×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पाल्पामा उत्पादित छुर्पी अमेरिका निर्यात : २० भन्दा बढी युवालाई रोजगारी, १३ हजारदेखि २७ हजारसम्मको आम्दानी

पाल्पा । पाल्पाको तानसेनमा उत्पादित छुर्पी अमेरिका निर्यात हुँदै आएको छ । गाईको दूधबाट उत्पादित वार्षिक १० मेट्रिकटन छुर्पी निर्यात हुने गरेको छ । यहाँ उत्पादित छुर्पी पोखरा, काठमाडौं हुँदै अमेरिका निर्यात हुँदै आएको भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख डा.चन्द्रबहादुर रानाले बताउनुभयो । अमेरिकामा कुकुरलाई आहाराका रूपमा खुवाउने गरिएकाले यहाँ उत्पादित छुर्पी काठमाडौंमा सङ्कलन गरी अमेरिका पठाउने गरिएको उहाँको भनाइ थियो । पाल्पा पछिल्लो वर्ष व्यावसायिक रूपमा पशुपालनसँगै दूध र मासुमा आत्मनिर्भर बनेको छ ।

जिल्लामा उत्पादित भैँसीको दूधको खपत सहजरूपमा हुँदै आएको छ । गाईको दूधको माग न्यून हुँदा खपतमा समस्या भएपछि सहकारी तथा निजी डेरी छुर्पी उत्पादनमा आकर्षित भएका हुन् । तानसेन नगरपालिकाको बसपार्कका टीकाराम खरालले विसं २०५२ मा तीन लिटर दूध बोकेर डेरीमा ल्याउनुहुन्थ्यो । उत्पादित दूधले उचित मूल्य नपाउँदा बजारको समस्याले हैरानी हुनुभएका उहाँ छुर्पीका निम्ति प्रख्यात इलाममा पुगी छुर्पी उत्पादन गर्न सिकेको बताउनुहुन्छ । स्थानीयस्तरमा उत्पादित गाईको दूध खपत गर्न कृषक खरालले विसं २०७६ देखि तानसेन नगरपालिका-७ काजीपौवा गोरस घर तथा जय किसान डेरी स्थापना गर्नुभएको र भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सहयोगमा यहाँबाट चिज तथा छुर्पी उद्योगमा दूधजन्य परिकार उत्पादन हुँदै आएको छ ।

छुर्पी उद्योगका सञ्चालक खरालले भन्नुभयो, ‘पहिला-पहिला दूध बिक्री गर्न समस्या हुँदै आएको थियो । दूध बिक्री हुन छाडेपछि आफैँले दूध बोकेर फिर्ता ल्याउनुपर्ने बाध्यता थियो ।” त्यसपछि दूध डेरी सञ्चालन गरी ताजा र स्वच्छ दूध खुवाउन थालिएको उहाँको जिकिर थियो । खरालले स्थानीयस्तरमा दूधको खपत हुँदा राम्रो मूल्य पाउने भएकाले दूधको विविधिकरण गर्न सुरुआत गर्नुभएको हो । उत्पादित दूध सहज रूपमा खपत गर्न जिल्लाका अन्य स्थानमा पनि छुर्पी उत्पादन हुन थालेको छ । ‘छुर्पी खाऊँ, सुर्ती हटाऊँ’ भन्ने अभियानका साथ सञ्चालित उद्योगले अहिले स्वदेशमै आम्दानीसँगै स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गरेको छ ।

दूधलाई प्रशोधन गरी छुर्पी उत्पादन गरिन्छ । यहाँबाट दैनिक ५५ हजार छुर्पी जिल्ला बाहिर निर्यात हुन्छ । उपभोक्तालाई चाहिने दूध, दही र पनिरबाट बाँकी रहेको दूधबाट छुर्पी उत्पादन गरी किसानलाई मिल्क होलीडेबाट बञ्चित गराउने गरिएको सञ्चालक खरालले बताउनुभयो । दूधको विविधिकरण गर्न थप जनशक्ति आवश्यक पर्ने भएकाले छुर्पी उद्योगमा २० भन्दा बढी युवाले रोजगारी पाएका छन् । उक्त उद्योगले न्यूनतम रु १३ हजारदेखि २७ हजारसम्म आम्दानी गर्न सफल बनेको जिल्ला भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जनाएको छ ।

पाल्पा रैनादेवी छहरा गाउँपालिका-४ छहराका नारायणबहादुर रायमाझी सन् २०१३ मा विदेशबाट फर्किनुभयो । स्वदेश फर्केपछि लाम्रो समय बेरोजगार हुनुभएका उहाँ जिल्लाभित्रै छुर्पी उद्योगमा काम पाउनुभयो । स्वदेशमै काम पाएपछि रायमाझीले विदेश फर्किने मन गर्नुभएको छैन । उक्त उद्योगमा उहाँझै विदेशबाट फर्केका अन्य युवाले पनि रोजगारी पाएका छन् । उनीहरुले आफूलाई स्थानीयस्तरमै रोजगारी पाएपछि खुसी लागेको बताए । दूधको नयाँ-नयाँ परिकार उत्पादनसँगै स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना भएको छ । पाल्पाको तानसेन र रामपुर नगरपालिकाभित्र सञ्चालित छुर्पी उद्योगबाट तीन हजार किसान लाभान्वित भएका छन् । -रासस

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: