चितवन । दशौं कर सप्ताहअन्तर्गत जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरिने भएको छ । आन्तरिक राजस्व कार्यालय भरतपुरले आजदेखि सुरु गरेको कर सप्ताह मङ्सिर ७ गतेसम्म सञ्चालन हुनेछ । विगत दुई वर्ष कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण खासै कार्यक्रम नगरिए पनि यसवर्ष सङ्क्रमण घट्दै गएकाले सप्ताहव्यापी रुपमा कार्यक्रम गर्न लागिएको सो कार्यालयले जनाएको छ ।
कार्यक्रमअन्तर्गत आज शुभारम्भ, करदाता सम्मान, २ गते सेवाग्राहीलाई करदाता शिक्षा कार्यक्रम, ३ गते उद्योग वाणिज्य संघ रत्ननगरमा करदाता शिक्षा, ४ गते उद्योगीसँग करदाता शिक्षा, ५ गते सहकारीकर्मीलाई करदाता शिक्षा, ६ गते अडिटरको समस्या समाधानका लागि अन्तक्रिया र ७ गते समापन कार्यक्रम रहेको छ । उद्घाटन समारोहमा बोल्ने अधिकांश वक्ताले लगानीमैत्री वातावरण तयार गर्न राज्यले अझै नसकेको बताएका थिए । सो अवसरमा चितवनका प्रमुख जिल्ला अधिकारी आशमान तामाङ्ले राज्यले लगानीको सुरक्षा र लगानीमैत्री वातावरण तयार गर्नुपर्ने उल्लेख गर्दै जिल्लामा अहिले उद्योग क्षेत्रमा समस्या नरहेको बताउनुभयो । उहाँले करदाता र कर प्रशासन प्रविधिमैत्री बन्नुपर्नेमा जोड दिनुभयो ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ, उद्योग संघ चितवनका अध्यक्ष त्रिलोतन कँडेल, नेपाल अडिटर्स एशोसिएशनका सल्लाहाकार सूर्यप्रसाद अधिकारी, नारायणी सामुदायिक अस्पतालका कार्यकारी निर्देशक विष्णु कुँवर, करअधिकृत हरिराम ढकाल लगायतले करदाता शिक्षाको विविध पक्षमाथि बोल्नुभएको थियो । सो अवसरमा आर्थिक वर्ष २०७६/७७ मा उत्कृष्ठ आयकर बुझाउने नारायणी सामुदायिक अस्पताललाई सम्मान गरिएको थियो ।
यस्तै उत्कृष्ठ कार्यसम्पादन गर्ने दुईजना कर्मचारीलाई समेत सम्मान गरिएको थियो । यसअघि उद्योग वाणिज्य संघ चितवनबाट प्रभातफेरी निकालिएको थियो । कार्यालयका प्रमुख घनश्याम पन्थीले चालू आर्थिक वर्षको हालसम्म लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको जानकारी दिनुभयो । राजस्व संकलनमा देशको चौंथो स्थानमा पर्न सफल भएको यस कार्यालयले चालू आर्थिक वर्षको कात्तिक महिनासम्ममा ६ अर्ब ४९ करोड ६५ लाख २३ हजार राजस्व संकलन भएको उहाँले जानकारी दिनुभयो ।
कात्तिकसम्मको राजस्व संकलनका लागि विभागले कार्यालयलाई पाँच अर्ब २० करोड ९७ लाख १२ हजार लक्ष्य दिएको थियो । संकलित रकम लक्ष्यको २४.७० प्रतिशतले बढी हो । उहाँका अनुसार कार्यालयले कात्तिक मसान्तसम्म आयकरतर्फ ७२ करोड ५६ लाख १८ हजार, घरबहाल करतर्फ ९८ लाख ३८ हजार, ब्याजकरतर्फ दुई लाख ३८ हजार, मूल्य अभिवृद्धि करतर्फ ५७ करोड चार लाख ६५ हजार, अन्तशुल्कतर्फ पाँच अर्ब १४ करोड तीन लाख ५५ हजार, स्वास्थ्यसेवा करतर्फ नौ हजार र शिक्षा सेवा करतर्फ दुई हजार राजस्व संकलन भएको छ । कार्यालयअन्तर्गत एक लाख ४६ हजार ५५१ करदाता रहेका छन् । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्