काठमाडौं । धितोपत्र बोर्डका निलम्बित अध्यक्ष भीष्मराज ढुंगाना बर्खास्त हुने लगभग पक्कापक्की भएपछी अवको बोर्डको अध्यक्ष को हुने भन्ने विषयमा चर्चा उठ्नु स्वाभाविक छ । यसका लागि लगभग आधा दर्जनले दौडधुपसमेत सुरु गरिसकेका छन् । तर तीमध्ये कृष्ण आचार्य र चिरन्जीवी चापागाईंमध्ये एक जना धितोपत्र बोर्डको अध्यक्ष हुने देखिएको छ । जसका लागि दुवैजनाले सकेजति तयारी गरिरहेका छन् । बोर्डको अध्यक्षका लागि चिरन्जीवी चापागाईं, कृष्ण आचार्यसहित सिताराम थपलिया लगायतले पनि ठुलो लविङ गरिरहेका छन् ।
को हुन् कृष्ण आचार्य र चिरन्जीवी चापागाईं ?
कृष्ण आचार्य संचय कोषमा सार्है राम्रो पर्फर्मेन्स देखाएर वाहवाही पाएका व्यक्ति हुन् । उनी लेखा व्यवसायीहरुको नियमनकारी निकाय आइक्यानकासमेत पूर्व अध्यक्ष हुन् । आइक्यानमा हुँदा पनि उनी राम्रो पर्फर्मेन्स दिएका सिएका रुपमा चिनिन्छन् । राजनीतिक रुपमा माधव नेपालका कट्टर समर्थकका रुपमा चिनिएका आचार्य पाएसम्म बोर्डमा जाने तयारीमा छन् ।
चिरन्जीवी चापागाईं बीमा समितिका पूर्व अध्यक्ष हुन् । बीमा समितिको अध्यक्षको कार्यकाल पूरा गरेर खाली बसेका चापागाईंले बोर्डको अध्यक्ष हुनका लागि ठुलै दौडधुप गरिरहेका छन् । यतिसम्मकि उनका सबैभन्दा प्रतिष्पर्धी कृष्ण आचार्यले गरिरहेको दौडधुपको सुक्ष्म निगरानीसमेत उनले गरिरहेको चर्चा बजारमा छ ।
यता सर्वोत्तम सिमेन्ट प्रकरणमा मुछिएका धितोपत्र बोर्डका निलम्बित अध्यक्ष भीष्मराज ढुंगानालाई भने सरकारले बर्खास्त गर्ने तयारी गरेको छ । भ्रष्टाचारको आरोप आकर्षित हुने काम गरेको तथ्य/प्रमाण भेटिएपछि उनलाई बर्खास्त गर्ने तयारी गरिएको हो । भ्रष्टाचारको आरोप आकर्षित हुने गरी आर्थिक कारोबार गरेको, पदीय आचरण र पेशागत मर्यादा विपरीत नातेदारका नाममा शेयर खरीद गरेको र सार्वजनिक वित्तीय अनुशासन विपरीत हुने गरी बोर्डका लागि जग्गा खरीद भन्दै रकम भुक्तानी गरेको फेला परेपछि उनलाई छानविन समितिको सिफारिसमा अन्ततः बर्खास्त गर्ने तयारी गरिएको हो ।