×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

पाल्पालाई ढाकाको ‘हब’ बनाइने, धेरैले रोजगार पाउने सम्भावना

रामपुर । ढाका कपडाकै कारण पहिचान बनाएको पाल्पालाई अब ढाकाकै ‘हब’ बनाउन जोड दिइएको छ । पाल्पाली ढाका संघद्वारा सदरमुकाम तानसेनमा आयोजित कार्यक्रमका सहभागीले पाल्पालाई ढाकाकै माध्यमले चिनाउनुपर्नेमा जोड दिए । देश तथा विदेशमा पाल्पाको ढाका कपडाले आफ्नो पहिचान बनाइसकेको छ । पाल्पाली ढाका संघले ढाकाको ब्राण्ड बजारमा ल्याउने तयारी गरिरहेको छ । बाहिरबाट ल्याएको ढाकाले उपभोक्ता मारमा परेपछि अब पाल्पाकै उत्पादन हो भनेर चिनाउन ब्राण्डसहितको ढाका बजारमा आउन लागेको संघले जनाएको छ । लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले ढाका कपडाको उत्पादनमा वृद्धि गर्न सके यसबाट धेरैले रोजगार पाउने सम्भावना रहेको बताए ।

“ढाका कपडा खरिद गर्नकै निम्ति बाहिरबाट ग्राहक पाल्पा आउने गरेका छन्”, उनी भन्छन्, “यसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरेको छ ।” ‘समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेश’ नारालाई सार्थक बनाउन पनि ढाका कपडाबाट सघाउ पुग्ने उनको भनाइ छ । लुम्बिनी प्रदेशकी कानून, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा घर्तीले महिलाको सीप विकास र उद्यमशीलता विकासका लागी ढाकाबाट सहयोग पुग्ने बताईन् । श्रम रोजगार तथा यातायात व्यवस्थामन्त्री पुरमती ढेँगाले आफ्नो मन्त्रालयबाट पाल्पाली ढाकाको विकासका लागि आवश्यक पहल गर्ने आश्वासन दिईन् । नेपाल सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले सीप, श्रम, स्वरोजगार र ब्राण्डिङमार्फत् पाल्पालाई देशकै ढाकाको केन्द्रका रुपमा चिनाउन सहयोग पुग्ने बताए ।

संघकी अध्यक्ष पूर्णमाया महर्जनले पाल्पाली ढाकाको नाम बेचेर बाहिरबाट भित्रिएका ढाकाको व्यापार गरेकै कारण स्थानीय ग्राहक मारमा परिरहेको बताईन् । उनी अब ब्राण्डसहितको ढाका बजारमा आएपछि उपभोक्तालाई न्याय मिल्ने बताउछिन्् । तानबाट उत्पादन गरिएका पाल्पाली असली ढाका कपडा देश तथा विदेशमा निर्यात गरिँदै आएको छ । ढाका कपडाको व्यापारका नाममा पाल्पाली ढाकाको नाम बेचेर मेसिनबाट उत्पादित बाहिरबाट भित्रिएका ढाकाले बजार आगटेको छ । यसले उपभोक्ता र ढाका व्यापारी मारमा परेका छन् । गुणस्तरीय नहुँदा उपभोक्ता ठगिन बाध्य भएको गुनासो बढेपछि पाल्पाली ढाका कपडालाई ब्रान्ड बनाएर बजारमा ल्याउने तयारी गरिएको छ । पाल्पाली ढाका संघले निश्चित गुणस्तरसहित ब्रान्ड लिएर पाल्पाली ढाकाको कपडालाई बजारमा लैजाने तयारी गरेको छ । युके एड (सीप) लुम्बिनी प्रदेश सरकार, तानसेन नगरपालिका र पाल्पाली ढाका संघको साझेदारीमा ‘नेपाली ढाका समृद्धिका लागि साझेदारी’ परियोजनामार्फत ब्राण्डिङ गरेको ढाका कपडा अब चाँडै बजारमा आउने भएको छ ।

भारत र चीनबाट आयात गरिएको ढाका कपडाका कारण पाल्पाली ढाका कपडाको व्यापार चौपट भएको छ । “ब्राण्डिङ नै गरेर प्रमाणित गरी शुद्ध पाल्पाली ढाका कपडा हो भन्ने चिनाउने अभियानमा सञ्चालन गर्नुपर्छ”, पाल्पाली ढाका संघका व्यवस्थापक अनुशेष रायमाझीले भने । उनका अनुसार तीन वर्षे ब्राण्डिङ योजना बनाउनका लागि परियोजनाले इमेज आर्ट संस्था काठमाडौंसँग सम्झौता गरी काम अगाडि बढाएको छ । ढाका कपडा बजारमा छिट्टै पठाइँदैछ । उनी भन्छन्, “ब्राण्डिङ गरेको सामान तानसेन र काठमाडौंमा आगामी पुससम्म एकैसाथ ल्याउने तयारी छ, काठमाडौंमा चार तथा पोखरामा एउटा सप्लायर्ससँग पाल्पाली ढाका कपडा पठाउने सम्झौता भइसकेको छ ।” ब्राण्ड बनाएर ढाका कपडा बाहिर पठाउनका लागि परियोजनाले निश्चित मापदण्ड तोकेको छ । कारखानाको स्थिति कस्तो छ, कारखानामा सुरक्षा उपकरण छ कि छैन, प्रकाशको व्यवस्था, काम गर्ने मजदूरले सरकारले तोकेको न्यूनतम ज्याला पाए नपाएकोलगायत मापदण्ड तयार पारेको छ ।

सुरुवाती चरणमा तानसेन र काठमाडौंमा एकैसाथ ढाका कपडा बिक्री गर्ने तय भएको छ । विस्तारै सबै जिल्ला र अन्तर्राष्ट्रिय बजारमा ढाका पुर्याउने संघको योजना छ । स्वीजरल्याण्डको लेबल स्टेप संस्थासँग साझेदारी गरेर अन्तर्राष्ट्रिय बजारमा पठाउने तयारी भइरहेको संघले जनाएको छ । हाल यहाँ उत्पादन भएको ढाका कपडा युरोपका विभिन्न देशमा निर्यात हुँदै आएको छ । बाहिरबाट भित्रिएका मेसिनबाट उत्पादित ढाका कपडाले पाल्पाका केही उद्योग बन्द भएका थिए । अहिले ब्राण्डिङमा लैजाने भएपछि उद्योगी पुनः उत्साहित भएका छन् । उद्योग व्यापार फस्टाउने उनीहरुलाई आशा छ । उद्योगलाई स्थापित गराउन, सरकारले तोकेको न्यूनतम ज्याला कामदारलाई उपलब्ध गराउन यसले सहयोग पुग्नेछ । अहिले उद्योग थपिने क्रम जारी छ । पाल्पामा करिब ४० को सङ्ख्यामा ढाका कपडाका व्यापारी छन् । दसैँअघि तानसेनको टुँडिखेलमा लुम्बिनी प्रदेश सरकार र परियोजनाको सहयोगमा ‘पाल्पाली कोसेली घर’ सञ्चालन गरिएको छ । -रासस

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: