×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तनहुँ जलविद्युत् आयोजनाले प्रशारणलाइन निर्माणका लागि एक करोड मुआब्जा वितरण गर्ने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

तनहुँ जलविद्युत् आयोजनाले प्रशारणलाइन निर्माणका लागि एक करोड मुआब्जा वितरण गर्ने

२१ श्रावण २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

तनहुँ । एकसय चालीस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले प्रशारणलाइन निर्माणका लागि एक करोड भन्दा बढी मुआब्जा वितरण गर्ने भएको छ । यसका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणबापत आयोजनाले एक करोड ३१ लाख ३४ हजार पाँच सय दश वितरण गर्नेछ ।

ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको प्याकेज तीन अन्तर्गत प्रशारणलाइनको ठेक्का भारतीय कम्पनीले पाएको छ । हालसम्म निर्माणका लागि २६ फाउण्डेशनको काम सकिएको आयोजना प्रमुख अच्युत घिमिरेले जानकारी दिनुभयो । टावर निर्माणका लागि भारतबाट प्राविधिक टिम आएर साइटमा आवश्यक तयारी गरिरहेको उहाँले बताउनुभयो । कूल ५९ कित्ता २३ रोपनी पाँच आना जग्गा अधिग्रहण गरिनेछ । यसका लागि जग्गाको कित्ताकाँट गरी प्रक्रिया थालिएको छ ।

यस क्रममा व्यास नगरपालिका–१३ र १४, बन्दीपुर गाउँपालिका–६,आँबुखैरेनी गाउँपालिका–६, देवघाट गाउँपालिका–४ र ५ भित्रपर्ने जग्गा अधिग्रहण गरिनेछ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने मुआब्जा निर्धारण समितिले मूल्य तोकेको थियो । जग्गा अधिग्रहणका लागि मूल्य निर्धारण उपसमितिले चलनचल्तीको मूल्य, मालपोतको दर, स्थानीय तहले मूल्याङ्कन गर्ने आधार, बैंकले मूल्याङ्कन गर्ने आधारलाई प्राथमिकतामा राखेर मुआब्जा निर्धारण समितिलाई सिफारिस गरेको थियो ।

मुआब्जा वितरणका लागि न्यूनतमप्रति रोपनी एक लाख ७० हजार बढीमा प्रति रोपनी २४ लाख निर्धारण गरिएको थियो । प्रशारणलाइन निर्माणका लागि तनहुँ र चितवनतर्फका वन क्षेत्रमा पर्ने रुख कटान हुनेछन् । दमौलीदेखि भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रशारणलाइन निर्माणको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ । यो काम सन् २०२२ मार्चसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ

आयोजनाको हालसम्म तीन वटा सुरुङ निर्माण सकिएको छ । ४३७१ मिटर लामो सर्च ट्याङ्क जाने पहुँच सुरुङ साउन १५ गते, २८०.८५ मिटर लामो मुख्य पहुँच सुरुङ असार २ गते र बाँधस्थल जाने ३१४ मिटर लामो पहुँच सुरुङ गत जेठ २१ गते पूरा भएको छ ।

केही समयअगाडि मात्रै सम्झौता भएको प्याकेज १ को कामका लागि निर्माण कम्पनीले आवश्यक तयारी सुरु गरेको छ । आयोजनाको मुख्य काम नदी फर्काउने, बाँध निर्माण लगायतका पहिलो प्याकेजको काम सुरु गरिएको छ । उक्त कामका लागि आयोजनाले सोङ दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभीसँग सम्झौता गरेको थियो ।

आयोजनाले ती कम्पनीसँग पहिलो प्याकेजका लागि १६ अर्ब ६२ करोड रुपैयाँ प्रोभिजनल सम र मूल्य अभिवृद्धि करबाहेकमा सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले खरिद सम्झौता कार्यान्वयनमा आएको ५७ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने व्यवस्था गरिएको छ ।-रासस

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: