×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

म्याग्दीमा तीनवटा जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा, स्थानिय भन्छन्-‘गाउँका कच्ची घर पक्कीमा रूपान्तरण भइरहेको छ’

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

म्याग्दीमा तीनवटा जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा, स्थानिय भन्छन्-‘गाउँका कच्ची घर पक्कीमा रूपान्तरण भइरहेको छ’

१९ श्रावण २०७८, मंगलवार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा ४९ मेगावाट क्षमताका तीनवटा जलविद्युत् आयोजना निर्माण भएका छन् । कालीगण्डकी, म्रिस्ती, नीलगिरि, घलेम्दी, रेले र नारच्याङ खोलामा थप ११६ मेगावाट क्षमताका तीनवटा आयोजना निर्माणाधीन र १३९.९४ मेगावाट क्षमताका चारवटा आयोजना निर्माणको प्रक्रियामा छन् । निर्माण भएका र निर्माणका क्रममा रहेका जलविद्युत् आयोजनाले नारच्याङमा चहलपहल र आर्थिक गतिविधि बढाएको छ । वडाध्यक्ष चन्द्रप्रकाश फगामी भौतिक पूर्वाधार, सामाजिक, आर्थिक, कृषिलगायत समग्र विकासमा जलविद्युत् आयोजनाहरुबाट महत्वपूर्ण योगदान भएको बताउनुहुन्छ ।

“कल्पनासम्म नगरेको अक्करे भिर छिचोलेर गाडी गुडेका मात्र छैनन्, घरघरमा रोजगारी र आम्दानीको अवसर सिर्जना भएको छ”, उहाँले भन्नुभयो, “जलविद्युत् आयोजना भित्रिएसँगै गाउँका कच्ची घर पक्कीमा रूपान्तरण भइरहेका छन् ।” जग्गाको भाउ आकासिएको छ । चार सय ५० घरधुरीमा एक हजार ६०० जनसङ्ख्याको बसोबास भएको नारच्याङका जलविद्युत् आयोजनाहरुमा काम गर्न त्योभन्दा बढी सङ्ख्यामा मानिस बाहिरबाट आएका छन् । वडाध्यक्ष फगामीका अनुसार प्रतिरोपनी रु ३० देखि ३५ लाखमा जग्गा खरिदबिक्री हुन थालेको छ । अवसर र रोजगार खोज्दै शहर बजार, पसेका र विदेसिएकाहरु गाउँ फर्किन थालेका छन् । बसाइँसराइ रोकिएको छ । गाउँमै प्राविधिक विषयको विद्यालय सञ्चालन तथा स्वास्थ्य संस्थाको भवन बनेका छन् ।

जलविद्युत् आयोजनाले निर्माण गरेको सडक, बेली ब्रिज, भवनलगायत पूर्वाधारले स्थानीयवासीलाई सुविधा पुगेको छ । जग्गाको मुआब्जा, व्यापार, कृषि, पशुपालन, होटेल, रेष्टुरेन्ट, ठेक्का–पट्टा, ढुवानी, यातायात व्यवसाय, सेयर लगानी र ज्याला मजदुरीबाट गाउँलेको आर्थिक हैसियत फेरिएको स्थानीय अगुवा तेज गुरुङले बताउनुभयो । “प्रत्यक्ष र अप्रत्यक्षरूपमा गाउँमै धेरै सम्भावना र अवसर सिर्जना भएको छ”, उहाँले भन्नुभयो, “आयोजनाहरुले सामाजिक उत्तरदायित्वका कार्यक्रमबाट शिक्षा, स्वास्थ्य, सीप विकास र पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको छ ।” निर्माणका क्रममा हुने वातावरणीय क्षतिको असर न्यूनीकरणका लागि जलविद्युत् आयोजनाहरुले कूल लागतको शून्य दशमलव ७५ प्रतिशत सामाजिक उत्तरदायित्वका कार्यक्रमका लागि विनियोजन र खर्च गर्नुपर्ने हुन्छ । जलविद्युत् आयोजनाले सरकारलाई तिर्ने रोयल्टी (सलामी दस्तुर) मध्ये सङ्घीयलाई ५०, प्रदेश र पालिकालाई २५/२५ प्रतिशतका दरले बाँडफाँड हुने संवैधानिक व्यवस्था छ । सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत नारच्याङका सामुदायिक विद्यालयका निजी स्रोतका शिक्षकको तलबभत्ता, वृक्षरोपण, सीपमूलक तालीम, जैविक विविधताको खोज अनुसन्धान र संरक्षण, पर्यटन प्रवद्र्धनलाई सहयोग पुग्ने कार्यक्रम गरिएका छन् ।

हालै निर्माण सकिएको म्रिस्तीखोला जलविद्युत् आयोजनाको वातावरणीय एकाइका प्रमुख रामकुमार खड्काका अनुसार प्रभा माविका तीनजना निजी स्रोतका शिक्षकका लागि सात वर्ष तलबभत्ता उपलब्ध गराइएको थियो । प्रभा माविले दुई वर्षदेखि हाइड्रो इन्जिनीयरिङ विषयको पठनपाठन सञ्चालन गरेको छ । क्रान्ति, नीलगिरि, धवलागिरि र नारच्याङ आधारभूत विद्यालयका प्रावि तहका एक/एकजना शिक्षकलाई सात वर्ष सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत म्रिस्तीखोलाले तलबभत्ता व्यवस्था गरेको थियो । नारच्याङ स्वास्थ्य चौकीको भवन निर्माणका लागि जग्गा खरिद गर्न रु पाँच लाख, शिवालय मन्दिर निर्माणमा रु पाँच लाख सहयोग गरेको म्रिस्तीखोलाले स्थानीयवासीलाई घरबास, च्याउ खेती, सवारी चालक, इलेक्ट्रिसियनसम्बन्धी तालीम प्रदान गरेको थियो । निर्माणाधीन नीलगिरिखोला जलविद्युत् आयोजनाले प्रभा मावि परिसरमा रु १५ लाख खर्चेर चमेनागृहको भवन निर्माण गरेको छ ।

म्रिस्तीखोला जलविद्युत् आयोजनाले २०७१ सालमा कालीगण्डकी नदीमाथि बेली ब्रिज राखेपछि नारच्याङ सडक सञ्जालमा जोडिएको थियो । बेँसी र पटारको सिमानास्थित म्रिस्तीखोला र बाँधदेखि सुरुङमा जाने थप दुईवटा बेली ब्रिज बनाएको म्रिस्तीखोलाले १४ किलोमिटर सडक निर्माण गरेको छ । रेलेखोला जलविद्युत् आयोजना निर्माणस्थल जाने सडक निर्माण भएपछि नारच्याङको बेँसीदेखि लेकगाउँ गत वर्ष सडक सञ्जालमा जोडिएको थियो । स्थानीयवासी, तत्कालीन जिविस र गाउँपालिकाले रु एक करोडभन्दा बढी खर्च गरे पनि बेँसीदेखि लेकगाउँ जोड्ने सडकको बीचमा रहेको पहाड छिचोल्न नसकेर अलपत्र परेको थियो । जलविद्युत् आयोजनाले विस्फोटक पदार्थ र उपकरण प्रयोग गरेर अक्करे पहाड छिचोलेर गाउँमा सडक पुगेको लेकगाउँका श्याम पुर्जाले बताउनुभयो । “पाँच वर्षदेखि निरन्तर प्रयास गर्दा पनि सडक निर्माण गर्न सकेका थिएनौं”, उहाँले भन्नुभयो, “आयोजनाले सडक बनाएपछि स्थानीयवासीलाई पनि आवतजावत, ढुवानी र निकासीमा सहज भएको छ ।”

म्रिस्तीखोलाले सेनाको शिविर राख्न बेँसीगाउँमा बनाएको भवनमा अन्नपूर्ण गाउँपालिकाले गत पुस महिनादेखि २५ शैया क्षमताको कोरोना अस्पताल सञ्चालन गरेको छ । नारच्याङवासीको आर्थिक हैसियतमा पनि जलविद्युत् आयोजनाहरुले परिवर्तन ल्याएका छन् । उच्च र मध्यम वर्गकाले व्यापारसँगै आयोजनाहरुमा ठेक्कापट्टा, गाडी, ट्र्याक्टर, एक्साभेटर, ब्याकुहोलोडर भाडामा लगाएका छन् । न्यून वर्गकाले दैनिक ज्याला मजदुरी गरेर गाउँमै रोजगारी र आम्दानीको अवसर पाएका छन् । गत वर्ष म्रिस्तीखोला जलविद्युत् आयोजनामा प्रभावित क्षेत्रका बासिन्दाले १७ लाख तीन हजार ५१२ कित्ता सेयर लगानी गरेका थिए । धितोपत्र बोर्डमा गत हप्ता म्रिस्तीको प्रतिकित्ता सेयर ९७० का दरले कारोबार भएको थियो । सेयरको भाउ करिब १० गुणाले बढेपछि लगानी गरेका नारच्याङवासी उत्साहित छन् । संस्थापक सेयर लगानी गरेका उनीहरुले दुई वर्षपछि किनबेच गर्न पाउँछन् । -रासस

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: