काठमाडौं । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले भूकम्पपछिको पुनःनिर्माणको बाँकी काम समयमै सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले प्राधिकरणले अहिलेसम्म निजी आवास, विद्यालय, स्वास्थ्य संस्था, सरकारी भवन, सडक, खानेपानी लगायतका संरचनाको उल्लेखनीय काम गरेको भन्दै बाँकी कामका लागि आवश्यक स्रोत र जनशक्ति उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देश गरेको छ ।हालसम्म निर्माण भएका संरचनाको संरक्षणका लागि स्रोत सुनिश्चित गर्न प्राधिकरण र सरकारलाई निर्देशन दिइएको हो । समितिका सभापति कल्याणीकुमारी खड्काले एकातिर कोभिडको असर र अर्कातिर राजनीतिक परिवर्तनले प्रभाव पार्दापार्दै पनि प्राधिकरणले राम्रो प्रगति हासिल गरेको बताउनुभयो ।
प्राधिकरणको स्थापना भएर अहिलेसम्म स्थानीय सामाजिक समस्या, आर्थिक समस्या, जनशक्तिको समस्या र निर्माणका लागि आवश्यक सामग्रीको समस्या हल गर्दै अघि बढिरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘अब बाँकी काम कसरी पूरा गर्ने र निर्माण भएका संरचनाको दीगोपनाका विषयमा सोच्न जरुरी छ ।’ समितिका सदस्य यज्ञराज सुनुवारले प्राधिकरणले तीन पुस्ता धान्ने गरी विद्यालय निर्माण गरेको र निजी आवास निर्माणमा पनि सफलता हासिल गरेको उल्लेख गर्नुभयो । कतिपय स्थानमा अझै पनि गुनासो सम्बोधन हुन बाँकी रहेकाले त्यसलाई चाँडो टुङ्गोमा पुर्याउनुपर्नेमा जोड दिनुभयो । समितिका सदस्य केदार सिग्देलले प्राधिकरणले असहज परिस्थितिमा पनि उल्लेखीय काम गरेको औँल्याउँदै एकीकृत बस्तीको बाँकी काम चाँडो टुङ्गोमा पुर्याउनुपर्ने बताउनुभयो । समितिका सदस्य बिनाकुमारी श्रेष्ठले भूकम्पपछि कतिपय स्थानका बासिन्दालाई स्थानान्तरण गरेर सुरक्षित आवास निर्माण गरिएकाबाट सिकेर अहिले बाढीपहिराका कारण विस्थापितलाई पुनःस्थापित गराउनुपर्ने बताउनुभयो ।
समितिका सदस्य गजेन्द्रबहादुर महतले धरहरा बाहिर बनेको देखिए पनि भित्रि काम बाँकी रहेकाले त्यो चाँडो पूरा गर्नुपर्नेमा जोड दिनुभयो । निजी आवास निर्माणमा पहुँच भएका व्यक्तिको चाँडो र नभएकाको ढिलाइ भएको पाइएको उहाँको भनाइ छ । समितिका सदस्य टेकबहादुर बस्नेतले कतिपय राष्ट्रिय गौरवका आयोजना २० वर्षसम्म पूरा नभएकामा पुनःनिर्माण छ वर्षमा यो उपलब्धि हुनु महत्वपूर्ण भएको औँल्याउनुभयो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्राधिकरणको थपिएको अवधि सकिँदासम्म निजी आवास निर्माण शतप्रतिशत सम्पन्न हुने बताउनुभयो । कोभिडको त्रासले गर्दा धरहरा नागरिकका लागि खुला नगरिएको उहाँको भनाइ छ । भूकम्प प्रभावित क्षेत्रमा नै अहिले पहिराको समस्या पनि देखिइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पहिले जुरे क्षेत्रमा र अहिले मेलम्ची क्षेत्रमा देखिएको समस्या समाधानको काम अब विपद् व्यवस्थापन प्राधिकरणमार्फत अघि बढ्नेछ ।’ –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्