तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका-२ तार्कुडाँडाका किसानले सामूहिक रुपमा च्याउखेती सुरु गरेका छन् । गत वर्षबाट यहाँका किसानले सामूहिक रुपमा च्याउखेती सुरु गरेका हुन् । १६ जना किसान मिलेर सिताके च्याउखेती सुरु गरिएको छ ।
पाँच सय कटुसको मुढामा च्याउ लगाइएकोमा पहिलो वर्ष अपेक्षित उत्पादन नभएको तार्कुडाँडा भङ्गरा कृषक समूहका अध्यक्ष उदयराज खनालले बताउनुभयो । उक्त वर्ष ४७ केजी च्याउ उत्पादन भएको थियो । यसवर्ष भने रहर लाग्दो गरेर च्याउ उत्पादन भएको छ । मुढामा फलेका च्याउले किसानलाई उत्साहित बनाए पनि बजार नपाएपछि भने उनीहरु निराश बनेका छन् । बजार नपाएपछि किसान आफैले च्याउ उपभोग गर्न बाध्य छन् । अन्य च्याउले जस्तो सिताके च्याउले बजार पाउन नसकेको खनालले बताउनुभयो । “मेहनेत गरेर च्याउ फलायौँ । एउटै मुढामा सयको हाराहारीमा च्याउ फलेको छ । तर बजार पाउन सकेको छैन”, उहाँले भन्नुभयो ।
सिताके च्याउको मूल्य महँगो पर्ने भएकाले बजार नपाएको उहाँले बताउनुभयो । सुरुमा रु ७०० प्रतिकेजीमा बिक्री गरेको च्याउ उत्पादन बढ्न थालेपछि रु ६०० मा बिक्री भइरहेको छ । “बजार पाउन मुस्किल भएपछि अझै मूल्य घटाउने तयारी गरेका छौं”, उहाँले भन्नुभयो, “यस क्षेत्रका उपभोक्ताले सिताके प्रजातिको च्याउलाई चिन्न सकेका छैनन् ।” यो वर्ष असोज अन्तिमयता २०० केजी बढी च्याउ उत्पादन भइसकेको छ । अझै चार महिना उत्पादन हुने भएकाले कसरी बेच्ने यही चिन्ताले किसानलाई सताएको छ । अहिले उत्पादित च्याउ यहाँका कोत्रे, दुलेगौँडा, खैरेनीटार बजार क्षेत्रका घरघरै लगेर बिक्री गरिन्छ ।
सिताके शुक्लागण्डकीमा नयाँ प्रजाति भएकाले विषालु हुने आशङ्का गर्दै ग्राहकले खरिद गर्न नखोज्ने किसान समूहका सचिव खेम गुरुङले बताउनुभयो । “पहिलो चरणमा त हामीले जनप्रतिनिधिलाई बेचेका छौँ । जनप्रतिनिधिले किनेपछि त अरुले पनि किन्लान नी भन्ने आशा पलाएको छ”, उहाँले भन्नुभयो, “पार्टी प्यालेस, होटल, रेष्टुरेन्टमा पनि बिक्रीका लागि प्रयास गरेका छौँ । ।”
किसानले च्याउ खेतीमा हालसम्म झण्डै रु पाँच लाख लगानी गरेका छन् । शुक्लागण्डकी नगरपालिका–२ कार्यालयले बीउ खरिदमा गत आर्थिक वर्षमा रु ५० हजार अनुदान दिएको थियो । त्यसका लागि समूहमा आवद्ध किसानले ४८ हजार लगानी गरेका थिए । बाङ्गेरह थेप्चे र तारा सामुदायिक वनले च्याउ उत्पादन गर्न आवश्यक कटुसका मुढा निःशुल्क दिएको छ ।
तार्कुडाँडा भङ्गरा खानेपानी उपभोक्ता समितिले निःशुल्क आवश्यक पानी उपलब्ध गराएको छ । कटुसको स्याउलाले छाएर स्थानीय स्रोतसाधन प्रयोग गरी च्याउ लगाउन टनेल बनाइएको छ । छानोमा स्याउलाको सट्टा जुट राख्न उपयुक्त भए पनि उत्पादित च्याउले बजार नपाएपछि रकम अभावमा राख्न नसकेको गुरुङले बताउनुभयो । “स्थानीय सरकार र कृषि ज्ञान केन्द्रसँग अनुदान भन्दा च्याउ खेतीमा आवश्यक औजारको अपेक्षा छ”, उहाँले भन्नुभयो । किसानका अनुसार सिताके च्याउले असोजको अन्तिमदेखि फागुन दोस्रो सातासम्म उत्पादन दिन्छ । एक पटक मुढामा बीउ रोपेपछि पाँच वर्षसम्म अर्थात मुढा नकुहिएसम्म उत्पादन दिने बताइन्छ ।-रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्