काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आइतबार मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । मौद्रिक नीति सार्वजनिकमा ढिलाई हुँदा चौतर्फी आलोचना बढेपछि अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकलाई सार्वजनिक गर्न अनुमति दिएका हुन् ।
यता राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गत बुधबार नै संसदको अर्थ समितिलाई आइतबारसम्म मौद्रिक नीति सार्वजनिक गर्ने बताएका थिए । नयाँ सरकारले बजेटमा संशेधन गर्ने तयारी थालेपछि राष्ट्र बैंक पनि मौद्रिक नीति तयार पारेर पर्खिरहेको छ । अर्थमन्त्री शर्माले राष्ट्र बैंकका गभर्नर अधिकारीलाई केही सुझावसहित बजेट अनुमोदन हुने समयसम्म पर्खन भनेका थिए ।