काठमाडौँ । सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक २०७८ संसदबाट बहुमतले पारित भएको छ । सोमवारको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको विनियोजन विधेयक २०७८ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)को चर्को विरोधकाबीच बहुमतले पारित भएको हो । सभामुख अग्निप्रसाद सापकोटाले विनियोजन विधेयक २०७८ बहुमतले पारित भएको घोषणा गर्नुभयो ।
त्यसैगरी बैठकले अर्थमन्त्री शर्माले प्रस्तुत गर्नुभएको आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ लाई स्वीकृत पनि गरेको छ । प्रतिपक्षी दल एमालेले भने संसदको अवरोध कायम नै राखेको छ । सभामुख सापकोटाले एमालेप्रति भेदभावपूर्ण व्यवहार गरेको भन्दै एमालेले निरन्तर संसदमा विरोध गर्दै आएको छ ।
सोमबारको बैठकमा पनि एमाले सांसदहरुले वेल घेर्दै संसदीय सर्वोच्चता कायम गर, पक्षपातपूर्ण व्यवहार बन्द गर, संसदीय मर्यादा कायम गर, यथास्थितिमा संसद चल्न सक्दैनलगायतको नाराबाजी गरेका थिए । प्रतिनिधि सभाको अर्को बैठक असोज ७ गते बिहीबार दिउँसो २ बजे बोलाइएको छ । यता बजेट पारित भएसँगै सरकारी ढुकुटीमा थुप्रिएको रकम खर्च गर्न बाटो खुला भएको छ । सरकारी खर्च हुन थालेपछि बैंकिङ प्रणालीमा तरलता सहज हुनुका साथै स्थानीय निकायमा पनि पैसा जानेछ ।