तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको कामप्रति तनहुँ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य केदार सिग्देलले चासो व्यक्त गर्नुभएको छ । आयोजनाको काममा भइरहेको ढिलाइप्रति चासो व्यक्त गर्दै सांसद सिग्देलले आज आयोजनाको कार्यालयमा पुगेर हालसम्मको प्रगतिका बारेमा जानकारी लिनुभएको हो । जिल्लाको समृद्धिसँग गाँसिएको आयोजनाको काम समयमा नै सम्पन्न नहुने भएपछि सांसद सिग्देलले कामलाई तीव्रता दिन अनुरोध गर्नुभएको छ । आयोजना प्रमुख अच्युत घिमिरेले आयोजनाका लागि आवश्यक जग्गा अधिग्रहण गरेर काम अगाडि बढाइएको जानकारी दिनुभयो । पूर्वाधार संरचना अन्तर्गत क्याम्प निर्माण, विद्युत् सवस्टेशन, पहुँच मार्ग निर्माण र सेती नदीमा पुल निर्माण कार्य शतप्रतिशत सम्पन्न भएको उहाँले बताउनुभयो ।
“सांसदको हैसियतले मेरो सहयोग पूर्ण रुपमा रहनेछ, नीतिगत, आर्थिक र अन्य सहयोगमा मेरो प्रत्यक्ष सहयोग रहनेछ, तर समयमा काम पूर्ण गर्नतिर लाग्नुहोस्,” उहाँले भन्नुभयो । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनामा हालसम्म तीन वटा सुरुङ निर्माण सकिएको छ । ४३७.१ मिटर लामो सर्च ट्र्याङ्क जाने पहुँच सुरुङ साउन १५ गते, २८०.८५ मिटर लामो मुख्य पहुँच सुरुङ असार २ गते र बाँधस्थल जाने ३१४ मिटर लामो पहुँच सुरुङ जेठ २१ गते पूरा भएको छ । आयोजनाको मुख्य काम नदी फर्काउने, बाँध निर्माण लगायतका पहिलो प्याकेजको कामका लागि आयोजनाले सोङ दा कर्पोरेसन, भियतनाम-कालिका कन्सट्रक्सन प्र लि नेपाल जेभीसँग सम्झौता गरेको थियो । आयोजनाले ती कम्पनीसँग पहिलो प्याकेजका लागि १६ अर्ब ६२ करोड(प्रोभिजनल सम र मूल्य अभिवृद्धि करबाहेक)मा सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले खरिद सम्झौता कार्यान्वयनमा आएको ५७ महिनाभित्र निर्माणकार्य सम्पन्न गर्नुपर्ने व्यवस्था गरिएको छ ।
आयोजनाको प्याकेज १(हेडवक्र्स) निर्माण कार्यका लागि निर्माण कम्पनी सिएमसी डि राभेना, इटालीसँग विसं २०७५ असोज १५ मा सम्पन्न खरिद सम्झौता रद्द भए पश्चात् कम्पनीले विसं २०७६ वैशाख १२ गते पुनः बोलपत्र आह्वान गरेको थियो । कम्पनीले उक्त बोलपत्र प्रक्रियामा प्राप्त कुनै पनि प्राविधिक बोलपत्र सारभूत रुपमा प्रभावग्राही हुन नसकेकाले सबै बोलपत्र अस्वीकृत गरी एशियाली विकास बैंकको खरिद निर्देशिकाअनुरुप विसं २०७६ फागुन १६ गते दोस्रो पटक पुनः बोलपत्र आह्वान गरेको थियो ।
आयोजनाले सामाजिक उत्तरदायित्व वहन अन्तर्गत खानेपानी, बाटो निर्माण गरिरहेको छ । साथै विद्युत् सेवा नपुगेका ग्रामीण भेगमा विद्युतीकरणको कार्यक्रम पनि आयोजनाले सञ्चालन गरिरहेको छ । यस्तै भीमाद नगरपालिकामा रहेको जनज्योति क्याम्पसको भवनमा तला थप गर्नका लागि पनि आयोजनाले सहयोग गरेको छ । आयोजनामार्फत् नै तनहुँका विभिन्न ठाउँमा विद्युतीकरणको काम समेत अगाडि बढेको छ । आयोजनामार्फत् जिल्लाका घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका, शुक्लागण्डकी नगरपालिका, व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी र देवघाट गाउँपालिकाका विद्युत् नपुगेका घरधुरीमा विद्युतीकरण गरिनेछ ।
कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार÷नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।-रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्