नवलपरासी । सात सय बिघाभन्दा बढी जमिनमा सिँचाइ सुविधा पुर्याउने गरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सरावल गाउँपालिकामा दङ्गिया–पेटबन्हिया सिँचाइ आयोजनाको निर्माणको सुरुवात भएको छ । सिँचाइका लागि आकाशे पानी तथा बोरिङको भर पर्दै आएका उक्त क्षेत्रका कृषक आयोजना निर्माण सुरु भएपछि हर्षित छन् ।
लुम्बिनी प्रदेश सरकारले बीस करोड २३ लाख ३७ हजार लागत अनुमान गरी बजेट विनियोजन गरेको उक्त सिँचाइ आयोजनाले सरावल गाउँपालिका–१ र २ का आठ सयभन्दा बढी कृषक प्रत्यक्ष लाभावन्ति हुने अपेक्षा गरिएको छ । सरावल–१ मा आयोजनाको शिलान्यास गर्दै प्रदेशसभा सदस्य बैजनाथ चौधरीले यस सिँचाइ आयोजनाबाट कृषकलाई ठूलो लाभ हुने विश्वास व्यक्त गर्दै कृषि उत्पादन वृद्धि हुने र कृषिको आधुनिकीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
वर्षौंदेखि सिँचाइको समस्या भोग्दै आएका यस क्षेत्रका कृषकको समस्यालाई दृष्टिगत गर्दै नेता चौधरीकै पहलमा यो आयोजना निर्माण हुन लागेको हो । २०७९ साल चैत मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको यो सिँचाइ आयोजना करिब ६ किलोमिटरको रहने प्रदेशको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, जलस्रोत तथा सिँचाइ महाशाखाका प्रमुख धु्रवराज पौडेलले जानकारी दिए ।
आयोजना निर्माण सम्पन्न गर्न तीन खण्डमा विभाजन गरी छुट्टाछुट्टै ठेक्कामार्फत तीनवटा निर्माण कम्पनीलाई जिम्मा दिइएको उनले बताए । उनका अनुसार पहिलो खण्ड हिम्डुङ्ग एण्ड थोकर–तिरुपति जेभी सुनवल नवलपरासी, दोस्रो खण्ड बाबुल–नारायण–खेम तारा जेभी बुटवल र तेस्रो खण्ड काष्ठमण्डप कन्स्ट्रक्सन काठमाडौंले निर्माणको जिम्मा पाएको छ ।
यस आयोजनाबाट बासाबसही, दङ्गिया, मगरमुढाहा, जावा, मनरीसम्मका कृषकले प्रत्यक्ष लाभ लिने दङ्गिया–पेटबन्हिया सिँचाइ जल उपभोक्ता समिति सरावलका अध्यक्ष देवराज चौधरीले जानकारी दिए । -रासस