काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अर्धजलाशययुक्त आयोजनाका रुपमा रहेको तनहुँ सेती जलविद्युत् आयोजनाको काम तीव्र गतिमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ । निर्माणाधीन १४० मेगावाट जडित क्षमताको सो आयोजनाको आज स्थलगत निरीक्षण गर्दै उहाँले सरकारी तहबाट निर्माण भइरहेको अर्धजलाशययुक्त आयोजनाको काममा विलम्ब नगरी तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिनुभयो ।
“कुलेखानीबाहेक सञ्चालनमा रहेका सबै आयोजना नदीको बहावमा आधारित भएकाले हिउँदमा उत्पादन घट्दा मुलुकभित्रको माग धान्न अझै पनि विद्युत् आयात गर्नुपर्ने र बर्खामा खपत गर्न नसकी खेर फाल्नुपर्ने अवस्था छ”, मन्त्री भुसालले भन्नुभयो, “यस्तो अवस्थाको अन्त्यका लागि रणनीतिक महत्वको अर्धजलाशययुक्त तनहुँ आयोजनाको निर्माण स्रोत, साधन, स्थानीय समस्यालगायत कारणले ढिलाइ हुनुहुँदैन, तोकिएकै समय र लागतका सम्पन्न गर्नुपर्छ ।
”निर्माण कार्यमा स्थानीय तह र अन्तरमन्त्रालय समन्वयका साथ अगाडि बढाउनुपर्ने उल्लेख गर्दै उहाँले निर्माणमा आइपर्ने समस्या तत्काल जानकारी गराउन र त्यस्ता समस्या समाधान गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आयोजनाको जलाशय बनेपछि यस क्षेत्रलाई पर्यटकीयस्थलका रुपमा विकास गर्न सकिने र त्यसबाट स्थानीय बासिन्दाले प्रत्यक्ष लाभ लिनसक्ने बताउनुभयो ।
मन्त्री भुसालले आयोजनाअन्तर्गत नदी फर्काउने, बाँधलगायत पहिलो प्याकेजका संरचना निर्माणस्थल र निर्माणाधीन भूमिगत विद्युत्गृह, टेलरेस, सुरुङलगायत संरचनाको निरीक्षण गर्नुभएको थियो । आयोजनाको प्रवद्र्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध-सञ्चालक किरणकुमार श्रेष्ठले निर्माणमा हालसम्म प्राप्त भौतिक तथा वित्तीय प्रगति, व्यहोरिएको समस्यालगायत विषयमा जानकारी गराउनुभएको थियो । आयोजनाको पहिलो प्याकेजका निर्माणका लागि सोङ दा कर्पोरेसन, भियतनाम-कालिका कन्सट्रक्सन प्रा.लि. नेपाल जेभीसँगकोे ठेक्का सम्झौता १४ भदौ २०७८ बाट कार्यान्वयनमा आएको छ । सोङ दा-कालिका जेभीले आफ्नो कार्यालय, श्रमिक आवास सुविधा, मोबाइल क्रसर प्लान्ट स्थापना गरी नदी फर्काउने कार्य सुरु गरेको छ ।
आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत दोस्रो प्याकेजको निर्माण कार्य जारी छ । ठेकेदार कम्पनीले केबुल सुरुङ, मुख्य पहुँच सुरुङ निर्माण सम्पन्न गरी भूमिगत विद्युत् गृह खनिरहेको छ । सर्जट्यांकतर्फको पहुँच सुरुङ निर्माण सम्पन्न गरेको छ । आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण कार्य भइरहेको छ । अहिलेसम्म ३० टावरको जग हाल्ने कार्य सम्पन्न भई आठ वटा टावर ठड्याइएको छ । आयोजनाको समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ ।
कम्पनीको पूँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरका लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।-रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्