काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाका वासिन्दालाई खानेपानी उपलब्ध गराउन ‘मण्डनदेउपुर बृहत् सुक्खा क्षेत्र खानेपानी आयोजना’को त्रिपक्षीय सम्झौता गरिएको छ । नगरपालिका, भक्तपुर जिल्लास्थित सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र मण्डनदेउपुर बृहत् सुक्खा क्षेत्र खानेपानी उपभोक्ता संस्थाबीच उक्त आयोजना आगामी तीन वर्षभित्रमा सम्पन्न गर्ने गरी बिहीबार सम्झौता भएको हो ।
नेपाल सरकारको आर्थिक सहयोगमा सो आयोजनाबाट नगरपालिकाको १२ वटा वडामध्ये वडा नं १, २ र ३ बाहेक वडा नं ४, ५ र ६ का तल्लो भेग तथा अन्य वडाका सबै बासिन्दालाई पुग्ने गरी नौवटा वडाका कूल पाँच हजार ५०५ घरका ३० हजार २० जनालाई पानी पुग्ने अनुमान गरिएको छ । सो आयोजनाका लागि ८४ करोड ४० लाख ४९ हजारको लागत अनुमान गरिएकामा शर्मा लामा र रमण जेभीले ५३ करोड ५१ लाख ६६ हजार ७२४ को लागतमा निर्माण गर्ने गरी ठेक्का हात पारेको छ ।
नगरपालिकाका प्रमुख टोकबहादुर वाइबाले खानेपानीको समस्या बेहोर्दै आएका बासिन्दाका लागि खानेपानी उपलब्ध गराउने योजनाका साथ आयोजना शुरु गरिएको बताउनुभयो । “पहिलादेखि उपभोग गर्दै आएको पानीको मुहान २०७२ सालमा आएको भूकम्पले सुकाएपछि समस्यामा रहेका नगरवासीलाई खानेपानी उपलब्ध गराउन नगरपालिकाको तर्फबाट पलह गरेका छौँ ।” उहाँले भन्नुभयो, “अब आयोजना सम्पन्न भएपछि यहाँका बासिन्दालाई खानेपानीको अभाव हुनेछैन।”
सो आयोजना नगरपालिकाभित्रको सबैभन्दा ठूलो आयोजना भएको र बागमती प्रदेशसभा सदस्य वसुन्धरा हमागाईंको नेतृत्वमा अर्को करिब रु नौ करोडको लागतमा वडा नं १, २ र ३ का बासिन्दाका लागि ‘नालदुम नगरकोट खानेपानी बहुवर्षीय आयोजना’ समेत शुरु भइसकेको जानकारी दिँदैं उहाँले निर्वाचनको बेलामा गरिएका वाचा पूरा गर्ने क्रममा यस्ता आयोजना शुरु गरिएको बताउनुभयो ।
नगर उपप्रमुख निर्मला शाहीले नगरपालिकाको तर्फबाट नागरिकलाई थप सहजताका लागि उपभोक्ताले ब्यहोर्नुपर्ने आधा रकम नगरपालिकाले ब्यहोरेकाले अब त्यसलाई पूर्णता दिन एक घर बराबर एक हजार जम्मा गर्नुपर्ने र सो रकम समयमै उपलब्ध गराएर आयोजनालाई बेलैमा सम्पन्न गर्न सबैसंग सक्रिय सहभागिताको अपेक्षा गर्नुभयोे ।
सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख राजेन्द्र श्रेष्ठले तोकिएको तीन वर्षभित्रमा आयोजना सम्पन्न गर्नका लागि उपभोक्ता समिति र उपभोक्ताको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो । सङ्घीय सरकार वा निर्माण कम्पनी मात्रले आयोजना सम्पन्न गर्न नसक्ने भएकाले सरोकारवाला सबैको उत्तिकै साथ र सहयोगको खाँचो रहेको उहाँले उल्लेख गर्नुभयोे ।
सम्झौताअनुसार आयोजनाको कूल लागतको १० प्रतिशत उपभोक्ताले बेहोनुपर्नेमा आधा रकम नगरपालिकाले बेहोर्ने र बाँकी रकम उपभोक्ताले बेहोर्ने गरी रकम उठाउने काम भइरहेको उपभोक्ता समितिका अध्यक्ष रामबहादर तामाङले बताउनुभयो । यही साउनमा आयोजना स्वीकृत भएर २०८१ साल साउनमा सम्पन्न गर्नुपर्ने गरी सम्झौता भएको छ । नगरपालिकको वडा नं १० स्थित इन्द्रावती नदीको नारीखर्कबाट पानी लिफ्टिङ गरी थामडाँडा र वडा नं ६ र ७ को सिमानामा पर्ने इन्द्रावती नदीको सोतेबाट जितौरी पोखरीमा मुख्य ट्याङ्की बनाएर पानी वितरण गर्ने योजना रहेको छ । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्