विकास गर्नु पर्यटन क्षेत्रमा योजना थप भएको बताउनुभयो । “अन्य क्षेत्रका विकाससँगै जिल्लामा राष्ट्रिय गौरवका आयोजना निर्माणको प्रक्रिया अघि बढिरहेको छ, समयमै काम सक्नुप¥यो, योजना र बजेटको चिन्ता गर्नुपर्ने अवस्था छैन”, उहाँले भन्नुभयो ।-रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्