×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

६१ लाखको लागतमा पुनःनिर्माण गरिएका बौद्ध बिहार गुम्बाको काम पाँच महिनामै सकियो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

६१ लाखको लागतमा पुनःनिर्माण गरिएका बौद्ध बिहार गुम्बाको काम पाँच महिनामै सकियो

Artha Sarokar

२१ श्रावण २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बागलुङ । पुनःनिर्माण थालेको बौद्व गुम्बा पाँच महिनामै सम्पन्न गरिएको छ । भूकम्पले क्षति पुर्याएको बागलुङ नगरपालिका–११ रायडाँडास्थित शान्ति बौद्ध बिहार गुम्बा पुनःनिर्माण प्रारम्भ गरेको पाँच महिनामै सकिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यालयले जनाएको छ ।

विसं २०७२ को भूकम्पले क्षति पुर्याएक उक्त बौद्ध गुम्बाको पाँच वर्षपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माण गर्न सुरु गरेको थियो । रायडाँडाको हलहलेस्थित रहेको गुम्बाको पुनःनिर्माण प्राधिकरण र शान्ति बौद्व बिहारको साझेदारीमा पुनःनिर्माण गरिएको हो ।

विसं २०६२ मा स्थापना गरिएको उक्त गुम्बा २०७० मा विधिवत दर्ता भएर सञ्चालनमा आए पनि २०७२ को भूकम्पले क्षति  पुर्याएको  थियो । बागलुङ–११ रायडाँडाको वडा कार्यालयको निरन्तरको पहलमा गुम्बा पुनःनिर्माण गर्न प्राधिकरणले आर्थिक वर्ष २०७७/७८ मा सम्झौता गरेको थियो ।

जिल्लामा निजी आवास, सडक, एकीकृत बस्ती तथा पुल पुनःनिर्माण गर्दै आएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइले यसपटक बौद्व गुम्बाको पुनःनिर्माण गरेको बागलुङका एकाइ प्रमुख रेणुका पाण्डेले जानकारी दिनुभयो । पाण्डेका अनुसार ६१ लाखको लागतमा ८०० वर्गमिटर गुम्बा निर्माण गरिएको हो । ६१ लाखमध्ये प्राधिकरणले ४० लाख र २१ लाख स्थानीय गुम्बा व्यवस्थापन समिति तथा श्रमदानबाट जुटाएर निर्माण गरिएको हो ।

एक भिक्षुले नियमित पाठपूजा गर्दै आएको उक्त गुम्बा भूकम्पले क्षति पुर्याएपछि जीर्ण अवस्थामा रहेकाले पुनःनिर्माणका लागि पहल थालिएको थियो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र स्थानीय जनश्रमदानमा पुरानो गुम्बा भत्काएर भूकम्पप्रतिरोधी नयाँ गुम्बा निर्माण गरिएको शान्ति बौद्ध बिहार राडयाडाँडाका निर्माण समितिका अध्यक्ष रणबहादुर थापाले जानकारी दिनुभयो ।

पहिला सानो ढुङ्गा माटाको गुम्बा भत्किएका कारण पुनःनिर्माण गरिएको हो । गुम्बा निर्माणका लागि अपुग २१ लाख रकममध्ये केही जनश्रमदान, केही गुम्बा व्यवस्थापन समितिबाट जुटाइएको र १० लाख बजेट अपुग भएकामा सरसापट गरेर सम्पन्न गरिएको हो । कोरोना महामारी हटेपछि उक्त अपुग भएको बजेट जुटाइने बागलुङ–११ रायडाँडाका वडाध्यक्ष ज्ञानेन्द्र गौतमले जानकारी दिनुभयो । नयाँ निर्माण गरेको गुम्बामा पुरानो गुम्बामा रहेको बुद्धको मूर्ति प्रतिस्थापन गरिने निर्माण समितिले जनाएको छ ।-रासस

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी