म्याग्दी । म्याग्दी जिल्लाको विकासका लागि ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडक ट्र्याक खुलेको १७ वर्ष पूरा भए पनि कालोपत्र गर्न सकिएको छैन । निर्माण गरिएको भाग पनि पहिरो र नदी कटानका कारण थप जीर्ण बन्दै गएको छ । सडकको स्तरोन्नति र कालोपत्रका लागि चार वर्षअघि ठेक्का सम्झौता भएर प्रक्रिया अघि बढेको भए पनि ठेकेदार कम्पनीको लापर्बाही र अनुगमनकारी निकायको बेवास्ताका कारण सडक थप जोखिमपूर्ण बनेको छ ।
सडक स्तरोन्नति नहुँदा पश्चिम म्याग्दीका यात्रुलाई सास्ती छ । विसं २०६३ मा ट्र्याक खुलेको यो सडकको स्तरोन्नति र कालोपत्रका लागि तत्कालीन सडक डिभिजन कार्यालय बागलुङले २०७४ असोज ४ गते बेनीदेखि बाबियाचौर खण्डको १३ किलोमिटर सडक कालोपत्र गर्न समानान्तर लामा जेभीसँग रु ४५ करोड ५३ लाख ७२ हजारमा ठेक्का सम्झौता गरेको थियो ।
“सडक कालोपत्रको काम सुरु गरेको चार वर्ष बित्यो तर, सडकको अवस्था झन बिग्रदै गएको छ, चार वर्षमा एक किलोमिटर पनि कालोपत्र भएको छैन” बेनी–दरबाङ सडक खण्ड अन्तर्गतपर्ने सिङगाका नरप्रसाद पौडेलले भन्नुभयो, “हामी बाचुञ्जेल यो सडक कालोपत्र हुने मैले देखेको छैन ।”
सडकले म्याग्दीको मङ्गला, मालिका, धवलागिरि र बागलुङको तमानखोला गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्छ । ट्र्याक खुलेलगत्तै तत्कालीन विकेन्द्रित ग्रामीण पूर्वाधार निर्माण तथा जीविकोपार्जन सुधार कार्यक्रम (ड्रिलिप) ले करोडौंँ खर्चेर सञ्चालन गरेको सडक सुधारको काम प्रभावकारी नभएपछि २०७४ देखि सडक डिभिजनले कालोपत्रका लागि सुरु गरेको स्तरोन्नतिको कामले पनि गति लिन नसक्दा यस क्षेत्रका बासिन्दामा निराशा छाएको छ ।
यात्रु साँघुरो, खाल्डाखुल्डी, ग्रेड र मोड सुधार नभएको जीर्ण सडकमा जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । २४ किलोमिटर दूरीको यो सडक पार गर्न तीन घण्टा लाग्छ । “३० मिनेट लाग्ने सडक पार गर्न तीन घण्टा लाग्छ”, सवारी चालक शिव हुमेनले भन्नुभयो, “सडकको बेहाल अवस्थाले सास्ती खेप्नु परेको छ ।” बर्खामा हिलो र हिउँदमा धुलोको हैरान हुने गर्छ । रणबाङका रामहरि पौडेलले भन्नुभयो, “हिउँदमा धुलो उडेर, बर्खामा हिलो जमेर आवतजावत गर्न गारो हुन्छ”, उहाँले भन्नुभयो, “पिच बाटोमा सलल गुड्ने गाडी चढ्ने रहर सपना जस्तै भयो ।”
जिल्लाका पश्चिम मङ्गला, मालिका र धौलागिरि तथा बागलुङको ताराखोला, बुर्तिवाङ जोड्ने बेनी–दरवाङ सडकको पहिलो १२।५ किलोमिटर सडकलाई ११ मिटर चौडा बनाइ ७ मिटरमा कालोपत्र गर्न रु ४५ करोड ५३ लाख ७२ हजारमा ठेक्का लिएका सांसद लामा र खरेलको लामा समानन्तर जेभीले चार वर्षमा पनि यो सडकको काम तीव्रगतिमा अघि बढाउन नसकेका बेनी नगरपालिका–६ का वडाअध्यक्ष कृष्णबहादुर बानियाँले बताउनुभयो ।
“यो सडक आयोजना र निर्माण व्यवसायीबाट सयौँ स्थानीयवासी पीडित छन् । नियामक निकायमा दर्जनौँ पटक गुहारे पनि कसैले केही गर्न सकेन । आजित भएका स्थानीयवासीले कहिले सडकमा यातायातलाई अवरोध गर्छन्, कहिले कालो पोतेर व्यवसायीको फोटो राख्छन्” वडाध्यक्ष बानियाँले भन्नुभयो । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्