काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिनामा मुलुकको वैदेशिक व्यापार ६५ .४५ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको सुरुको चौमासिकमा चार खर्ब ४२ अर्ब ६९ करोड दुई लाख ४२ हजार रहेको मुलुकको वैदेशिक व्यापार चालु आर्थिक वर्षको सो अवधिमा सात खर्ब ३२ अर्ब ४१ करोड ८६ लाख आठ हजार पुगेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्षका तुलनामा आयात ६१.५७ प्रतिशतले बढेको छ । गत आवको पहिलो चार महिनामा चार खर्ब दुई अर्ब ४९ करोड एक लाख ७८ हजार मूल्य बराबरको आयात भएकामा चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म छ खर्ब ५० अर्ब २९ करोड ४३ लाख १३ हजार पुगेको छ ।
त्यस्तै गत आवको पहिलो चौमासिकका तुलनामा चालु आर्थिक वर्षको निर्यात १०४.२९ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको पहिलो चौमासिकमा ४० अर्ब दुई करोड ६४ हजारको निर्यात भएकामा चालु आर्थिक वर्षको समीक्षा अवधिमा ८२ अर्ब १२ करोड ४२ लाख ९५ हजारको निर्यात भएको छ । विभागका अनुसार चालु आर्थिक वर्षको कात्तिकसम्म व्यापार वृद्धि भए पनि मुलुकको व्यापार घाटा ५६.८३ प्रतिशतले बढेर पाँच खर्ब ६८ अर्ब १७ करोड १८ हजार पुगेको छ । गत आर्थिक वर्षको पहिलो चार महिनामा व्यापार घाटा तीन खर्ब ६२ अर्ब २९ करोड एक लाख १३ हजार थियो ।
गत आर्थिक वर्षको पहिलो चौमासिकसम्म कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९०.९२ प्रतिशत रहेकामा यस्तो हिस्सा दुई दशमलव ३४ प्रतिशतले घटेर चालु आवमा ८८.७९ प्रतिशतमा आएको छ । त्यस्तै वैदेशिक व्यापारमा निर्यातको हिस्सा २३.४८ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको कात्तिक मसान्तसम्म वैदेशिक व्यापारमा निर्यातको हिस्सा नौ दशमलव ०८ रहेकामा चालु आवमा ११.२१ प्रतिशत पुगेको छ ।
चार महिनाका अवधिमा नेपालको वैदेशिक व्यापारमा प्रमुख हिस्सा ओगट्ने पेट्रोलियम पदार्थमध्ये सबैभन्दा बढी डिजेल आयात भएको विभागले जनाएको छ । चालु आवको पहिलो चार महिनामा ३४ अर्ब ३३ करोड २१ लाख ९७ हजार बराबरको डिजेल आयात भएको देखिन्छ । त्यस्तै आयातमा भटमासको कच्चा तेल दोस्रोमा छ ।
नेपालमा व्यवसायीले विभिन्न मुलुकबाट भटमासको कच्चा तेल आयात गरी प्रशोधन गरेर पुनःनिर्यात गर्दै आएका छन् । चालु आवको पहिलो चार महिनामा करिब १७ करोड लिटरभन्दा बढी भटमासको तेल २७ अर्ब २२ करोड ७१ लाख ९५ हजार मूल्य बराबरको आयात भएकोे छ । त्यस्तै टेलिफोन २० अर्ब ३५ करोड ८६ लाख १६ हजार, पाम आयल १९ अर्ब १७ करोड ५७ लाख २८ हजार र पेट्रोल १८ अर्ब ६६ करोड ६५ लाख ९४ हजारको आयात भएको विभागले जनाएको छ । नेपालबाट निर्यात भएका वस्तुमध्ये भटमासको तेल सबैभन्दा धेरै देखिएको छ ।
विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार स्वदेशबाट २६ अर्ब ४० करोड ११ लाख एक हजार मूल्य बराबरको भटमासको तेल निर्यात भएको छ । व्यवसायीले भटमासको कच्चा पदार्थलाई विभिन्न मुलुकबाट आयात गरी प्रशोधन गरेर भारतमा निर्यात गर्ने गरेकाले यहाँको वैदेशिक व्यापारमा भटमासको तेलले योगदान गरेको देखिन्छ । सबैभन्दा बढी निर्यात हुने वस्तुमध्ये पाम तेल पनि हो ।
सार्वजनिक विवरणानुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा १९ अर्ब दुई करोड ३० लाख ९० हजार मूल्य बराबरको पाम तेल निर्यात भएको छ । तीन अर्ब ९३ लाख १७ हजार बराबरकोे गलैंँचा तथा दुई अर्ब ३१ करोड ५५ लाख ७८ हजार मूल्य बराबरका जुटका बुनिएका तथा अन्य कपडा निर्यात भएको विभागको तथ्याङ्क छ ।
विभागको विवरणानुसार सबैभन्दा धेरै वीरगन्ज नाकाबाट दुई खर्ब २३ अर्ब ९० करोड ५० लाख ७४ हजार मूल्य बराबरको आयात तथा भैरहवा नाकाबाट एक खर्ब छ अर्ब ४८ करोड ८३ लाख ३० हजार र त्रिभुवन विमानस्थल नाकाबाट ८१ अर्ब ७० करोड ९१ लाख ५६ हजार बराबरको वस्तु आयात भएको छ ।
त्यस्तै नेपालले निर्यातमा वीरगन्ज भन्सारबाट ३९ अर्ब ५६ करोड ३४ लाख ५० हजार, विराटनगर भन्सारबाट २२ अर्ब ५१ करोड ४७ लाख ५२ हजार तथा त्रिभुवन विमानस्थल नाकाबाट ११ अर्ब ७५ करोड ४१ लाख ३५ हजार बराबरको वस्तु विदेश निर्यात गरेको छ ।-रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्