भोजपुर । बहुमूल्य तथा बहुउयोगी जडीबुटी सतुवा खेतीमा यहाँका किसानको आर्कषण बढेको छ । लेकाली अर्थात् माथिल्लो भेगका अधिकांश किसानले यसको व्यावसायिकरुपमा खेती गर्दै आएका छन् । सतुवा विशेष गरेर सेपिलो भागमा फस्टाउँछ । यसको खेतीका लागि चिस्यान, ओसिलो र मलिलो माटो तथा उत्तर-पश्चिम फर्किएको भूगोलमा उपयुक्त हुने किसानले बताउने गरेका छन् ।
सबै पात सुरिलो डाँठको माथिल्लो भागबाट पलाएका हुन्छन् । यसको खेतीमा यहाँका ३०० बढी किसान आबद्ध छन् । एक हजार ४०० मिटर उचाइभन्दा माथि पाइने यो जडीबुटी धेरै रोगका लागि उपयोगी मानिन्छ । सतुवा यार्सागुम्बा जस्तै शक्तिवद्र्धक हुने व्यवसायीले बताउने गरेका छन् । यसलाई क्यान्सर, ग्यास्टिक, पेट दुख्ने, पोलेको, काटेको घाउ, पाकेको घाउ, बान्ता वा पखालालगायत रोगका लागि उपयोगी हुने जिल्ला आयुर्वेद कार्यालयले जनाएको छ ।
त्यस्तै घाँटी दुखेको, सर्पले टोकेको र मानिसले विष सेवन गरेको बेलामा प्रयोग गर्न सकिने बहुउपयोगी सो जडीबुटी रहेको कृषकको भनाइ छ । सतुवा प्रतिकिलो १० देखि १२ हजारमा बिक्री हुने कृषकको भनाइ छ । केही वर्ष अगाडिसम्म प्रतिकिलो २० देखि २२ हजारसम्ममा बिक्री भएको भए पनि पछिल्लो समयमा मूल्यमा केही गिरावट आएको किसान बताउँछन् ।
बिरुवा उम्रिएको दुईदेखि तीन वर्षमा सतुवा फुल्छ । फुलेर दाना झरेपछि एउटै बोटबाट ५० देखि १०० सम्म बिरुवा उत्पादन हुने किसानको भनाइ छ । यसको जमिनमुनिको गानो अदुवा जस्तै देखिन्छ । प्रायः एउटा बोटबाट एउटामा मात्र डाँठ निस्कने भए पनि फस्टाएको बोटले १६ वटासम्म डाँठ हानेको १० वर्षदेखि सतुवाको खेती गर्दै आउनुभएका टेम्केमैयुङ गाउँपालिका(१ तिम्माका कृषक मानबहादुर राईले बताउनुभयो ।
उहाँले भन्नुभयो, “मैले यसको १० वर्षदेखि व्यावसायिक खेती गरिरहेको छु, खासमा धेरै ठाउँमा एउटा प्रायः एकदेखि दुई वटासम्म डाँठ आएको हुन्छ तर मेरो फार्ममा लगाएको सुतवामा १६ वटासम्म डाँठ पलाएको छ, म आफैँ र हेर्न आउने मानिस पनि अचम्ममा छौँ, मेरो फार्ममा २०० ग्रामसम्मको सुकेको सुतवा फलेको छ, सायदै यस्तो ठूलो सुतवा कम फलेको पाइन्छ ।”
सुतवा टेम्केमैयुङ-१ तिम्मा र वडा नं ५ को माथिल्लो भेग, भोजपुर नगरपालिका-२ हेलौछा, षडानन्द नगरपालिका-९ किमालुङ र वडा नं १० बोयाको माथिल्लो भेग तथा आमचोक गाउँपालिका-४ र साल्पासिलिछो गाउँपालिका-४ खाटम्मालगायतमा ३०० बढी कृषकले व्यावसायिक सतुवाको खेती गर्दै आएका छन् ।
टेम्केमैयुङ-१ तिम्माका अर्का कृषक सङ्गम राईले विभिन्न क्षेत्रको अनुदानसहित करिब ७५ लाखको लगानीमा व्यावसायिकरुपमा सतुवा खेती गरिरहेको जानकारी दिनुभयो । राईको सङ्गम जडीबुटी तथा नर्सरी फार्ममा अहिले ६५ हजार सतुवाका बोट रहेका छन् । उहाँले अहिले वार्षिक १५ लाख बढी आम्दानी गरिरहेको जानकारी दिनुभयो । राईले भन्नुभयो, “मैले करिब १० वर्षअघिदेखि सतुवाको व्यावसायिकरुपमा खेती गर्दै आएको छु, अहिले मेरो नर्सरीमा आफ्नोसहित विभिन्न क्षेत्रका अनुदान गरी ७५ लाखजति लगानी भइसकेको छ, अहिले वार्षिकरुपमा १५ लाख बढी आम्दानी लिन्छु, आम्दानीलाई वार्षिक ३० लाख पुर्याउने लक्ष्य छ ।”
राईले बिरुवा भोजपुरसँगै बाहिरी जिल्लामा समेत बिक्री गर्दै आएको जानकारी दिनुभयो । उहाँले बिरुवाको माग अत्यधिक रहेकाले अझै पनि माग धान्न समस्या रहेको बताउनुभयो । नर्सरीबाट वार्षिक १०० किलोसम्म सतुवाको गाँनो र एक किलोको हाराहारीमा बीउ उत्पादन हुने उहाँको भनाइ छ । बिरुवा प्रति गोटा २० देखि १५० सम्म, सतुवाको बीउ प्रतिकिलो एक लाख र गाँनो प्रतिकिलो १० हजारदेखि १२ हजारमा बिक्री हुने राईले बताउनुभयो । “बिरुवाको माग धेरै छ, सङ्खुवासभा, तेह्रथुम, ताप्लेजुङलगायतका जिल्लाबाट समेत बिरुवाको माग हुन्छ, विगतका वर्षमा सतुवा प्रतिकिलो २० देखि २२ हजारसम्ममा बिक्री भयो, पछिल्लो सयम लकडाउन लगायत समस्याले मूल्य घटेको छ, यो अवस्था सामान्य बन्नासाथ अहिले पनि १० देखि १२ हजारमा प्रतिकिलो बिक्री हुन्छ, बिक्रीमा खास समस्या छैन”, कृषक राईले भन्नुभयो ।
सतुवा विषेश गरेर भारत र चीन जाने व्यवसायी बताउँछन् । षडानन्द(१३ भिरथाप्लाका स्थानीय कृषक पेमदोर्जी शेर्पाले पनि सतुवाको व्यावसायिकरुपमा नै खेती गर्दै आएको बताउनुभयो । फार्ममा ७० हजार बढी सतुवाका बिरुवा रहेको उहाँको भनाइ छ । सतुवाखेतीबाट राम्रो आम्दानी लिने गरेको शेर्पाले बताउनुभयो । शेर्पाले भन्नुभयो, “सतुवाखेतीबाट राम्रो आम्दानी लिन सकिन्छ, यसको बजारमूल्य अन्य जडीबुटीको तुलनामा राम्रो छ, बिरुवा तथा गानाको मूल्य धेरै राम्रो छ, त्यही भएर पनि पछिल्लो समय सतुवा खेतीमा कृषकको आर्कषण बढेको छ ।” डिभिजन वन कार्यालयले पनि सतुवालगायत जडीबुटीमा लागेका कृषकलाई प्रोत्साहन गर्न प्राविधिक तथा आर्थिक सहयोग गर्दै आएको जनाएको छ । गत वर्ष सतुवा, लोडसल्ला, चिराइतोलगायतको व्यावसायिकरुपमा खेती गर्दै आएका कृषकलाई सहयोग गरेको डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिनुभयो ।
प्रमुख घिमिरेले भन्नुभयो, “जडीबुटी कृषकलाई हामीले सहयोग गर्दै आएको छौँ, यहाँ जडीबुटी खेतीमा लागेका कृषकको सङ्ख्या धेरै छ, हुन त हामीले ठाउँअनुसार सतुवा, चिराइतो, लोडसल्लालगायत खेतीलाई विस्तार गरिरहेका छौँ, तर पनि सतुवा खेतीमा कृषकको आर्कषण बढेको छ, यसबाट उनीहरुले राम्रो आम्दानी लिने गरेको पनि पाइयो ।”
भोजपुरमा चिराइतो, सतुवा, सेतक चिनी, शक्ति गुम्बा, पदम चाल, वन मुला, वन लसुन, टिमुर, किम्बु, भुत्केस, बुढो ओखती, लोड सल्ला, विखुम्बालगायत जडीबुटी हुने गरेको छ । यहाँका एक कृषकले ६२ मनसम्म चिराइतो उत्पादन गर्दै आएको व्यवसायी खेमराज राउतले बताउनुभयो । आफ्नो क्षेत्रमा धेरै प्रजातिका जडीबुटी पाउने भए पनि पहिचान गर्न गाह्रो भएको तथा सोसम्बन्धी ज्ञानको अभावले त्यस्ता प्रजातीका जडीबुटीको खेती गर्न समस्या भएको उनीहरु बताउँछन् ।-रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्