काभ्रेपलाञ्चोक । इन्द्रावती नदीमा आएको बाढीले क्षति पुर्याएका काभ्रेपलाञ्चोकको दुई ठूला खानेपानी आयोजनाका संरचना मर्मत, पुनःनिर्माण एवं सुरक्षित गर्ने काम भइरहेको छ । सिन्धुपाल्चोकको मेलम्ची हुँदै इन्द्रावती नदीमा गत असार १ गतेदेखि पटकपटक बाढी आउँदा पाँचखाल बृहत् सहरी खानेपानी तथा सरसफाइ आयोजना र तेमाल बृहत् सुक्खा-क्षेत्र खानेपानी तथा सरसफाइ आयोजनाको मुहानमा ठूलो क्षति पुर्याएको थियो । लिफ्टिङ प्रविधिका पाँचखाल खानेपानीको मुहान इन्द्रावती नदी किनार र तेमाल खानेपानीको मुहान सुनकोसी नदी किनारमा छन् । यस वर्षको पहिलो बाढीले तेमाल खानेपानीको मुहान रहेको स्थान तेमाल गाउँपालिका-२ र ३ को सिमाना सुनकोसी नदी किनार चुखाबेँसीमा कटान सुरु गरेको थियो । त्यससँगै यही साउन १७ र १९ गतेको बाढीले आयोजनाको मुहानको पक्की संरचनासमेत बगाएपछि मर्मत, पुनःनिर्माण एवं सुरक्षित गर्ने काम भइरहेको उपभोक्ता समितिका अध्यक्ष सङ्ग्रामजित लामाले बताउनुभयो ।
उहाँका अनुसार मुहान क्षेत्रमा निर्माण लिफ्टिङ ट्याङ्कको जोखिमलाई व्यवस्थित गरिँदैछ । ‘यस वर्षको अनपेक्षित बाढीले खानेपानीको मुहान क्षेत्रमा लाखौँको क्षति पुर्याएको थियो, हामी मर्मत, पुनःनिर्माण तथा सुरक्षित बनाउने काम गर्दैछौँ’, उहाँले भन्नुभयो । उहाँका अनुसार बाढीले आयोजनाको रु ६० लाखभन्दा बढी क्षति पुर्याएको थियो भने करोडौंका संरचनालाई जोखिम पुर्याएको थियो । संरचनालाई जोखिममुक्त बनाउन सयौँ ग्यावियनमा ढुङ्गा भर्ने काम भइरहेको छ । तेमाल क्षेत्रका नौ हजार ३१० परिवारका करिब ५५ हजारका लागि खानेपानी आयोजना सञ्चालन गरिएको हो । विसं २०७२ असार महिनामा सम्झौता भएको आयोजनाको काम गत मङ्सिरमा सक्ने लक्ष्य राखिए पनि कारोना महामारीका कारण कामको निरन्तरता नहुँदा तथा बाढीले संरचनामा क्षति पुर्याउँदा केही धकेलिएको छ । अध्यक्ष लामाका अनुसार तिहारपछि खानेपानी वितरणको पाइप लाइन बिछ्याइनेछ । ‘
आउँदो चैतभित्र खानेपानी वितरण हुन्छ”, उहाँले भन्नुभयो । भूकम्पलगत्तै खानेपानीका मूल सुक्दै गएपछि तेमालका केही बासिन्दा विस्थापित हुने तरखरमा थिए, तर बृहत् खानेपानी आयोजनाले रोकेको बताइन्छ । नेपाल सरकार खानेपानी विभागमार्फत रु एक अर्ब २७ करोड, गाउँपालिकाको एक प्रतिशत र स्थानीय उपभोक्ताले नौ प्रतिशत जनश्रमदानमा सञ्चालन गरिएको आयोजनामध्ये दुई चरणमा करिब ९५ प्रतिशत काम सकिएको समितिका अध्यक्ष लामाले जानकारी दिनुभयो । उहाँका अनुसार सुनकोसी नदीबाट १२ किलोमिटरको उचाइमा लिफ्टिङ गरी खानेपानी उपलब्ध गराइने संरचना बनिसकेका छन् ।
यस्तै इन्द्रावती नदीको पहिलो र त्यसपछिका बाढीले पाँचखाल खानेपानी आयोजनाको मुहानमा निर्माणाधीन संरचनामा रु दुई करोडभन्दा बढीको क्षति पुगेपछि हाल पुनःनिर्माण तथा सुरक्षित बनाउने काम भइरहेको उपभोक्ता समितिले जनाएको छ । भुम्लु गाउँपालिका-१० बिमिरेस्थित मुहानका सबै संरचना ध्वस्त भई ठूलो क्षति पुगेपछि हाल पुनःनिर्माणको काम भइरहेको उपभोक्ता समितिका अध्यक्ष कुमार लामछिानेले जानकारी दिनुभयो । उहाँका अनुसार मुहानको इन्टेक, २० वटा ठूला पम्प, प्यानल बोर्ड, पाइप तथा प्रोटेक्सन पर्खालमा क्षति पुगेको छ भने निर्माणार्थ राखिएको १०० टिपरभन्दा बढी बालुवा र केही मात्रामा सिमेन्ट बगाएको थियो ।
“हामीले साउन महिनाभित्र मुहान क्षेत्रको काम सम्पन्न गर्ने लक्ष्यका साथ लागिरहेका थियौँ, बाढीले मुहान क्षेत्रका रु दुई करोडभन्दा बढी संरचनामा क्षति पु¥याएको थियो, त्यसैको मर्मतको काम भइरहेको छ”, लामिछानेले भन्नुभयो । आयोजनाका सहायक व्यवस्थापक इन्द्रमानसिंह बस्नेतका अनुसार निर्माणाधीन संरचना सुरक्षाका लागि बनाइएको तटबन्धको केहीबाहेकका सबै संरचना बाढीले बगाएको थियो । यसअघि गत वर्षको कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण सम्झौतापछि केही समय धकेलिएको पाँचखाल बृहत् सहरी खानेपानी आयोजनाको कामले तीव्रता पाउँदै आएको थियो ।
पाँचखाल नगरका १० वटा वडाका सात हजारलाई खानेपानी पुर्याउने लक्ष्यका साथ हाल आयोजना कार्यान्वयनको चरणमा रहेको छ । आयोजना सम्झौताको शर्तअनुसार कूल योजनाको पाँच प्रतिशत अर्थात् रु ११ करोड पाँच लाख उपभोक्ताले जम्मा गरेका छन् । जसअनुसार पाँचखालका प्रतिउपभोक्ता परिवारले एक वर्षअघि खानेपानी परियोजनाको बैंक खातामा रु १८ हजार जम्मा गरेका छन् । परियोजनाको विसं २०७६ भदौ १२ गते त्रिपक्षीय सम्झौता भएको हो । रु दुई अर्ब २१ करोडको लागतमा अढाई वर्षमा निर्माण सम्पन्न गरिने लक्ष्य लिइएको उक्त आयोजना हाल कार्यान्वयनको चरणमा रहेका आयोजनाअन्तर्गत नेपालमा सञ्चालित खानेपानी योजनामध्ये पाँचखाल-सुनकोसी-पाँचखाल बृहत् खानेपानी सबैभन्दा ठूलो मानिएको छ । -रासस