बझाङ । स्थानीय तहले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि बझाङका ग्रामीण क्षेत्रका लाभग्राहीलाई सास्ती भएको छ । सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता हुन थालेपछि सबै स्थानीय तहले सामाजिक सुरक्षा भत्ता वितरणमा बैंकिङ प्रणाली अपनाएका छन् । सामाजिक सुरक्षा भत्ताका लागि बैंक खाता खोल्न र भुक्तानीका लागि बैंक पुग्नु परेपछि ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिले सास्ती भोग्नुपरेको छ । जिल्लाका १२ वटा स्थानीय तहमध्ये साइपाल गाउँपालिकामा मात्र बैंक स्थापना भएको छैन । साइपाल गाउँपालिकाले तल्कोट गाउँपालिकामा रहेको एभरेष्ट बैंक र सदरमुकाम चैनपुरबाट कारोबार गरिरहेको छ ।
बैंक खाता अनिवार्य गरेपछि बैंकसम्म पुग्न भौगोलिक कठिनाइले सकस हुने भएपछि बुङ्गल नगरपालिकाले भने कृषि विकास बैंकका कर्मचारीसहित नगरपालिकाले ११ वटै वडामा बैंक खाता खोल्न वडा कार्यालयमै पुगेर शिविर सञ्चालन गरेको बुङ्गल नगरपलिकाका निमित्त प्रमुख प्रसासकीय अधिकृत भरत रोकायाले बताउनुभयो ।
बुङ्गल नगरपालिका–२ सलकाट्टेकी लक्ष्मी पटकीदेवी धामी ८५ वर्ष पुग्नुभयो । उहाँलाई हिँडडुल गर्न निकै सकस हुन्छ । यसअघि घरमै भत्ता बुझ्दै आउनुभएकी धामीले यसपालि भने बैंकबाटै भत्ता बुझ्ने हुनुभएको छ । सरकारले बैंकबाट मात्र भत्ता दिने भएपछि गाउँलेले बोकेर उहाँलाई वडा कार्यालयमा आएको शिविरमा पुर्याए । लेखपढ गर्न नजान्ने र राम्ररी आँखा पनि नदेख्ने धामीलाई बैंकमार्फत भत्ता बुझ्ने काम झन्झटिलो लागेको छ ।
उहाँले भन्नुभयो, “एक घण्टाको बाटोमा त गाउँका दाजुभाइले बोकेर ल्याए । बैंक पुग्न दुई घण्टा हिँडनुपर्छ सरकारले भत्ता दिएर त राम्रै काम गरेको थियो । तर भत्ता बाँडने काम झन्झटिलो भयो ।” भौगालिक कठिनाइका कारण उहाँलाई मात्र नभएर सबै ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिले बैंकबाट भत्ता लिनुपर्ने भएपछि निकै सास्ती भएको स्थानीयवासीको भनाइ छ ।
बुङ्गल नगरपलिकाको लौनेबाट वडा कार्यालयसम्म पुग्न पाँच घण्टा हिँडनुपर्छ । वडा कार्यलयबाट साना सवारी जीप चढेर झण्डै दुई घण्टाको यात्रापछि कृषि विकास बैंकको बुङ्गल शाखामा पुगिन्छ । पहिलेभन्दा अहिले भत्ता लिन धेरै झन्झट व्यहोर्नुपरेको सेवाग्राहीको भनाइ छ । बैंकसम्म पुग्न दुई दिन लाग्छ । बैंकमा पुगे पनि घण्टौँ लाइनमा बस्नुपर्छ । एकातिर समयको खर्च अर्कातिर सरकारले दिएको भत्ता पनि बैंक जाँदा गाडी भाडा र खाना खर्चमै सकिन्छ ।
भौगोलिक हिसाबले निकै टाढा रहेका जिल्लाका ग्रामीण बस्तीका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीले भत्ता बुझ्न घण्टौँ पैदल हिँडेर बजार पुग्नुपरेको उहाँको भनाइ छ । बझाङका अधिकांश लाभग्राही अहिले सामाजिक सुरक्षा भत्ता बुझ्नकै लागि कम्तीमा दुई घण्टादेखि एक दिन हिँडेर बैंक पुग्ने गरेका छन् । बैक पुगे पनि चेकमा लेख्न लगाउनुपर्ने, घण्टौँ लाइनमा बस्नुपर्ने, घर फर्कन गाडी कुर्नुपर्ने, बुढेसकालमाछ । कहिलेकाहीँ बैंकमा इन्टरनेटले काम नगर्दा रित्तै हात फर्कनुपर्दा झन् समस्या हुने गरेको छ ।
गाउँनजिकै बैंक नहुने र टाढा–टाढाका बैंकमा खाता खोल्नुपर्ने बाध्यता हुँदा सामाजिक सुरक्षा भत्ता बुझ्ने जिल्लाका सयौँ बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक भत्ता बुझ्न बैंक जानुपर्ने बाध्यताबाट पीडित छन् । यसअघि सम्बन्धित वडा कार्यालयबाट घरैमा गएर सामाजिक सुरक्षा भत्ता दिँदै आएकामा सरकारले बैंकिङ प्रणालीबाट दिन सुरू गरेपछि नागरिकलाई सास्ती भएको हो । स्थानीय सरकारमार्फत सरकारले सामाजिक सुरक्षा भत्ता सहजरूपमा वितरण गरिनुपर्ने लाभग्राहीको माग छ ।-रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्