Skip to content
LAXMI SUNRISE BANK

‘मनाङ र सिन्धुपाल्चोकको जनजीवन सहज बनाउन सरकारले विशेष कार्यक्रम ल्याउँछ’ : गृहमन्त्री मन्त्री खाँड (भिडियो रिपोर्ट)

अर्थ सरोकार

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले मनाङ र सिन्धुपाल्चोकमा विशेष प्याकेज राखेर त्यहाँका मानिसको जीवन रक्षा गर्नुपर्ने बताउनुभएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उहाँले मनाङ र सिन्धुपाल्चोकमा विशेष प्याकेसहितका कार्यक्रम राखेर त्यहाँका मानिसको जीवन रक्षा गर्नुपर्ने बताउनुभएको हो । गृहमन्त्री खाँडले नागरिकको जीवनरक्षाका लागि नै राज्य बनेको भन्दै जनता पहिलो प्राथमिकतामा हुने बताउनु भयो । नेपालमा प्राकृतिक विपद्हरु हरेक वर्ष कल्पना गरेभन्दा धेरै आइरहेको हुँदा पूर्व सावधानी अपनाउनु पर्ने बताउनुभयो ।

गृहमन्त्री खाँडले वातावरणमा आएको परिवर्तन र पृथ्वीमा बढिरहेको तापक्रमको वृद्धिले पनि चुनौतिहरु थपिएको बताउनुभयो । विकास गरौँ भन्ने सबैको चाहना भए पनि जनतालाई सेवा र सुविधा पुर्याउनु पर्ने बाध्यताले प्राकृतिक विपद्का घटनाहरु भइरहेको गृहमन्त्री खाँडले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीलाई तीव्र रुपमा विकास चाहिएको छ, सबै जनतालाई सेवा सुविधा चाँडै दिऔँ भनेर सोचिरहेका छौँ, यसले पनि कतिपय ठाउँमा प्राकृतिक विपद्हरु बाढी पहिरो वा डुबान भोग्नु परेको छ, नारायणगढ मुग्लिन सडकमा यति ट्राफिक चाप बढ्यो । त्यसैले त्यो सडक साँघुरो भयो । यसलाई फोरलेन बनाउन सकियो भने मात्र पनि जनतालाई सुविधा हुन्थ्यो भनेर पहाड तासियो । झनै भिरालो भएपछि अहिले पहिरो बढेको छ । हाम्रो चाहना विकास र समृद्धिको हो, तर यो चाहना हाम्रो भूगोलअनुसार कतिपय ठाउँमा मिलेको छैन ।’

सिन्धुपाल्चोकको बाढीमा परेका अधिकांश घरहरु नक्शा पास नभइ बनाएको पनि बताउनुभयो । सरकारले घटनाको गहन अध्ययन भन्दा तत्काल जीवनको रक्षा गर्ने कुरालाई प्राथमिकतामा राखेर काम गरेको बताउनुभयो । उहाँले मुलुकको कमजोर भूबनावटले गर्दा भौतिक पूर्वाधराको कुरामा पनि गम्भीर हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सिन्धुपाल्चोकको बाढीमा अधिकांश घरहरु नक्शा पास बिनै बनेका रहेछन्, सरकारले नीति नियम बनाएपनि स्थानीय सरकारले पास गरिदिँदो रहेछ, अर्कोकुरा पहाडी भूभागमा बाटो बनाउने प्रतिष्पर्धा जस्तै छ, पहिला मानिसले खन्थे अहिले मेसिनले खन्छ, बाटो बन्छ । मुलुकको कमजोर भूबनावटले गर्दा भौतिक पूर्वाधमरको कुरामा पनि गम्भीर हुनुपर्छ, यसमा बहस पनि आवश्यक छ र कार्यन्वयन गरेर अघि बढ्नुपर्छ ।’ सिन्धुपाल्चोक र मनाङमा त्यहाँको जीवनलाई सहज कसरी बनाउने भन्ने बारेमा सरकारले विशेष कार्यक्रम ल्याउने बताउनुभयो । साथै मेलम्ची खानेपानीको सुरुङ ट्रायल गर्नका लागि खोलिए पनि बन्द गर्दा भाग्यवश क्षति नभएको बताउनुभयो । हेर्नुहोस् भिडियो :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK