×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

किसान र मजदुरको हित भयो भने ९० प्रतिशत जनताको हित हुन्छ, नत्र फेरि मुलुकले दुःख पाउँछ’ : रामनारायण बिडारी (भिडियो रिपोर्ट)

काठमाडौं । राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले वर्तमान सरकारले किसान र मजदुरको हितमा काम गर्नुपर्ने बताउनुभएको छ । बिहीवारको राष्ट्रिय सभा बैठकमा बोल्दै बिडारीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले किसान र मजदुरहरुको हित र कल्याणमा काम गर्नुपर्ने बताउनुभएको हो । उहाँले विगतका सरकारले किसान तथा मजदुरलाई नेपालमा काम गर्न दिने वातावरण बनाउन नसकी विदेश पलायन गराएको भन्दै वर्तमान सरकारले त्यसलाई रोक्नुपर्ने बताउनुभयो ।

उहाँले इन्साफ हुने र देशमा विकास हुने व्यवस्थाको निम्ति काम गर्न पनि अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो  ‘इन्साफे व्यवस्थाको निम्ति, विकासे व्यवस्थाको निम्ति, फलाउने किसान, बनाउने मजदुरहरुको हित र कल्याणको निम्ति, किसान र मजदुरको हित र कल्याण भयो भने करिव करिव ९० प्रतिशत जनताको हित हुन्छ । ति किसान, मजदुरलाई नेपालमा काम गर्न दिन नसकेर विदेश निर्यात गर्ने यस प्रकारको चलन अगाडीको सरकारले गरे । अब यो सरकारले त्यस प्रकारको कदमलाई सच्याएर इन्साफे, विकासे व्यवस्था गरौँ । यही शुभकामना छ । नत्र फेरि मुलुकले दुःख पाउँछ ।’

उहाँले विगतको सरकारले नेपाली नागरिकलाई रैति बनाएको पनि बताउनुभयो । नेपाली नागरिकलाई नागरिकता, लालपूर्जा र सिफारिसमा अड्काएको उहाँले बताउनुभयो । नागरिकलाई विभिन्न सुविधा दिने भनेर झुक्याएको पनि उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो-‘विगतका जम्मै सरकारले रैति बनाउन खोज्यो । जनता बनाउन दिएन । कहिले लालपूर्जा अड्काईदिन्छ । कहिले नागरिकता अड्काईदिन्छ । कहिले सिफारिस अड्काईदिन्छ । कहिले सुविधा दिन्छु भनेर नदिएर अड्काईदिन्छ । कहिले अधिकार खोसेर जनतालाई आफ्नो वशमा राखिरहन्छ । नियन्त्रणमा राखिराख्छ ।’

आजसम्मका सरकारले भूमिहिनलाई नागरिकता नदिएर सुकुम्बासी खेती गरिरहेको पनि बिडारीले बताउनुभयो । भूमि सम्बन्धि समस्या समाधानमा सरकारले ध्यान दिनुपर्नेमा उहाँको जोड छ । प्रतिनिधि सभा पुनस्र्थापनाको सन्दर्भमा सर्वोच्च अदालतको फैसला संसारको लागि नमुना लायक भएको भन्दै यस नजिरलाई विश्वले नमूना बनाउने उहाँले जिकिर गर्नुभयो । उहाँले भन्नुभयो-‘अहिलेको अदालतको व्याख्या संसारलाई नमूना लायक छ । हामी अमेरिकाको संविधान, बेलायतको संविधान, भारत, पाकिस्तानको संविधानको नजिरहरु यहाँ पढ्दै थियौँ । अब बेलायतले नेपालको नजिर पढ्दैछ । अब संसदीय प्रणालीमा यो नजिरहरुको व्याख्या हुन्छ । र त्यसलाई साभार गरिन्छ । विश्वका अरु देशले यसलाई नमूना बनाउँदछन् ।’ प्रतिपक्षी दल नेकपा एमालेले बाँदरे जुलुस निकालेको टिप्पणी गर्दै उहाँले जुलुस गरेर कोरोनाको रोपाइँ गरिएको बताउनुभयो । हेर्नुहोस् भिडियो :

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: