झापा । पाँच साना किसान सहकारी संस्थाले संयुक्त रुपमा गौरादह नगरपालिका-१ मा १५ लाख लगानी गरेर कृषि बजार सञ्चालनमा ल्याउने तयारी गरेका छन् । सहकारीमा आवद्ध सेयर सदस्य तथा स्थानीय किसानले उत्पादन गरेका अग्र्यानिक कृषिजन्य वस्तु खरिद गरेर सहकारीले बिक्री गर्ने उद्देश्यले कृषि बजार सञ्चालनमा ल्याउन लागिएको हो ।
स्थानीय लक्ष्मी उप्रेतीको १ कठ्ठा जमिन मासिक १२ हजार भाडा तिर्ने सर्तमा सहकारीले पाँच वर्षका लागि भाडामा लिएको महारानी झोडा साना किसान सहकारी संस्थाका व्यवस्थापक चीरञ्जीवी भण्डारीले जानकारी दिनुभयो । ती सहकारी संस्थाले किसानलाई विषादिरहित तरकारी उत्पादनका लागि तालिम दिने, किसानलाई चाहिने मल, बीउ, कृषि र्आँजार उपलब्ध गराउने काम गरिरहेको उहाँले बताउनुभयो । “किसानले उत्पादन गरेका सामग्रीको बजारीकरणमा समस्या छ”, उहाँले भन्नुभयो, “किसानका उत्पादनको बजारीकरण पनि हुने र उपभोक्ताले अर्गानिक तरकारीसमेत पाउने उद्देश्यले कृषि बजारको अवधारणा ल्याएका हौैं ।”
उहाँका अनुसार सो बजार निर्माणको अगुवाइ महारानीझोडा साना किसान कृषि सहकारीले गरे पनि गौरादह, बैगुनधुरा, जुरोपानी, कोहबरा साना किसान सहकारीको संयुक्त लगानीमा बजार निर्माण भइरहेको छ । आगामी पुसको पहिलो साताबाट सञ्चालनमा आउने बजारमा तत्काल अस्थायी संरचना निर्माण भइरहेको छ । उहाँले कृषि बजारमा किसानलाई चाहिने मल, बीउ, कृषि औँजारलगायतका सम्पूर्ण सामग्री एकै स्थानमा पाइने र किसानले उत्पादन गरेका सामग्रीको समेत बिक्रीमा सहज हुने अपेक्षा गरिएको बताउनुभयो ।
जिल्लामा सञ्चालनमा रहेका दर्जनौ कृषि सहकारी संस्थाले विभिन्न स्थानमा सुपथ मूल्यका सहकारी पसल खोले पनि कृषि बजार भने यो जिल्लाको पहिलो हुने स्थानीयवासी मीना कार्कीले बताउनुभयो । व्यवस्थापक भण्डारीले हाल एक कठ्ठा जमिनबाट सुरु गरेर भविष्यमा यसलाई अझ बढाउँदै लैजाने र जिल्लास्तरीय बजारको रुपमा स्थापित गर्ने लक्ष्य लिएको बताउनुभयो । महारानी झोडा साना किसान कृषि सहकारी संस्थाले मात्र चक्लाबन्दीमार्फत ८० बिघामा विषादिरहित कृषिजन्य वस्तुको उत्पादन गर्दै आएको छ ।-रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्