कञ्चनपुर । लालझाडी गाउँपालिका-३ नन्दगाउँ-बल्मी जोड्न दोदा नदीमा पक्की पुल निर्माण भएपछि स्थानीय बासिन्दालाई आतजावतका लागि सहज भएको छ । नदीमा झण्डै छ करोडभन्दा बढीको लगानीमा आठसय मिटर लामो पक्की पुल निर्माण गरिएको छ । पुल निर्माणसँगै गाउँपालिका जान आउनका लागि सर्वसाधारणले सास्ती खेप्नुपर्ने बाध्यता अन्त्य भएको छ ।
“सहज रुपमै सवारी साधनमा चढेर गाउँपालिकासँगै अन्य क्षेत्रमा जान सकिने भएको छ” वडाध्यक्ष टीकाराम चौधरीले भन्नुभयो, “विगतमा गाउँमा कोही बिरामी पर्दा जोखिम मोलेरै पनि नदी तरेर स्वास्थ्यचौकी लैजानुपथ्र्यो । बाढी आएका दिन नदी तर्न नसके बिरामीलाई घरमै राख्नुपर्दा ज्यान जाने जोखिम रहन्थ्यो । गर्भवती महिलालाई अस्पताल पुर्याउन नसक्दा घरमै जोखिम मोलेर पनि सुत्केरी गराउने गरेका थिए पुल निर्माणसँगै ती सबै समस्या समाधान भएका छन् । ”
पुल निर्माण भएपछि गाउँपालिकाबाट सेवा लिनबाट वञ्चित हुनुपर्ने अवस्था पनि अन्त्य भएको छ । पुल निर्माण नहुँदा गाउँपालिका पुग्न चारपाङ्ग्रे सवारी साधनमा कैलाली हुँदै डोकेबजार भएर लामोयात्रा गर्नुपर्ने यहाँका बासिन्दाको बाध्यता थियो तर अहिले नन्दगाउँ हुँदै सिधैँ बेलौरी कलुवापुर सडकसम्म पुग्न सकिने भएको गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकले बताउनुभयो ।
गाउँपालिकाको आन्तरिक स्रोत, प्रदेश सरकार र सङ्घीय सरकारको बजेट परिचालन गरी गएको चार वर्षमा पुल निर्माण भएसँगै विकटको क्षेत्रलाई सडक सञ्जालसँग जोड्न सकिएको उहाँको भनाइ थियो । नदीमा पुल नहुँदा दुर्घटना भइ कैयौँ मानिसले ज्यान गुमाउनु परेको पीडा सुनाउँदै रामप्यारा चौधरीले भन्नुभयो, “पुल निर्माण भएपछि कसैले पनि अकालमा ज्यान गुमाउनु पर्दैन । सहज रुपमा आवागमन गर्न सकिने भएकाले निकै खशी छौँ। दोदा नदी तर्नका लागि एक मात्रै झोलङ्गे पुल थियो । त्योसमेत जीर्ण हुँदा निकै सास्ती खेप्दै आएका थियौं ।”
लालझाडी गाउँपालिका जिल्लाकै विकट क्षेत्रका रुपमा परिचित छ । जिल्लाको दक्षिण पूर्वमा रहेको लालझाडीलाईे चारैतिर दोदा नदीले घेरिएकाले एक गाउँबाट अर्को गाउँ जानका लागि नदी तर्नुपर्ने अवस्था थियो। गाउँपालिका जोडनका लागि दोदा नदीमा एक साथ तीन पक्की पुल निर्माण थालिए पनि अहिले एक मात्रै पुल निर्माण भएको हो ।अन्य दुई पुल निर्माणाधीन अवस्थामा छन् ।-रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्