×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खाद्य व्यापार कम्पनीले बेच्यो साढे ३८ लाखको चामल, शनिबारदेखि खसीबोका पनि बिक्री गर्दै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

खाद्य व्यापार कम्पनीले बेच्यो साढे ३८ लाखको चामल, शनिबारदेखि खसीबोका पनि बिक्री गर्दै

Artha Sarokar

२२ आश्विन २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले करीब साढे ३८ लाख बराबरको चामल बिक्री वितरण गरेको छ । यही असोज १ गतेदेखि सञ्चालन गरिएको सहुलियत पसलबाट रू. ३८ लाख ५९ हजार बढीको चामल विक्री भएको हो । ३९ जिल्लाका ४३ विक्री केन्द्रबाट १८ सोमवारसम्म ५३० क्विन्टल चालम विक्री भएको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् ।
उनका अनुसार यस वर्ष कम्पनीले सहुलियत पसलमा ८ प्रकारका चामल विक्रीका लागि राखेको छ, जसमध्ये स्टिम जिरा मसिनो चामलको विक्री सबैभन्दा बढी छ । कम्पनीले काठमाडौं उपत्यकामा रहेका चारओटा विक्री कक्षसँगै अनलाइनमार्फत समेत खाद्यान्नको विक्री गर्दै आएको छ ।
त्यस्तै, ३४१ किलो कर्णालीको सिमी, २७२ किलो क्वाँटी, १९९ किलो मुङ खोस्टा दाल, २ हजार ६९५ किलो रहर दाल, ३ हजार ३५७ किलो मुसुरो दाल, ३ हजार ६५२ किलो मास, १ हजार २७५ किलो तीते फापर, ७५२ किलो आयो नून, ५४२ किलो गहुँ, १ हजार २०० किलो चिनी र १ हजार ३७८ किलो आटा विक्री गरेको कम्पनीले जानकारी दिएको छ । यसैगरी २ हजार ८४७ लिटर सूर्यमुखी तेल, १ हजार २४९ लिटर तोरीको तेल, ४ हजार १८६ लिटर भटमास तेल र ८ हजार २९२ लिटर डीडीसीको घ्यू विक्री भएको कम्पनीले बताएको छ ।
कम्पनीले दशैंका लागि प्रतिकिलो खसी तथा बोकामा रू. १० छूट दिएको छ । यही असोज १ गतेदेखि कम्पनीले ३९ जिल्लाका ४३ विक्री केन्द्रबाट चामल, दाल, चिउरा, पीठो र खाने तेलमा रू. ५ तथा भटमासको तेल र सिमीमा रू. १० छूट दिएको छ ।
शनिबारदेखि खसीबोका बिक्री
कम्पनीले आउँदो शनिवारदेखि खसीबोका विक्रीको तयारी भएको कम्पनीले जानकारी दिएको छ । ‘हामीले घटस्थापनाको भोलिपल्टदेखि थापाथली विक्री काउन्टरबाट खसीबोका विक्रीको तयारी गरेका छौं, बिहीवार बेलुका खसीबोका आइपुगे शुक्रवार बिहानदेखि वा शुक्रवार बेलुका आइपुगे शनिवारदेखि नै विक्री गर्छौं,’ सूचना अधिकारी न्यौपानेले भनिन् ।
कम्पनीले यस वर्षको दशैंका लागि मुस्ताङबाट च्यांग्रा नल्याएपछि दाङ र मकवानपुरबाट पहिलो लटमा १ हजार ७०० खसीबोका ल्याउने जानकारी दिएको छ । दुई जिल्लामा खसीबोका खरीद भए पनि काठमाडौंमा कतिमा विक्री गर्ने भन्ने निर्धारण भइनसकेको जानकारी दिइएको छ । -रासस
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी