×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लिभिङ आइसिटीले आयोजना गरेको माइ सेकेन्ड टिचर ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिताका विजेता घोषणा

GLOBAL IME BANK
SHREE KESH

लिभिङ आइसिटीले आयोजना गरेको माइ सेकेन्ड टिचर ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिताका विजेता घोषणा

३१ श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: ४ मिनेटभन्दा कम

काठमाडौं । लिभिङ आइसिटीले आयोजना गरेको माइ सेकेन्ड टिचर ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिताका विजेताहरुको घोषणा गरिएको छ । शुक्रबार सोल्टी होटलमा आयोजना भएको विशेष कार्यक्रममा विजेताहरुलाई पुरस्कार प्रदान गरिएको छ । प्रतियोगिताको प्रथम पुरस्कार सेन्टजेभियर्स कलेज, माइतिघरमा १२ कक्षामा अध्ययनरत नेहा गिरीले हात पारेकी छन् । उनले ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ शीर्षकको निबन्ध प्रतियोगिताको सर्वोकृष्ट रचना हुदै एक लाख रुपैया जितेकी हुन् । दोस्रो हुनेमा बगंगलामुखी राधाकृष्ण थारु उच्च माध्यमिक विद्यालय गुलेरिया-६ बर्दियामा कक्षा १० मा अध्ययनरत प्रश्ना सुवेदी र रत्न राज्य माध्यमकि विद्यालय, बानेश्वरबाट यसवर्ष एसइई दिएका ऋदम भेटवाल रहेकी छन् । प्रश्नाले ‘पूरा होस् मेरो सपनाः डिजिटल नेपालको’ शीर्षकमा कविता लेखेकी थिइन भने ऋदमले ‘मेरो सपनाको डिजिटल नेपाल’ निबन्ध लेखेकी थिइन । उनीहरुले जनही ५० हजार नगद पुरस्कार पाएका छन् ।

तेस्रो हुने चार जनामा मनकामना माध्यमिक विद्यालय बिर्तामोड, झापाबाट एसइई दिएका असिम डंगोल, त्रि-पद्म विद्याश्रम माध्यमिक विद्यालय पुल्चोक, ललितपुरबाट एसईई दिएका अनिश श्रेष्ठ, बुढानिलकण्ठ स्कुल, काठमाडौंमा कक्षा १० मा अध्ययनरत उद्धव ठाकुर र बृहस्पति विद्यासदन, नक्साल काठमाडौंमा कक्षा ७ मा अध्ययनरत विशेष्ता चौधरी रहेका छन् । असिमले ‘डिजिटल नेपालः एक अमुक सपना’ शीर्षकको कविता लेखेका थिए भने अनिषले ‘सुन्दर शान्त विशाल, मेरो परिकल्पनाको डिजिटल नेपाल’ शीर्षकको भिडियो प्रिजेन्टेशन बनाएका थिए । त्यस्तै उद्धवले ‘वे टु डिजिटल नेपाल’ शीर्षकको निबन्ध र विशेष्ताले ‘माइ डिजिटल नेपाल’ थिममा आर्ट गरेकी थिइन । त्यसैगरी प्रतियोगितामा विद्यार्थीको एक समूहले ‘डिजिटल र समृद्ध नेपाल’ शीर्षकको फ्रेमवर्क तयार गरेका थिए । इभ्यालुएसन प्यानलले यस फ्रेमवर्कलाई विशेष सम्मान गर्ने निर्णय स्वरुप काठमाडौं मोडल सेकेन्डरी स्कुल, बागबजारका प्रशन्नकुमार रेग्मी, शशांक न्यौपाने, आर्या प्रसाँई र अमिम सिंहलाई ‘स्पेसल मेन्सन पुरस्कार’बाट सम्मानित गरिएको छ । उनीहरुले ५१ हजार एक सय ५१ रुपैयाँ राशीको विशेष पुरस्कार हात पारेका छन् ।

यसबाहेक विजेताले स्पोन्सर कम्पनीहरूबाट आकर्षक अफरहरु पनि प्राप्त गर्ने छन् । डिसहोमले सम्पुर्ण विजेतालाई एक वर्षको इन्टरनेट र शिर्ष प्रायोजक माइ सेकेण्ड टिचरले विशेष गिफ्ट प्रदान गरेको छ । नेपालमै पहिलो पटक सूचना तथा सञ्चार प्रविधिका विषयमा नयाँ पुस्तालाई जागरुक गर्ने उद्देश्यले ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ शीर्षकमा गत असार १ गतेदेखि असार ३१ गतेसम्म उक्त प्रतियोगितामा भाग लिन आह्वान गरिएको थियो । प्रतियोगितामा निवन्ध, कविता, लेख, चित्र, वक्तृत्व, भिडियो प्रिजेन्टेशन मार्फत ३५० बढीको सोच तथा परिकल्पना प्राप्त भएका थिए । प्रतियोगितमा सहभागी ३५० बढी परिकल्पनाबाट उत्कृष्ट छनोट गर्न ११ जनाको मूल्यांकन समिति बनाइएको थियो । मूल्यांकन समितिका सदस्यहरुले प्रत्येक रचनालाई मूल्यांकन गरेर सर्ट लिष्ट गरेका थिए । मूल्यांकन समितिको विभिन्न चरणको छनौट प्रकृयाबाट उत्कृष्ट ८ रचनालाई पुरस्कार वितरण गरिएको हो । विजेतालाई राष्ट्रिय सभाका सदस्य तथा दिगो विकास तथा शुशासन समितिका सभापति तारादेवी भट्ट, प्रमुख सुचना आयुक्त महेन्द«मान गुरुङ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.बैकुष्ठ अर्याल, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका सचिव शुरेश आचार्य, पुर्वमन्त्री गणेश शाहलगायतले पुरस्कार प्रदान गरेका थिए ।

आयोजित विशेष कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथी तारादेवी भट्टले डिजिटल नेपालको अभियानलाई सार्थक तुल्याउन बालबालिकाका परिकल्पनाहरुले सरकारलाई अघि बढ्न प्रेरित गर्ने बताकी छिन् । उनले नयाँ पुस्ताका विद्यार्थीले डिजिटल नेपालको बारेमा धेरै ज्ञान राखेको र पुरानो पुस्तालाई सिकाउन सक्ने क्षमता रहेको आफूले पाएको बताकी छिन् । यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.बैकुष्ठ अर्यालले नेपाल सरकारको डिजिटल फ्रेमवर्क कार्यान्वयन गर्नका लागि सबैतिरबाट सहभागिता र सहयोग हुनुपर्ने बताए । ‘डिजिटल नेपालको फ्रेमवर्क कार्यान्वयन गर्ने भनेको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको मात्र हो भन्ने सोचिन्छ तर त्यस्तो होइन’, उनले भन्नुभयो, ‘त्यहाँ रहेका ८० क्षेत्रले सबैतिर समेट्छन् ।’

प्रमुख सुचना आयुक्त महेन्द्रमान गुरुङले अहिलेको कोरोना संक्रमणको अवस्थामा सबैभन्दा धेरै फाइदा लिएको क्षेत्र भनेको सूचना तथा सञ्चार प्रविधि रहेको बताउँदै यसले हरेक क्षेत्रलाई सहज काम गर्न सहयोग गरेको बताएका छन् । उनले नेपालमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास गर्न गाह्रो भएको र यसलाई सहज बनाउन नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्क ल्याएको बताउनु भयो । नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासको लागि यो फ्रेमवर्क बनाएरमात्र नहुने कार्यान्वयमा लैजान अति आवश्यक भएको बताउनु भयो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव शुरेश आचार्यले नेपालका सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासको लागि शिक्षा र प्रविधिलाई सँगसँगै जोडेर लैजानुपर्ने बताउनुभयो । विभिन्न ५ चरणको छनौट पश्चात सर्वोत्कृष्टहरु छानिएको समितिका संयोजक बिरेन्द्र मिश्रले बताउनु भयो । मिश्रले भन्नुभयो ‘धेरै जनाको उत्कृष्ट सोच तथा परिकल्पना विभिन्न विधामा प्राप्त गरेका थियौ, धेरै चरणको छनौट पश्चात हामीले उत्कृष्ट ८ छानेका छौ तर अझ धेरै राम्रा रचना र परिकल्पनाहरु रहेका थिए ।’

सूचना तथा सञ्चार विज्ञ तथा यस प्रतियोगितका सल्लाहकार मनोहर भट्टराईले नेपालको डिजिटल फ्रेमवर्क बनाउन धेरै मेहनत र समय लागेको बताउँदै यसको कार्यान्वयन पनि क्रमशः हुने बताउनु भयो । उनले यो फ्रेमवर्कले धेरै कुरा समेटेको, केही छुटेको पनि हुन सक्ने भन्दै यसलाई थप परिस्किृत गर्दै लैजानु पर्ने बताउनुभयो । मेरो डिजिटल नेपाल मेरो परिकल्पना कार्यक्रमले बन्द कोठाभित्र रहेका हजारौ विद्यार्थीहरुलाई भोलीको समृद्ध नेपाल बनाउनको लागि सोच्न, अध्ययन गर्न र सरकार तथा सरोकारवालालाई जगाउन सहयोग गरेको आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताउनुभयो । लिभिङ विथ आइसिटीले आयोजना गरेको यस कार्यक्रममा माई सेकेण्ड टिचर मुख्य प्रायोजकको रूपमा रहेको छ भने पावर्ड बाई पार्टनरमा जेनेस सोलुसन, बैकिङ पार्टनरमा एनआइसी एसिया बैंक, पेमेन्ट पार्टनर प्रभु पे, नलेज पार्टनर एसीसीए, प्रविधि पार्टनरमा फ्युज मेशिन्स र इन्टरनेट पार्टनरमा डिशहोम फाइबरनेट रहेका छन् । त्यस्तै नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, क्यान महासंघ, प्याब्सन, वुमन इन आइटी, नेपाली पात्रो, आइसिटी समाचार लगायतको सहयोग रहेको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: