×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

वाणिज्य आपूर्ति तथा उपभोक्ता विभागद्धारा एक हजार ३५५ व्यावसायिक फर्मको अनुगमन

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले चालु आर्थिक वर्षको पहिलो चार महिनामा एक हजार ३५५ व्यावसायिक फर्मको अनुगमन गरेको छ । सो अवधिमा काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानका ती फर्ममा गरेको अनुगमनका क्रममा अनुचित व्यापारिक कारोबारमा संलग्नहरुलाई कारवाही गर्दा ७१ लाख १० हजार राजस्व संकलन गरेको विभागले जनाएको छ । अनुगमन गरिएका फर्ममध्ये झन्डै आधा फर्मलाई कारबाहीस्वरुप जरिवाना गरिएको विभागका निर्देशक हरि पँगेनीले जानकारी दिनुभयो ।

उहाँले सामान्य गल्ती गर्ने फर्मलाई एकपटक सुधारको मौकासमेत दिइने गरिएको जानकारी दिनुभयो । विगत चार महिनाको अवधिमा विभागले ६६७ फर्मलाई जरिवाना, ६६८ फर्मलाई सामान्य सुधार गर्न निर्देशन दिइएको थियो । यस्तै, १० फर्मबाट परीक्षण गर्न बस्तुको नमूना संकलन र साधनसहित तीनजना पक्राउ र १० फर्ममा सिलबन्दी गरिएको थियो । चाडबाडको समयमा खाद्य तथा किराना, डिपार्टमेन्टल स्टोर, खसीबोका बिक्री, तरकारी पलफूल, मासु, मदिरा, मार्ट, हार्डवेयर, मिठाई तथा इलोक्ट्रोनिक्स लगायतका पसलमा अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा उपभोक्तासँग बढी मूल्य लिने, कृत्रिम अभाव सिर्जना तथा कालोबजारी गर्ने, म्याद सकिएका खानेकुरा बेच्ने तथा खरिद बिक्री बिल नराख्ने फर्मलाई पाँच हजारदेखि तीन लाखसम्म जरिवाना गरिएको विभागले जनाएको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम अनुचित व्यापारिक कारोबार गर्ने पसललाई जरिवाना गरिएको विभागले जनाएको छ । विभागले चाडपर्वलाई लक्षित गर्दै काठमाडौं उपत्यकाका तीन जिल्लामा छुट्टा–छुट्टै अनुगमन टोलीमार्फत अनुगमनलाई निरन्तरता दिएको थियो ।

कात्तिकमा ३८८ फर्मको अनुगमन

विभागले कात्तिक महिनामा अनुगमन गरिएका फर्ममध्ये आधा फर्मलाई कारबाही गरेको छ । अनुगमन गरिएका अधिकांश फर्मले गल्ती गरेको भेटिएपछि कारबाही गरिएको विभागका निरीक्षण अधिकृत धनेश्वर पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार एक महिनामा ३८८ फर्मको अनुगमन गर्दा १७६ फर्मलाई कारबाही, ८८ फर्मलाई आवश्यक कागजात पेस गर्न स्पष्टीकरण सोधिएको र १२४ फर्मलाई सामान्य सुधार गर्न निर्देशन दिइएको थियो ।

कात्तिकमा बजार अनुगमनबाट विभागले १६ लाख ५५ हजार राजस्व संकलन गरेको छ । विभागले दसैँ तथा तिहारको समयमा चाडपर्व केन्द्रित भएर बजार अनुगमन गरेको थियो । विभागले चाडपर्वको समयमा गुणस्तर र उपभोग्य मिति केन्द्रित भएर बजार अनुगमन गरेको थियो । चाडपर्व सकिए पनि नियमित रुपमा दैनिक तीन समूहबाट बजार अनुगमन जारी राखिएको निर्देशक पँगेनीले जानकारी दिनुभयो ।-रासस

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: