×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फार्मेसीमा औषधि नहुँदा प्रभावकारी भएन स्वास्थ्य बीमा कार्यक्रम

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

फार्मेसीमा औषधि नहुँदा प्रभावकारी भएन स्वास्थ्य बीमा कार्यक्रम

Artha Sarokar

११ भाद्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

चितवन । सरकारले बीमा कार्यक्रममार्फत सर्वसाधारणलाई एक हजारभन्दा बढी प्रकारका औषधि दिने भनिएपनि भरतपुर अस्पतालको फार्मेसीमा भने आधा औषधि पनि पाउन सकिँदैन । अस्पतालको फार्मेसी व्यवस्थित हुन नसक्दा यो समस्या आएको हो ।

एक महिनाअघिसम्म अस्पतालमा फार्मेसी पढेकालाई व्यवस्थापनको जिम्मा दिनुपर्ने भन्दै आन्दोलन नै भएको थियो । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार हाल ४१९ प्रकारका औषधि मात्रै रहेका छन् । उहाँका अनुसार साउन ६ गते फार्मेसीको स्टोरमा बीमाका औषधि २४४ प्रकारका मात्र रहेका थिए । अहिले औषधि विस्तारै बढाउँदै लगिएको हो ।

अस्पतालले औषधिको माग पूर्तिका लागि गत माघ मसान्तमा ९२२ प्रकारका औषधि र २६९ प्रकारका सर्जिकल सामग्रीको ठेक्का सम्झौता गरेको थियो । औषधि ल्याउनका लागि १० वटा संस्था र सर्जिकल सामान ल्याउन छवटा संस्थासँग सम्झौता भएको थियो । ठेक्का सम्झौता भए पनि ठेकेदारले औषधि समयमा ल्याउन नसक्दा समस्या आएको फार्मेसीका एक कर्मचारी बताउँछन् । उहाँका अनुसार अहिले फार्मेसी स्टोरले ६०० प्रकारका औषधि माग गरिरहेको छ । माग गरिएका औषधि ४५ प्रतिशत मात्रै आउँदा बिरामीले पाउन नसकेको उहाँको भनाइ छ ।

अस्पतालका सूचना अधिकारी पौडेलका अनुसार समयमा औषधि नल्याउने ठेकेदार कम्पनीलाई आदेश गरेको समयभित्र नल्याएको भन्दै पत्राचारसमेत गरिएको छ । ठेक्का साकार गरेर समयमा औषधि नल्याउने महेश मेडिसिन, मेडसेन्स फर्मा, सागर मेडिकल हल, डिजिटल फार्मेसी, पायनियर मेडिसिन स्टोर्स, मेडिक्राफ्ट हेल्थ इनोभेसनलाई ताकेता गरिएको उहाँले जानकारी दिनुभयो ।

इनोभेसन सर्जिकल सामग्री ल्याउने संस्था हो । बीमामार्फत औषधि पाइने भन्दै लामो लाइनमा बस्ने सेवाग्राही काउन्टरमा पुुग्दा औषधि नपाएपछि रित्तो हात फर्किनुपरेको छ । अस्पतालको मुख्य आम्दानीको स्रोत बनेको बीमा कार्यक्रमप्रति ध्यान नदिँदा अस्पतालको आम्दानी मात्रै गुमेको छैन, सेवाग्राही प्रत्यक्षरुपमा मर्कामा परेका छन् । पछिल्लो समय मेडिकल सुपरिटेन्डेन्ट स्थायित्व नहुँदा अस्पतालका सबै विभाग कमजोर बन्दै गएका छन् ।

अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले फार्मेसीमा आवश्यक औषधि व्यवस्था गर्न भनिएको भए पनि हुन नसकेको स्वीकार्नुुभयो । के कति कारणले हुन नसकेको हो अनुुगमन गरिने उहाँको भनाइ छ । यो सङ्घीय अस्पताल हो । छ सय शय्याको यस अस्पतालमा चितवनसहित १९ जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन् । -रासस

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी