म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको गलेश्वर-पिप्ले-भगवती-बेगखोला सडक आयोजनाका ठेकेदार छ महिनापछि काममा फर्किएका छन् । रघुगङ्गाको वडा नम्बर ३ पिप्लेदेखि वडा नम्बर २ को भगवती जोड्ने सडक कालोपत्रे गर्न पूर्वाधार विकास कार्यालयद्वारा सञ्चालित आयोजना गत जेठ महिनादेखि रोकिएको थियो ।
कार्यालय प्रमुख सन्तोष अर्यालले कोरोना भाइरसको जोखिम, निषेधाज्ञा र बर्खाको प्रतिकूल मौसमका कारण रोकिएको आयोजनाका काम व्यवसायीले काम सुचारु गरेका जानकारी दिनुभयो । “एक्साभेटर र ब्याकुहोलोडर परिचालन गरेर पहिरो पन्छाउन र नाली खन्न थालेका छन्”, उहाँले भन्नुभयो, “मजदुरमार्फत पर्खाललगायत संरचना निर्माणको तयारी गरेका छन् ।”
गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र- १ नमूना सडक कार्यक्रम’ अन्तर्गत विसं २०७६ देखि सुरु भएको आयोजनाको एपेक्स–खड्का कृष्ण जेभीले १८ करोड ४९ लाख ८३८ मा ठेक्का सम्झौता गरेको थियो । विसं २०७८ जेठ २४ गते सकिएको ठेक्काको म्याद कोरोना भाइरस रोकथामका लागि गरिएको निषेधाज्ञाका कारण सरकारको नीतिअनुसार २०७८ चैत मसान्तसम्म थपिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
कच्ची र साँघुरो अवस्थाको आठ किलोमिटर दूरीको सडकलाई ग्रेड मिलाई आठ मिटर फराकिलो बनाएर ५.५ मिटर चौडाइमा कालोपत्रे गर्न सञ्चालित आयोजनाको हालसम्म ४५ प्रतिशत भौतिक प्रगति भएको छ । पिप्लेको रघुगङ्गा मावि अगाडिदेखि भगवतीसम्मको पाँच किलोमिटर खण्डको अधिकांश ठाउँमा सडक विस्तार, पर्खाल र नाली निर्माण भइसकेको निर्माण कम्पनीका इञ्जिनियर रामु कडेलले बताउनुभयो ।
“संरचना निर्माण भएको ठाउँमा कालोपत्रे गर्न राखिने नदीजन्य कच्चा पदार्थको अभाव भएको छ”, उहाँले भन्नुभयो “बेश राख्ने सामान पायौँ भने चैत महिनासम्म कालोपत्रे गरिसक्ने योजनामा छौँ ।” सडक निर्माणका लागि आवश्यक नदीजन्य निर्माण सामग्रीको व्यवस्थापनका लागि सहजीकरण गरिदिन गाउँपालिका, पूर्वाधार विकास कार्यालय, जिल्ला समन्वय समिति र प्रशासनलाई ठेकेदारले आग्रह गरेको छ ।
गलेश्वरदेखि बगैँचा र बगैँचादेखि रघुगङ्गा माविको भवन अगाडिसम्मको करिब तीन किलोमिटर सडकमा भने यो आयोजनाले काम नगर्ने भएको छ । गलेश्वरदेखि बगैचासम्मको सडक पहिरोको जोखिमका कारण काम रोकिएको हो । बगैँचादेखि रघुगङ्गा माविसम्मको सडक राहुघाट जलविद्युत् आयोजनाले कालोपत्रे गर्ने भएको छ । बगैँचाका शिशिर शाहीले सडक नबनाए पनि भत्किएको र जोखिमयुक्त ठाउँको संरक्षण गरिदिन माग गर्नुभयो ।
यो सडक स्तरोन्नति भएपछि पिप्ले, भगवती र बेगखोलाका तीन हजारभन्दा बढी घरधुरी लाभान्वित हुने बताइएको छ । सदरमुकाम बेनी जान–आउन, कृषिउपज निकासी, खाद्यान्नलगायत दैनिक उपभोग्य सामान ढुवानीका साथै बिरामीलाई समयमै अस्पताल पुर्याउन सकिने रघुगङ्गा–२ भगवतीका वडाध्यक्ष रिम कटुवालले जानकारीदिनुभयो । विसं २०६६ मा यो मार्ग खोलिएको यो सडक सामान्य मर्मत गरेर यातायातका साधन सञ्चालन हुँदै आएको थियो । साथै जीर्ण सडकमा जोखिम र कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो ।-रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्