कञ्चनपुर । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले गत आर्थिक वर्षमा लक्ष्यभन्दा एक करोड ७१ लाख ३५ हजार बढी राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७७/०७८ मा ३५ करोड ६७ लाख ८८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा सो अवधिमा कार्यालयले ३७ करोड ३९ लाख २३ हजार राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको तुलनामा ४ दशमलव ८० प्रतिशत बढी हो ।
भन्सार अधिकृत प्रमानन्द जोशीका अनुसार सङ्कलित राजस्वमध्ये भन्सारतर्फ १७ करोड ४६ लाख ९९ हजार, मूल्य अभिवृद्धिकरतर्फ १५ करोड ३२ लाख ६७ हजार, अन्तःशुल्कतर्फ ८५ लाख ८६ हजार, निर्याततर्फ एक लाख ८२ हजार, कृषि शुल्कतर्फ दुई करोड ४४ लाख ६५ हजार र अन्य शीर्षकमा एक करोड २७ लाख २४ हजार रहेका छन् ।
आर्थिक वर्ष २०७६/७७ मा सो कार्यालयले लक्ष्यको तुलनामा ५४ प्रतिशत मात्र राजस्व सङ्कलन गर्न सकेको थियो । सो अवधिमा ४८ करोड ६८ लाख ७५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा २६ करोड २८ लाख ९३ हजार मात्र सङ्कलन गरेको कार्यालयले जनाएको छ ।
भन्सार अधिकृत जोशीले भन्नुभयो, “अघिल्लो वर्ष कोरोना महामारीका कारण सीमा नाका बन्द हुँदा राजस्व सङ्कलनको कार्य प्रभावित भएको थियो ।” उहाँका अनुसार चालु आवमा कार्यालयले ४२ करोड ७७ लाख ३० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ । “वैशाखदेखि साउन महिनाको अवधिमै रु सात करोड राजस्व उठेको छ,” उहाँले भन्नुभयो, “यसै अनुपातमा राजस्व सङ्कलन हुने हो भने लक्ष्यमा पुग्न कुनै कठिनाइ छैन ।”
सेवाग्राहीलाई सहज रुपमा सेवा उपलब्ध गराउनका लागि भन्सार कार्यालय हाताभित्रै बैंकको शाखा स्थापना गरिएको छ । भन्सार तिर्ने सामानको कर्मचारीले लाग्ने राजस्व निर्धारण गरेपछि सेवाग्राहीले बैंकमा गएर राजस्वबापतको रकम बुझाउने गरेका छन् । कोरोना सङ्क्रमणको डर र थोरै जनशक्ति भएकाले राजस्व सङ्कलनमा समस्या भइरहेको उहाँको भनाइ छ ।
भारततर्फ थोरै मात्र सामान निर्यात हुने गरेको छ । निर्यातको तुलनामा आयात हुने सामान अधिक रहने गरेको छ । भारतमा हस्तकलाका सामान, जडीबुटी, पिना, रिठोलगायत निर्यात हुने गरेको छ । आयात हुने सामानमा गुँद, चिनी, हार्डवेयर, विद्युत्, इलेक्ट्रोनिक, कपडा र खुद्रा सामानलगायत रहेका छन् ।
महाकाली नदीमाथिको पुलमा ठूलो गाडी सञ्चालन गर्न नदिइने गरेका कारण भारतबाट साइकल र मिनी ट्रकमा सामान ल्याउने र लैजाने कार्य हुँदै आएको छ । सुरक्षा निकायको सक्रियताका कारण सीमा क्षेत्रमा हुने तस्करीको कार्यमा भने निकै कमी आएको छ ।-रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्