गलेश्वर । बाह्र वर्ष विदेशमा दुःख गरेपछि स्वदेश फर्केर आफ्नै घरगाउँमा बङ्गुरपालन सुरु गरेका बेनी नगरपालिका-७ मङ्गलाघाटका रणबहादुर विश्वकर्मा प्रशन्न हुनुहुन्छ । बङ्गुरपालन व्यवसायबाट आफ्नै ठाउँमा घरपरिवारसँगै बसेर मासिक एक लाखभन्दा बढी आम्दानी हुन थालेपछि उहाँको अनुहारमा चमक त थपिएको छ नै विदेशकोभन्दा बढी कमाइ भएपछि आर्थिक अवस्था पनि बलियो बन्दै गएको छ ।विश्वकर्माको दैनिकी बङ्गुर फार्मबाट सुरु हुन्छ । बिहानै फार्ममा पुगेर बङ्गुरलाई दानापानी खुवाउने र खोर सफा गरेपछि बङ्गुर खरिदका लागि खोरमा नै आएका व्यापारी तथा ग्राहकसँग उहाँको समय बित्ने गर्छ । “विदेश पनि भोगियो, त्यहाँ कहिल्यै सन्तुष्ट हुन सकिएन । आफ्नै गाउँघरमा व्यवसाय अपार खुसी मिलेको छ । परिवारका सबै सदस्य आफ्नै घरमा बसेर सँगसँगै काम गर्नुको मज्जा नै बेग्लै हुँदो रहेछ”, उहाँले भन्नुभयो ।
बङ्गुरपालनमा राम्रो सम्भावना देखेर वैदेशिक रोजगार त्यागेर बङ्गुरपालन व्यवसाय सुरु गरेको विश्वकर्माले भनाइ छ । विदेशमा १२ वर्ष दुःख गरियो विश्वकर्माले भन्नुभयो, “विदेशमा गर्ने श्रम स्वदेशमै गर्ने हो भने राम्रो आम्दानी लिन सकिने रहेछ ।” बङ्गुरपालन व्यवसायबाट मासिक रु एक लाख भन्दाबढी आम्दानी हुने गरेको उहाँले सुनाउनुभयो । विश्वकर्माका अनुसार सुरुमा रु दुई लाख ५० हजार लगानी गरेर सुरु गरेको बङ्गुरपालन व्यवसायमा अहिले करिब ५० लाख लगानी रहेको छ । खोर निर्माण गर्न र अन्य प्राविधिक समस्या समाधान गर्न भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द र बङ्गुरजोन कार्यक्रमले सघाइरहेकाले आगामी दिनमा फार्मलाई विस्तार गरेर लगानी बढाउने योजना रहेको विश्वकर्माले जानकारी दिनुभयो । उहाँका फार्ममा अहिले माउ बङ्गुर १३, भाले बङ्गुर एक, मासुका लागि तयारी अवस्थामा रहेका १२ र पाठापाठी २० गरी ३६ वटा बङ्गुर रहेका छन् ।
दानापानी राम्रो खुवाउन सकियो भने आठदेखि १२ महिनामा १०० केजीसम्मको बङ्गुर हुने उहाँले बताउनुभयो । दानाको व्यवस्थापन गर्नसकेमा पैसा कमाउन बङ्गुरपालन व्यवसाय राम्रो हुने उहाँको भनाइ छ । बेनी बजारमा रहेका होटल र घरबाट बढी भएको खाना, तरकारी, दाल लगायतलाई सङ्कलन गरेर दानका रुपमा प्रयोग गरिने उहाँले बताउनुभयो । यसका साथै घरमै पनि दाना बनाउने विश्वकर्माको भनाइ छ । “विदेशमा जस्तो अरुले अह्राएको काम गर्नुपरेको छैन”, उहाँले भन्नुभयो, “आफैँ मालिक आफैँ नोकर भएर आफ्नै फार्ममा काम गर्नुपर्दा आनन्द लाग्छ ।” धानको ढुटो, कनिका, मकैको ढुटो, फिसमील तथा वोनमिल भिटामिन र हरियो घाँस चारोका रूपमा बङ्गुरलाई खुवाइन्छ । महिनामा १४ वटासम्म बङ्गुर बिक्री हुने गरेका उहाँले जानकारी दिनुभयो ।
बङ्गुरको मासु पसलमा प्रतिकेजी रु ३५० मा बिक्री हुने गरेको छ । बङ्गुरको मासु बजारमा पुर्याउन सकिएको छैन । मागअनुसार उत्पादन गर्न नसकिएको विश्वकर्माले बताउनुभयो । गत आर्थिक वर्षमा मात्र ३६ लाख ५६ हजार ८०० रुपैयाँ बङ्गुरपालक किसानलाई खोर निर्माण, दाना बनाउने मिल र खोरबाट निस्किएको फोहोरलाई व्यवस्थापन गर्न गोबर ग्यास प्लान्ट निर्माणमा अनुदान उपलब्ध गराएको बङ्गुर जोनका पशु प्राविधिक बलबहादुर वलीले बताउनुभयो । उहाँका अनुसार जिल्लाभर ३५ वटा बङ्गुरका फार्म सूचीकृत भएका छन् । कार्यक्रम लागू भएपछि किसान उत्साहित भएको र बङ्गुरपालन व्यवसायप्रति युवाको आकर्षण बढेको उहाँले जानकारी दिनुभयो ।-रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्